दलालले फसाएर २ वर्ष विदेशमा बसायो, गाउँमै गरेको केरा खेतीले मालामाल बनायो
धनगढीः ‘दलालको हातमा परेर फसेँ। विदेशमा २ वर्ष मुस्किलले गुजारेँ। मालिकले त यसरी कुट्थ्यो अहँ ! त्यो भन्न सकिन्न’ यसरी आफ्ना दुःख सुनाउँछन् कञ्चनपुरको लालझाडी गाउँपालिका ३ चानदेउका रमेश डगौरा।
डगौरा अहिले केरा खेतीमा मस्त र व्यस्त छन्। उनले १० कट्ठा जमीन भाडामा लिएर व्यवसायीक केरा खेती गरेका छन्।
८० हजारबाट सुरु गरेका उनले ४ वर्षमा १ लाख ५० हजार जती लगानी केरा खेतीमा लगाइसकेका छन्। सिजनमा उनले केराबाटै झण्डै ३ लाखसम्म आम्दानी गर्छन्।
४ वर्ष अगाडी उनी रोजगारीका लागि खाडी मुलुक साउदी गएका थिए। गाउँमै डकर्मीको काम गरेका उनलाई साथीहरुले विदेशमा राम्रो पैसा कमाइन्छ भनेपनि उनी विदेशतिर लागेका थिए। तर उनले भनेजस्तो ठाउँमा भने जान पाएनन्। उनी दलालको हातमा परेको बताउँछन्।
‘गाउँमै मिस्त्रीको काम गर्थे। सँगैका कोही साथीहरु विदेश गएर राम्रो पैँसा कमाएको देखेँ। अनि केही साथीहरुले राम्रै कमाइहुन्छ भनेर भने म पनि पैसा कमाउने लोपमा विदेश पसे’ उनी भन्छन्, ‘तर दलालले ठग्यो। जुन कामका लागि भनिएको थियो त्यो काममा नभएर अर्कै काममा लगाइयो।’
विदेशमा आफुले धेरै दुःख पाएको उनी बताउँछन्। रातदिन काम गरेर पनि मालिकको गाली र कुटाइ पाइने दुखेसो उनी गर्छन्।
‘धेरै दुःख पाइयो। अब त विर्सेर पनि विदेश गइन्न। मालिकको गाली कुटाइ त खायौँ खायौँ । तर काम गरेको ३/४ महिनाको तलब पनि पाएनौँ’ उनले सुनाए।
विदेशको हण्डर खाएपछि उनी नेपाल फर्के र गाउँमै केही गर्ने योजना बनाए। आफुसँग भएको केही खर्चले १० कट्टा जमीन भाडामा लिएर उनले केरा खेती गरे।
उनलाई उनकी श्रीमती निसा डगौराले सघाउँछिन्। उनीहरुका एक छोरा र एक छोरी छन्। रमेश डगौरा अहिले खेती बाहेक गाउँमै मिस्त्रीको काम गर्छन्।
‘विदेशमा हुँदा दुःख पाएको भनेर सुनाउँदा धेरै नरामाइलो लाग्थ्यो अहिलेसँगै छौँ। सानोतिनो भएपनि मेहनत अनुसारको आम्दानी भइरहेको छ’ श्रीमती निशा डगौराले भनीन्।
रमेशले कुखुरा फार्म पनि खोलेका छन्। फार्ममा अहिले ४ सय ब्रोइलर कुखुरा छन्। डेढ लाखको लगानीमा कुखुरा फार्म सुरु गरेकाे रमेश डगौराले बताए।
रमेश घरबाहिरको काम गर्छन भने निसाले घरमै केराखेती र कुखुरा फार्म किराना पसल हेर्ने गर्छिन्।
‘अरे ! गाउँमै भविष्य छ नि। विदेश गएर दुःख पाउनुभन्दा त गाउँमै कृषि व्यवसायीकतामा लगानि गरेर भविष्य बनाउने’ उनी युवाहरुलाई यसरी सुझाव दिन्छन्।