कैलालीमा चौकीडाँडा–फल्टुडे सडक निर्माणको काम चार वर्षदेखि अलपत्र
धनगढीः कैलालीमा चौकीडाँडा–फल्टुडे सडक निर्माणको काम चार वर्षदेखि अलपत्र परेको छ।
पूर्वाधार विकास कार्यालय, धनगढीले २०७७ सालमा जिल्लाको गोदावरी नगरपालिका–१० को कृष्ण मन्दिर–बाँन्द्रेखाल सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको भए पनि निर्माणकार्य अलपत्र परेको छ। चौकीडाँडा हुँदै फल्टुडे जोड्ने सडक निर्माणको काम अलपत्र परेको हो। पूर्वाधार विकास कार्यालय कैलालीले थेगिम/सनलाइट जेभीसँग साढे २ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको भए पनि निर्माणकार्य चार वर्षदेखि अलपत्र छ।
स्थानीय भोजराज भट्टले भोजराज भाटको घरदेखि वडा कार्यालयसम्मको सडक चार वर्षदेखि अलपत्र रहेको बताए। उनले भने, पूर्वमन्त्री भाटको घरदेखि माथि, वडा कार्यालय तलको सडकको ठेक्का भएको चार वर्ष भयो। कति वर्षको ठेक्का हो? सरकारलाई जानकारी होला। प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पाँच वर्षमा फल्टुडेसम्म पुगाउछु भन्नुभएको थियो। तर तीन वर्ष भइसकेको छ।
फेरि पाँच वर्ष थप हुने हो की?’ गोदावरी नगरपालिका–१० को ओलानी क्षेत्रको दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न पाँच करोड ८४ लाख २५ हजारमा सम्झौता भएको थियो। सम्झौताको समय अवधिसमेत २०८१ असार २५ मा सकिएको छ। तर, सडक निर्माणको काम आधा पनि भएको छैन। निर्माण कम्पनीले माटो भरानको काम गर्दै आएको छ। गोदावरी–११ का स्थानीय लक्ष्मण जोशीले साइकल र मोटरसाइकल चलाउन समेत समस्या हुने गरेको बताए।
उनले भने, ‘नजिकका घरहरु धुलोले हैरान छन्। ठुला–ठुला गाडिहरु चल्छन्। यस्तो अवस्थाबाट स्थानीय हैरान भएका छन्।’ पूर्वाधार विकास कार्यालय, कैलालीले २०७९ चैत्र १७ गते दोस्रो ठेक्का सम्झौता गरेको थियो। तीन दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न ६ करोड ६१ लाख ४१ हजारमा ठेक्का सम्झौता भएको थियो। तर, उक्त खण्डको सडक निर्माणको काम ३० प्रतिशत पनि पूरा भएको छैन। चौकीडाँडा–फल्टुडे सडकको काम प्रदेश सरकारले अलपत्र पारेको छ।
स्थानीय चन्द्र ताम्राकारले धुलोका कारण बिराम हुने गरेको बताए। उनले भने, ‘हाम्रा साइकलसमेत प्यान्चर हुन्छन्। २०५० सालदेखिको सडक हो। अहिलेसम्म कालोपत्र भएको छैन।’ चौकीडाँडा–फल्टुडे सडकको काम अलपत्र पार्ने निर्माण कम्पनीहरुलाई प्रदेश सरकारले कुनै कारबाही समेत गर्न सकेको छैन। पूर्वाधार कार्यालय, कैलालीका सूचना अधिकारी विनोद खण्डकाले पहिलो ठेक्काको समयअवधि थप नगरिएको बताए। ५० प्रतिशत मात्र काम भएको उनले बताए। संघीय सरकार मातहतको सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको सडक खण्डको कालोपत्रको काम भने पूरा भएको छ।