सुदूर नेपाललाई विश्वसँग जोड्दै

युट्युब हेरेर ड्रागन फ्रुट खेती गरेका कैलालीका गोकर्ण, भन्छन्, ‘आफ्नै माटोमा सुन फलाउन सकिन्छ’

२०७८ जेठ २७, १२:१० विन्दु चन्द

धनगढी:  कैलालीका गोकर्णबहादुर ओली ड्रागन फ्रुटको बारीमा व्यस्त र मस्त देखिन्छन्। उनले गोदावरी नगरपालिका–२ तेघरीमा ड्रागन खेती गरेका छन्। मोबाइल तथा सञ्चार प्रविधिको सदुपयोग गरेर उनी ड्रागन खेती गन सफल भएका हुन्। 

मोबाइलमै ड्रागन खेती गरेको भिडियो हेरेरै आफुले पनि खेती गर्ने सोच बनाएको उनी बताउँछन्। ‘युट्युब र फेसबुकमा नेपालमै व्यवसायिक ड्रागन खेती सुरु गरेको देखेँ अनि मैले पनि यहि खेती गरुँ भन्ने सोच बनाएँ।’ उनले भने।

सामाजिक सञ्जालमा भिडियो हेरेपछि गोकर्णबहादुर ओलीले ड्रागनका बोट रोप्न धेरै ठाउँमा सम्पर्क गरे। त्यस सम्बन्धी जानकारहरुबाट पनि सुझाव–सल्लाह लिएको उनले बताए। उनी भन्छन्, ‘भिडियो हेरेपछि मैले यसको कसरी खेती गर्ने भनेर धेरै ठाउँमा सम्पर्क गरे। पछि भारतको दिल्लीबाट यसको बारेमा बुझेँ। दिल्लीमा व्यवसायिक ड्रगन खेती गर्ने एक जनासँग सम्पर्क गरे।’

व्यापार समेत  गर्दै आएका ओलीले पसलका लागि कपडा ल्याउन जाने क्रममै ती व्यक्तिबाट ५ दिन जतिमा ड्रागन खेती कसरी गर्ने भन्ने बारेमा बुझेको बताउँछन्। उनले भने, ‘प्रत्येक महिना पसलको कपडा ल्याउनका लागि  दिल्ली जान्थे। हरेक महिनामा ५ दिन ती व्यक्तिसँग बसेर यय विषयमा प्रशिक्षण लिन्थे। उनीसँगै उनको बारीहरुमा पनि घुमे। कम्तीमा १५ दिन जति मैलै उनीबाट ट्रेनिङ लिएँ।”

कृषि विकास निर्देशनालयको ४ लाख ८१ हजार अनुदान र बाँकी आफ्नो गरेर ३५ लाखको लगानीमा उनले खेती सुरु गरेको बताएका छन्। अहिले उनले डेढ बिघा अर्थात १ हेक्टर क्षेत्रफलको जमिन भाडामा लिएर ड्रागन खेती गरिरहेका छन्। उनले फर्म पनि खोलेका छन्।

उनले खोलेको गोदावरी ड्रागन फ्रुट फर्ममा १ जना प्राविधिकसहित ३ जनाले रोजगारी पाएका छन्। ड्रागन फ्रुट रोपेको १८ महिनापछि फल्ने गरेको उनले बताएका छन्। अहिले उनको बारीमा ४ हजार बोट छन्। 

आफ्नै माटोमा केही गरे देशमै भविष्य बन्न सक्ने उनको भनाई छ। रोजगारीका लागि बाह्य मुलुक जानुभन्दा स्वदेशमै कृषि पेशा गरेर मनग्य आम्दानी हुने उनको विचार छ। ‘विदेश गएर पसिना बगाउनुभन्दा आफ्नै खेतमा मिहेनत गरेका सुन फलाउन सकिन्छ’ उनी भन्छन्। उनले सोही खेतीबाट आम्दानी गरेर बालबालिकाको पढाई खर्च र घर खर्च चलाउने गरेको बताएका छन्। 

दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्ने बताइन्छ। ड्रागन फलको खेती गर्न त्यति गाह्रो भने छैन। तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ। 

समुद्री सतहदेखि करिव ३ हजार मिटसम्मको उचाईमा ड्रागनको उत्पादन गर्न सकिन्छ। यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिने किसानहरु बताउछन्। यो फल स्वादिष्ट र स्वास्थ्यवर्दक पनि छ। 

यसले  छाला, कोलस्ट्रोल, उच्च रक्तचाप, कब्जियत, क्यान्सर लगायतका रोग तथा समस्यालाई समेत निको पार्छ। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस