सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओझेलमा उकु महल

२०७५ कार्तिक ४, ०२:३७ नरेन्द्र कार्की

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ मा रहेको उकु महलको भगनाशेष प्रचारप्रसार र अनुसन्धान हुन नसक्दा ओझेलमा छ । भगनाशेषको उत्खनन्, अनुसन्धान तथा संरक्षणमा ढिलाई हुँदा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । गत वर्ष पुरातत्व विभागका अधिकृत प्रकाश खड्का नेतृत्वको टोलीले भगनाशेषको अध्ययन एवं अनुगमन गरेको थियो । उकु भगनाशेषको अवस्थाबारे अध्ययन, अन्वेषण एवम खोजी गर्न गाउँपालिकाले प्रस्ताव अनुसार टोली आएपनि काम भने अघि बढेको छैन् । पूरानो दरबारको भगनाशेषको रुपमा रहेको ठाउँको अध्ययन अन्वेशष हुनुपर्ने स्थानीयको माग अनुसार गाउँपालिकाले पहल गरेपनि सोचे अनुसार काम अहिले हुन नसकेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिए । गाउँपालिकाले ओझेलमा परेको उकु भगनाशेषको विशेष उत्खनन् एवम्ं संरक्षण गर्ने नीति लिइएको छ । गाउँपालिका सांस्कृतिक तथा धार्मिक पर्यटकीय सम्भावना भएको कारण पनि यसको अन्वेशषको लागि पहल भइरहेको उनको भनाई छ । पुरातत्व विभागसँग उकु भगनाशेषको मात्रै नभई राष्ट्को सातौ धाम मालिकार्जुनको पनि संरक्षण र प्रचारप्रसार कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको धामीले बताए ।

उकु महलको भगनाशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरु अहिले पनि यथावत छन् । मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । कतुडी राजबंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरु अस्कोट, अजयमेरुकोट दिपालयकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको इतिहासका जानकार बताउँछन् । अहिले पनि उकु क्षेत्र र उकुसँग सीमा जोडिएको भारतीय क्षेत्र अस्कोटमा पालहरुको बसोबास छ । इतिहासबारे जानकार एवमं जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीका अनुसार उकु भगनाशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति सिलालेखहरु जम्मा गरेका थिए । अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, सिलालेखहरु हेर्दा दरबार भित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने उनको भनाई छ । यो ऐतिहासिक महत्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरवारको मजवुत किल्लाहरु, ढुगांमा कुदिएका विभिन्न भगवानको मुर्तिहरु, विभिन्न आकृतिका ढुगांहरुले दर्शाइ रहेको सामाजिक अभियन्ता एवं इतिहासका अध्ययनकर्ता प्रकाशचन्द मिश्रको भनाई छ । दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरुले पुष्टि गर्छ उनले भने । उकुको ऐतिहासिक सम्वन्ध सीमावर्ती भारतको अस्कोटसंग छ । अस्कोटको ईतिहास अनुसार सन् १२७९ मा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए । अभयपालले वरपरका विभिन्न अस्सीवटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाकरण गरेको इतिहासमा उल्लेख रहेको मिश्रको भनाई छ । 

निरै पालको ऐतिहासिक अभिलेख डोटी डडेल्धुरा, पिथौरागढको डिडिहाट, र अल्मोडामा पनि भेटिएको छ । नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । अल्मोडाको पहाडमा निरैपाल लेखिएको ढुंगा सन् १३५४ भेटिएको थियो । यी सबै ऐतिहासिक काल क्रमहरु समान देखिएकोले उकु भगनाशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने ठाउँ नभएको जानकारहरु बताउँछन् । निरै पाललाइ उकु अस्कोटका राजा भनिएको छ । विभिन्न ठाँउहरुमा पाइएको ऐतिहासिक अभिलेखहरुले निरै पाल शक्तिशाली राजा भएका संकेत गर्छ । जसको केन्द्र महाकाली किनारमा अवस्थि उकु भएको कारणले यो स्थिलको पुरातात्विक महत्वलाई वेवास्त गर्न नसकिने मिश्र बताउँछन् । निरै पाललाई उकुका रजबार भारती पालका पुर्ववर्ति राजवार थिए भन्ने कालक्रमहरुले प्रष्ट्याएको छ । उकुको ईतिहास सम्वन्धि एउटा लेख अनुसार उकुकोटको खण्डहरुमा रहेको हरिहर मन्दिर नाग पालका तीनवटा रानीहरुले निर्माण गराएका थिए  । नाग मल्ल डोटीका राजा थिए । यसको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो । नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म रहेको थियो । यसलाई आधार मान्ने हो भन्ने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकाल भित्र बनेको अनुमान गरिन्छ । मन्दिर स्थापनाबारेको स्पष्ट तिथि मिति भने नेपालको ईतिहासमा पाइएको छैन् । तर पाल वंशहरुको भरतीय शोधकर्ताहरुले उकु राज्य अभय पालले स्थापना गरेको नभएर नाग मल्लले गरेका उल्लेख गरेका छन् । यसको प्रमाणको रुपमा सन् १२३८ को उकुको शिलालेख हो भनिएको छ । आचार्य शिव प्रशाद डवरालका उत्तराखण्डका ईतिहास भन्ने पुस्तकमा १०८० देखि ९० ईसा पुर्वमा उकुको दरबार निर्माण भएको कुरा उल्लेख गरिएको छ ।

 
नेपाल पुरातत्व विभागका पुरातत्व अधिकृत नवराज अधिकारीले २०६३÷०६४ मा दार्चुलामा पुरातात्विक अध्ययन गर्दा बोहरीगाउँ गाविसको देवलको मन्दिर भग्नावशेष, खरखडा गाविसको देवल र शिलालेख तथा उकु गाविसको दरवारको विषयमा अध्ययन गरेको पाइन्छ । सो अध्ययन पश्चात उकु मन्दिरको भग्नावशेषलाई क वर्गको साईटमा वर्गिकरण गरिएको छ । उकु दरवारमा विशेष गरि भगवान विष्णु ,भगवान शिवका मुर्तिहरु कुदिएका छन । उकु दरवारकै विषयमा केही तथ्यहरु अधिवक्ता दयाकृष्ण पन्तद्धारा लिखित दार्चुलाको ईतिहास भन्ने पुस्तकमा पनि उल्लेख गरिएको छ । पुरातात्विक महत्वका क्षेत्रको गहन अध्ययन र उत्खनन् गर्न सके यसले दार्चुला जिल्लाको छुट्टै ऐतिहासिक पहिचान स्थापित गर्ने पन्तको पुस्तकको निष्कर्ष छ ।  यस क्षेत्रमा विशेष विष्णु, महेश र लक्ष्मीका मुर्तिहरु कोरिएका छन । यसको ईतिहास कति वर्ष पुरानो भनेर कठिन छ तर त्यहाँका ढुँगाहरुको तुलना अन्य क्षेत्र सँग गर्दा पाँच हजार वर्ष पुरानो हुन सक्छ भनेर अनुमान लगाउन सकिन्छ । यस क्षेत्रमा भेटिएका सिलालेखहरु अहिले पढ्न सक्ने अवस्थामा रहेका छैनन् । केहि माटो भित्र पुरिएको टुटफुट मेटिएका भएको अवस्थामा छन् । उकु महलमा रहेको सिलालेखमा लेखिएका कुनै पनि अक्षर आँखाले देख्न सकिने र पढ्न सकिने अवस्थामा छैनन् ।

२०७० सालयता पर्यटन पूर्वाधार अन्तर्गत उकु भगनाशेषको संरक्षण शुरु गरिएको वडा सचिव प्रेमसिह खत्रीले जानकारी दिए । भगनाशेष वरिपरि अहिले तार जाली लगाएर संरक्षण प्रयास गरिएको छ । प्राचिन र पुरातात्विक महत्वका बोकेको उकुका भगनाशेष क्षेत्रको गहन अध्ययन अनुसन्धान हुन सकेको छैन । संरक्षण र व्यवस्थापनको अभावमा दिन प्रतिदिन संकटमा पर्दै गएको प्रति स्थानीयको चिन्ता व्यक्त गरेका छन् । 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस