सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ग्रामीण भेगमा भाइरल ज्वरोको प्रकोप, सबै भाइरल कोरोना होइन तर सतर्क रहौं

२०७८ जेठ १, १२:४५ खबर संवाददाता

धनगढीः कोरोना महामारीले विकराल रुप लिएको अवस्थामा कैलालीको ग्रामीण भेगमा भाइरल ज्वरोको प्रकोप समेत फैलिएको छ। 

ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता समस्या देखिएको हो। कोरोनाको जस्तै लक्षण देखिएपनि ग्रामीण भेगका स्थानीयहरु पूजापाठ, सामान्य औषधीमै निर्भर रहेको पाइएको छ। कैलारी गाउँपालिका ६ बेनौली गाउँका भलमन्सा रामऔतार चौधरीले केही सातादेखि गाउँघरमा ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएको बताए। स्थानीय मेडिकलहरुबाट एन्टिबायोटिक औषधी सेवन गरेर बसेको बताए।

ग्रामीण भेगमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा वेवास्ता उत्तिकै गरिएको पाइएको छ। प्रहरी प्रशासनको समेत कम उपस्थिति रहने ग्रामीण भेगमा मास्कको प्रयोग, सामाजिक दुरी कायमलगायत तर्फ ध्यान नदिएको पाइन्छ। 

खासगरी कैलालीको कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिका, भजनी नगरपालिकालगायत क्षेत्रमा भाइरल ज्वरोको समस्या देखिएको हो। कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि ग्रामीण भेगमा मनोवैज्ञानिक त्रास पनि उत्तिकै बढेको बताइएको छ। कैलारी गाउँपालिकाका ८ का स्थानीय अजित चौधरीले भाइरल ज्वरो देखिएपछि स्थानीयमा कोरोना संक्रमण त देखिएन भन्ने मनोवैज्ञानिक त्रास देखिएको बताए। लक्षणको आधारमा ज्वरोको औषधी, एन्टिबायोटिकलगायत औषधी सेवन गरिरहेको बताए। 

तर चिकित्सकहरुले कोरोना महामारीकै बीच स्वास्थ्य सम्बन्धी त्यस्ता समस्याका लक्षण देखिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने औल्याइएका छन्। सबै भाइरल ज्वरो कोरोना नभएपनि त्यस्ता समस्या देखिएपछि रोगले जटिल अवस्था सिर्जना गर्नुभन्दा पहिले नै सावधान अप्नाउन चिकित्सकहरुले सुझाव समेत दिएका हुन्।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निशान भट्टराईले हाल मौसम परिवर्तनका कारणले पनि भाइरल ज्वरोको समस्या दिएको तर भाइरलको लक्षण पनि कोरोनाकै लक्षणसँग मेल खाने भएकोले पीसीआर परीक्षण गर्नुपर्ने बताउँछन्।

समयमा परीक्षण नगराउँदा र त्यतिकै औषधी सेवन गर्दा झन जटिल समस्या सिर्जना हुन सक्ने बताउँदै उनले परीक्षण र चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने सल्लाह दिए।

उनले अगाडि थपे, “यो विषम परिस्थितिमा सामान्य स्वास्थ्य समस्या भन्दै रोग लुकाउनु भनेको मृत्युलाई नै आमन्त्रण गर्नु जस्तै हो। स्वास्थ्य समस्या देखिएपछि समयमा उचित स्थानमा गइ रोग पत्ता लगाएर समाधानको बाटो खोज्नु उत्तम विकल्प हो।”

घरेलु उपचार
डाक्टर भट्टराईले सामान्य लक्षण देखिएमा केही घरेलु उपचार पद्धतिबाट समेत लाभ लिन सकिने बताउँछन्। सामान्य लक्षण देखिएपछि सर्वप्रथम सतर्क रहेर बस्ने, होम आइसोलेसनमा बस्ने, पानी प्रशस्त मात्रामा मनतातो पानी खाने, बासी तथा चिसो पदार्थ सेवन नगर्ने, चिसोबाट बच्ने, तातोपानीको वाफ लिने, नुनपानी तथा बेसारले कुल्ला गर्ने तथा एक चम्चा मह, आधा चम्चा तुलसीको पातको रस र आधा चम्चा अदुवाको रस मिसाएर बिहान, दिउँसो तथा साँझदिनको तीन पटक सेवन गर्ने जस्ता घरेलु उपचार गर्न सकिन्छ।

हल्का व्यायम गर्ने, चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने औल्याइएको छ। ज्वरो र जीउ दुखाइ कम गर्न सिटामोलजस्ता औषधि उपयुक्त हुन्छ।

कमेन्ट लोड गर्नुस