सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका ५ स्थानीय तहमा तीन हजार जैविक तटबन्ध निर्माण

२०७८ वैशाख ३१, ०१:२१ रासस

कञ्चनपुर: कोरोना कहरबीच नदीजन्य विपद्बाट स्थानीय बासिन्दालाई जोगाउनका लागि यहाँ जैविक तटबन्ध निर्माणको कार्यलाई पूर्णता दिइएको छ।

नदीमा बाढी आउन अगावै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत स्थानीय तहसँगको साझेदारीमा जैविक तटबन्ध निर्माणको कार्य गरेको हो। समुदायमा बाढीजन्य विपद्बारे जागरण गराउने, क्षमतामूलक तालीम दिने, समुदायको विपद् प्रतिकार्य योजना बनाउने कार्यसँगै समुदायको जोखिमको पहिचान गरी कार्ययोजना निर्माण गरी बाढीबाट जग्गा भूक्षय रोकथाम र नियन्त्रणका लागि स्थानीय तहसँग सहकार्य गरी जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ।

हालसम्म स्वास्थ्यका मापदण्ड पालना गरी पाँच स्थानीय तहमा तीन हजार ४०० मिटर बाँसको जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका अधिकृत महेश घिमिरेले बताए। उनका अनुसार लालझाडी गाउँपालिकाको दोदा नदीमा एक हजार ८ सय, कृष्णपुर नगरपालिकाको दोदा र वनहरा नदीमा ५५०,  शुक्लाफाँटा नगरपालिकाको स्याली नदीमा ३ सय, पुनर्वास नगरपालिकाको दोदा नदीमा ६ सय र बेलौरी नगरपालिकामा १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ।

जैविक तटबन्ध निर्माणका लागि ५८ लाख ८९ हजार १३० रकम लगानी गरिएको छ। त्यसमध्ये परियोजनाका तर्फबाट २३ लाख ७९ हजार ६१३ र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख ४१ हजार ५३१ रकम लगानी गरिएको छ। यसैगरी स्थानीय तहका तर्फबाट २६ लाख ४३ हजार ५५ र समुदायका तर्फबाट ३२ लाख २५ हजार ४७५ रकम लगानी गरिएको छ। जैविक तटबन्ध निर्माण कार्यबाट दुई हजार छ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। जैविक तटबन्ध निर्माणले गत वर्ष भूक्षय हुँदै आएको २५ बिघा जग्गा संरक्षण भएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्ट विसं २०६५ को बाढीबाट निकै क्षति भएपछि जैविक तटबन्धको अवधारणा अघि सारिएको बताउँछन्। “विभिन्न सङ्घसंस्था र परियोजनासँग मिलेर जिल्लामै पहिलो पटक जैविक तटबन्ध निर्माणको शुरुआतको कार्य गर्ने संस्था नै रेडक्रस रहेको छ”, उनले भने, “थोरै लागतमा समुदायको सहभागितामा निर्माण गरिने जैविक तटबन्ध प्रभावकारी हुँदै गएपछि यसको माग बढ्दो छ, जैविक तटबन्धले हजारौँ बिघा जग्गा भूक्षय हुनबाट जोगिएको छ।” बाढीको सङ्कटासन्न अवस्थामा रहेका बासिन्दाको घरजग्गा जैविक तटबन्ध निर्माणपछि जोगिएको उनले बताए।

लालझाडीका अध्यक्ष मदनसेन वडायकले दोदा नदीमा आउने बाढीका कारण हुने भूक्षयको कार्य जैविक तटबन्धका कारणले रोकिएको बताए। “गाउँपालिकाको थोरै रकमले नदीले गर्ने जग्गा कटानीको कार्य रोक्न सम्भव थिएन”, उनले भने, “थोरै लागतमा निर्माण हुने जैविक तटबन्धले जग्गा जोगिन थालेपछि यस कार्यलाई निरन्तरता दिँदै आएका छौँ।”

रेडक्रससँग मिलेर गाउँपालिकाले समेत बजेट विनियोजन गरी सहकार्य अगाडि बढाउँदै आएको छ। यस कार्यलाई आउँदा वर्षमा समेत निरन्तरता दिइने बताइएको छ। आम्दानी बढाउन तथा जोखिम घटाउन बाढी प्रभावित समुदायमा अनुदानमा नदीका बगरमा उखु खेती गरिएको छ। बगरमा उखु खेती गरिएपछि बाढी नियन्त्रणमा सघाउ पुग्नाका साथै स्थानीय समुदायको आम्दानी बढेको छ। बगरमा उखु खेती गर्ने कार्यमा ४४८ जना संलग्न रहेका छन्। 

बगरमा यस वर्ष ६३ हजार ७७२ क्विन्टल उखु उत्पादन भएको छ। त्यसको बजार मूल्य तीन करोड ३४ लाख ८० हजार ३ सय रहेको छ। कात्तिके उखुमा अन्तरबालीका रुपमा मसुरो र तोरी बिक्रीबाट स्थानीय बासिन्दाले सात लाख ५० हजार आम्दानी गरेका छन्। परियोजनाअन्तर्गत किसानलाई उखु बालीमा बीउ र मलखादमा अनुदान रकम उपलब्धसमेत गराइएको छ।  

कमेन्ट लोड गर्नुस