सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरको उडान: स्वास्थ्य सेवामा ठूलो फड्कोको सुरुवात

दिनेशखबर वार्षिकोत्सव विशेष

बाजुराको आइसोलेशन
बाजुराको आइसोलेशन । फोटो स्रोत ।
२०७७ फाल्गुन १३, १२:०२ जनक विष्ट

सुदूरपश्चिम पहाडको महाकाली नदीनजिकैको एक दुर्गम बस्ती। बैतडीको साबिक गुजर गाविस ६,  हाल पाटन नगरपालिका ३ को बुङ्डा गाउँमा पर्छ। हो त्यही बस्तीमा २०५२ सालको पुष महिनाको कठ्याङ्ग्रिदो जाडोमा दुई जुम्ल्याहा शिशुको जन्म हुन्छ। छोराछोरी जन्मिएको खुसीयालीमा परिवारमा खुसी छाउँछ। करिब २०५४ सालतिरको कुरो हुँदो हो, २ वर्ष पुग्न लागेको बेला बालक असाध्यै बिरामी हुन्छ। बालक निकै चकचके हुँदा सानातिनो बिरामी भए घरपरिवारले पत्तै पाउदैन थिए।

तर जब उसले आमाको दूध समेत चुस्न छोड्यो त्यसपछि आमा निकै आत्तिन्छिन्। बुवा बालकलाई जाउलो खुवाउने पैसाको जोहो गर्न परदेशमा भएका कारण उनका लागि आमा नै सबथोक थिइन्। तर बालकले छातीको दूध समेत चुस्न छोड्दाको क्षण आमाका लागि धेरै पीडादायी र कष्कटर बन्यो। न नजिक उपचार गर्ने अस्पताल। न त घरमा अभिभावक नै। घरका ठूला सबै छटपटाउन थाले—“अब कसरी उपचार गर्ने?”

निमोनियाको उपचार

त्यो गाउँबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको बैतडीकै थुम बजारमा एउटा सानो क्लिनिक रहेको कुरा आमाले सुन्छिन्। अनि दुई मुठ्ठी सास भएको बालक पिठ्युमा बोकेर उनी एक्लै घण्टौँको पैदल यात्रा गरेर त्यहाँ पुग्छिन्। मेडिकलमा पुर्‍याउँदा बालकको मुटुको धड्कन मात्र धड्किरहेको थियो रे। अनि त्यहाँका स्वास्थ्यकर्मीले बालक निमोनियाले ग्रस्त भएको बताउँदै औषधी दिन्छन्। औषधीले राम्रो असर गर्न थालेपछि बालकको अवस्थामा सुधार हुन थाल्दछ। केही दिनपछि बालकलाई निको हुन्छ। उसको चकचक फेरि सुरु हुन्छ।

त्यो बालक म आफैँ थिए। २६ वर्षअघि मेरो र मेरी आमाको जीवनमा आइपरेको त्यो घडीमा आमाले घण्टौँ पैदल हिँडेर मलाई थुम बजारमा त्यो क्लिनिकमा पुर्‍याउँन नसकेको भए सायद म आज यो संसारमा हुने थिइँन होला। तर मलाई थाहा छ म जन्मिने बेलाका सुदूर पहाडका सबै बालक म जस्ता भाग्यमानी थिएनन्। म जस्ता कति यो संसारमा रहे, कति रहेनन्। सहजै अनुमान गर्न सकिन्छ। कमजोर स्वास्थ्य तथा शिक्षा पूर्वाधार अनि सडक र सभ्यतासँग पहुँच नहुनु सुदूरपश्चिमको प्रमुख समस्या हो। गरिबी र आर्थिक विपन्नताका कारण लाखौँलाख सुदूरपश्चिमेली अहिले पनि भारत वा तेस्रो देशमा कामको खोजीमा भौँतारिन बाध्य छन्।

हो सुदूरपश्चिम देशको राजधानी काठमाडौँबाट टाढा होला। तर मेरो प्रदेश सास्कृतिक एवम् प्राकृतिक सम्पदामा निकै धनी छ। यहाँ अपार सम्भावनाहरू रहेका छन् जुन बिस्तारै सदुपयोग हुने क्रममा छ। स्वास्थ्य सेवाकै कुरा गर्ने हो भने पनि सुदूरपश्चिमको अवस्था अब फेरिँदो छ, सुधारोन्मुख छ। सामान्य सिटामोल समेत नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था बिस्तारै बदलिँदै छ। किनभने बझाङ, बाजुरा, अछाम, दार्चुलाका लगायतका उच्च हिमाली र पहाडी भेगमा अब स्वास्थ्य केन्द्र तथा अस्पतालहरू खुल्न थालेका छन्। सुदूरको स्वास्थ्य क्षेत्रले बिस्तार कोल्टो फेर्दै छ। त्यसैले अब सुदूरबासी थप आशावादी हुनै पर्छ।

थपिइरहेका इँटाहरू

कुनैबेला सामान्य रोगको उपचारका लागि पनि छिमेकी मुलुक भारत धाउँनुपर्ने प्रदेशबासीको अर्को बाध्यता थियो। अहिले सरकारी र निजी क्षेत्रको प्रयासमा प्रदेशबासीले यहाँ नै स्तरीय उपचार सेवा पाउन थालेका छन्। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी, ७ पहाडी जिल्लाको केन्द्र डडेल्धुरा र अन्य जिल्लाका सदरमुकाममा सरकारी र निजी स्तरबाट सञ्चालनमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरुले वर्षेनी सुदूरको स्वास्थ्य सेवामा सुधारका इँटा थप्दै गइरहेका छन्। त्यो क्रम आउने वर्षमा थपिने निश्चित छ।

विक्रम सम्वत १९९७ सालमा स्थापना भएको सुदूरपश्चिम प्रदेशकै प्रमुख सेती प्रादेशिक अस्पतालले जनशक्ति अभाव हुँदाहुँदै पनि दिइरहेका सेवा तथा सुविधा प्रशंसा गर्न योग्य छन्। कैलाली अस्पतालका नामले १५ शैय्याबाट सेवा शुभारम्भ गरेको त्यो अस्पतालले २०४० सालमा ५० शैय्याको स्वीकृती पाएपनि अहिलेसम्म स्तरोन्नती हुन सकेको छैन। आन्तरिक स्रोतबाट ७५ समेत गरि १ सय २५ शैय्या सञ्चालन गरिरहेको अस्पातलले बिरामीको चापका कारण अहिले करिब ३ सय शैय्यामा सेवा दिइरहेको छ।

५० शैय्याका लागि स्वीकृती दरबन्दी पनि पदपूर्ति हुन नसकेको अवस्थामा अस्पतालले २८ लाख प्रदेशबासीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। सेतीमा हाडजोर्नी, शल्यक्रिया, स्त्रीरोग, मानसिक रोग, नाक, कान घाँटी, बालरोग, दाँत, फिजिसियन र छाला रोग विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन्। गम्भीर प्रकृतिका बिरामीका लागि प्रदेशमै पहिलो आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन गरेको सेती प्रादेशिक अस्पतालले अहिले थप शैय्या बिस्तार गरिसकेको छ।

प्रादेशिक अस्पतालको सुधार

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि सुदूरको स्वास्थ्य क्षेत्रमा थप सुधार भएको पाइएको छ। कुनै बेला गम्भीर प्रकृतिका बिरामीका लागि सेती प्रादेशिक अस्पतालमा रहेका आईसीयूका ५ शैय्या मात्रै हुँदा ठाउँ नपाएर अकालकै मृत्युवरण गर्नुपर्ने बाध्यता थियो। तर कोरोना कहरपछि सेती प्रादेशिक अस्पतालमा मात्र १५ शैय्याको आईसीयू र १० शैय्याको भेन्टिलेटर सेवा बिस्तार गरिएको छ।

त्यति मात्र होइन् प्रदेशका अन्य अस्पतालहरुका लागि समेत सुदूरपश्चिम सरकारले आईसीयू र भेन्टिलेर खरिद गरेको छ। हालसम्म प्रदेशभर २७ आईसीयू र २३ वटा भेन्टिलेटर उपलब्ध रहेको स्वास्थ्य निर्देशनाालयको तथ्यांकमा उल्लेख गरिएको छ। कतिपय अस्पतालमा जनशक्ति अभावमा थन्किएका ती उपकरण सञ्चालनमा ल्याउने पहल गरिहाल्नु पर्ने देखिन्छ।

सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र धनगढीमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि पूर्वाधार, प्रविधि र विशेषज्ञ सेवा विस्तारको कामले तीव्रता पाउनु आफैमा सुखद पक्ष हो। सोही कारण अहिले धनगढी व्यापारिक केन्द्र मात्र नभई स्वास्थ्य सेवाको उपलब्धताका हिसाबले पनि प्रमुख केन्द्र बन्दै गएको छ। प्रदेशका नौ वटै जिल्लाको रेफरल सेन्टरको रुपमा रहेको सेती अञ्चल अस्पताल सहित नीजि क्षेत्रको लगानीमा समेत अस्पताल खुलेसंगै विगतका भन्दा स्तरीय स्वास्थ्य सेवाको उपलब्धता धनगढीमै सम्भव भएको छ।

धनगढीमा अहिले ठूलो लगानीमा निजी अस्पतालहरू पनि खुलिसकेका छन्। माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सिपि अस्पताल, नोभा, नवजीवन, कैलाली अस्पताल, आशा, नवबुद्ध, सारथी जस्ता अस्पतालले विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आएका छन्। पछिल्लो समय न्यूरो कार्डियो र क्यान्सर बाहेकका बिरामीको उपचार धनगढीमै सम्भव भएपछि स्वास्थ्य सेवामाथिको परनिर्भरता पनि कम हुदै गएको छ। यहाँका अस्पतालहरुले आन्तरिक व्यवस्थापन गर्दै थप स्तरीय सेवा प्रदान गर्ने तयारी थालेको पाइन्छ।

निजी क्षेत्रको प्रवेश

विगतमा सेती प्रादेशिक अस्पतालमा मात्रै आईसीयू र भेन्टिलेटर सुविधा रहेकोमा अहिले धनगढीको नवजीवन अस्पताल, माया मेट्रो अस्पताल, निर्सग हस्पिटल, सारथी लगायतका अस्पतालले पनि उक्त सेवा सञ्चालनमा ल्याएपछि थप सहजता भएको छ। धनगढीकै कैलाली अस्पतालले हालै प्रदेशमै पहिलो पटक मेरुदण्ड र मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरेको बताएको छ। जसलाई प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण नै मान्न सकिन्छ।

यति भन्दै गर्दा कञ्चनपुर, डडेल्धुरा सहित अन्य पहाडी जिल्लामा पनि सुधारोन्मुख अवस्थामा रहेको स्वास्थ्य क्षेत्रका सफल प्रयासलाई पनि बिर्सन सकिदैन। वर्षौँअघि टिम अस्पतालबाट नामबाट स्थापना भएको डडेल्धुरा अस्पतालले जनशक्ति र उपकरणको अभावका बीच पनि सुदूर पहाडका बासिन्दालाई दिन थालेको सेवाको जति प्रशंसा गरे पनि कमै हुन्छ।

७ पहाडी जिल्लाको केन्द्र समेत मानिने डडेल्धुरा सुदूरपश्चिम मात्र होईन कुनै बेला भारत र मध्यपश्चिमका लागि पनि उपचारको केन्द्र बनेको थियो। विगतमा उपचारका लागि भारतको लखनउ या पिथौरागढ धाउनुपर्ने बाध्यतालाई चिर्दै झण्डै ५० वर्षअघि स्थापना भएको डडेल्धुरा अस्पतालमा भारतको पिलिभितदेखि नैमिशारण्यसम्मका बिरामी उपचारका लागि पुग्ने गरेको इतिहास बोकेको डडेल्धुरा र वरपर अहिले निजी क्षेत्रबाट समेत स्वास्थ्य सेवामा लगानी बढ्दो छ।

हिमाल र पहाडमा आशा

त्यसको श्रेय टिम अस्पताल स्थापना गर्ने डाक्टर सिमनलाई दिनैपर्छ। विगतको त्यो इतिहासलाई साँछी राखेर डडेल्धुराको स्वास्थ्य क्षेत्रमा थप सुधार गर्दै लैजान सकेमा पहाडी जिल्लाका बासिन्दा उपचारका लागि धनगढी वा देशका अन्य जिल्ला धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको महाकाली अस्पतालमा पनि अहिले सेवा सुधार हुन थालेको छ। दरबन्दीअनुसारका चिकित्सकको अभाव र आएका चिकित्सकलाई पनि टिकाउनै मुस्किल पर्ने महाकाली अस्पतालमा आईसीयू, भेन्टिलेटर सेवा सञ्चालनमा आइसकेको छ।

अब कञ्चनपुरबासीले पनि उपचारका लागि धनगढी वा अन्यत्रका जिल्ला धाउनुपर्ने बाध्यता पनि क्रमिक रुपमा कम हुँदै जाने अपेक्षा गर्न सकिन्छ। पहाडी जिल्लाका जिल्ला अस्पतालको सेवा सुधार गर्ने सरकारी पहल पनि प्रसंशनीय छ। बाजुराको कोल्टीमा आकस्मिक प्रसूति सेवा सञ्चालनदेखि जिल्ला अस्पताल डोटीमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आउनु आफैँमा सुखद पक्ष हुन्।

सुदूरपश्चिम प्रदेशभर सरकारी स्तरबाट एक प्रादेशिक अस्पतालसहित ६ वटा जिल्ला अस्पताल, कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा थप ३ वटा सरकारी अस्पताल सञ्चालनमा रहेका छन्।  १६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३ सय ७५ वटा स्वास्थ्य चौकी, १ सय ३५ सामुदायिक स्वास्थ्य एकाइ, ८२ स्वास्थ्य एकाइ, ३१ निजी स्वास्थ्य संस्था, १ सय २३ माइक्रोस्कोपिक सेन्टर, ४ सय २६ डोट्स सेन्टर, १ हजार ७ सय ७५ खोप केन्द्र पनि सञ्चालनमा रहेका छन्।

नयाँ मेडिकल ‘हब’

कैलालीको गेटामा स्थापित आँखा अस्पतालले सुदूरलाई स्वास्थ्य केन्द्रको रूपमा चिनाउन थालिसकेको छ। अब ६ सय शैय्याको अस्पताल सञ्चालन निर्माणाधिन गेटा मेडिकल कलेजले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै ठुला इँटा थप्नेछ। मेडिकल कलेज सञ्चालन भए सर्वसुलभ मूल्यमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर समेत आफ्नै प्रदेशमा पाइनेछ। मेडिकल कलेजले अगामी २०८०-८१ सालभित्र एमबीबीएसको पढाइ र अस्पताल सञ्चालन गर्नेगरि निर्माणको कामलाई गति दिइरहेको छ।

अहिले मेरो सुदूरपश्चिममा खुलिरहेका अस्पताल र स्वास्थ्य केन्द्रहरू देखेर बैतडीमा मलाई बचाउन संघर्ष गरेकी मेरी आमा निकै प्रसन्न भएकी हुनुपर्छ। अब सुदूरका पहाडका कुना काप्चामा पनि पर्याप्त स्वास्थ्य सेवा र सुविधा बिस्तार गर्ने क्रमलाई थप गति दिन आवश्यक छ। त्यसो हुन सके धेरै आमा तथा बुवाहरू आफ्नो थात थलो छोडेर अन्यत्र भौँतारिने वा बसाइँ नै सर्ने अवस्थाको अन्त्य हुन सक्छ।

(सुदूर नेपाललाई विश्वसँग जोड्ने अभिभारा बोकेको दिनेशखबर(डट)कम फागुन १४ गतेबाट चौथो वर्षमा प्रवेश गर्दैछ। यो अवसरमा हामीले सुदूरपश्चिम प्रदेशका उज्याला पक्षहरू समेटिएका विभिन्न लेखहरू प्रकाशन गरिरहेका छौँ। दिनेशखबर(डट)कममा ‘सुदूरको उडान’ शीर्षक मुनितिर छापिएका हाम्रा विशेष लेखहरू पढ्न र सुदूरपश्चिम प्रेमीहरूमाझ शेयर गर्न नभुल्नुहोला।)   

सम्बन्धित समाचार: 
सुदूरको उडान: विश्वसँग जोडिँदै सुदूरपश्चिम नेपाल
सुदूरको उडान: छाउगोठबाट निस्किएर अघि बढ्दै महिला

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस