“गोठ प्रथा” अन्त्य भएको बर्सौँ भयो, खुला आकाशको सिरानी कायम
दिपा भण्डारी : सरकारी तथ्याङ्क अनुसार “गोठ प्रथा” अन्त्य भएको बर्सौँ भयो।
तर, पनि सुदूरपश्चिमका महिलाहरूको खुला आकाशको सिरानी कायम छ। उनीहरूका पीडा झन थपिएका छन्। उनीहरू सर्प तथा जङ्गली जनावरबाट सुरक्षित छैनन्। उनीहरू छोरीमाथि गिद्धे नजर लगाउने हाम्रै समाजका दानवहरूबाट सुरक्षित छैनन्। खुल्ला आकाश मुनी एक्लै बस्ने महिलाको मनमा कालो रातमा के बित्दो हो ?
पुर्खाले नै चलाएर ल्याएका मान्यता र धारणा गोठ भत्काए जसरी उनीहरूको मानसिकतामा गाडिएको कुरा भत्किने हुन र ?

छाउपडी हटाउ गोठ भत्काउ भन्दै नारा लगाउने अनि नमानेको खण्डमा सेवा सुविधा रोक्का गर्ने र कारबाही गर्ने भन्दै दिएका धम्कीले पुरानो सोच परिवर्तन हुने छैन। यो भनेको त उनीहरूको सोच, बिचार, भावना र पुरानो परम्परा हामीले दबाएको हैन र ? हरेक नागरिकको मनमा छ, यो प्रश्न।

सरकार र सत्ता फेरिए जसरी आम नागरिकको सोच परिवर्तन हुन्छ र ? मैले देखे सुने अनुसार अरबौ रकम छाउपडी कुप्रथा हटाउन लगानी गरिएको छ। तर, यो पूर्ण तथ्याङ्क कसैसँग छैन। प्रतिफल भने हरेक वर्ष एक/दुई अबोध महिलाको ज्यान गएकै छ। यो तपाईँहरूले गरेको गोठ भत्काउने अभियानले दिएको देन हो। किन भने, गोठ भत्काउनु भयो। तर, गलत सोच भत्काउन सक्नु भएन। भौतिक रूपमा संरचना भत्काउनु भयो, मानसिकता भत्काउन सक्नु भएन् वा चाहानु भएन ? उनीहरूको सोच परिवर्तन नभकै कारण मृत्युको मुखसम्म पुग्नु परेको छ। सुदूर पहाडको मात्र के कुरा, विकसित मानिएका कैलाली–कञ्चनपुरका ठुला सहरहरूमा पनि यो समस्या छ।


हुन त पहिलेको भन्दा केही हद यो कुप्रथा कम नभएको भन्न खोजिएको हैन। पहिलेको तुलनामा गाउँमा प्रायः छाउगोठ देखिदैनन। तर, खुल्ला आकाशको सिरानीमा झन महिला दिदीबहिनी असुरक्षित छन। यो बिडम्बना हो। हाम्रो शक्तिशाली गोठ भत्काउने अभियानले उनिहरू पाल टागेर खुल्ला आकाश मुनि बस्न बाध्य भएका हुन। उनीहरूलाई तपाइको बजेट मुखी अभियानले झन पीडा दिएको छ।
हरेक वर्ष घटना घटछन। छाउगोठमा अकालमा मृत्यु भएका, केही दिन सञ्जालमा मृतकका अनुहार फरक–फरक स्टाटस र रङ्गिन फोटोहरूले पोस्टीन्छन। केही दिन मानौँ, अब त निकै परिवर्तन गर्छौ र हुन्छौं भन्ने खालका हुटहुटी देखिन्छ। होहल्ला, यति मात्र होइन साँच्चिकै ती खुला आकाशमा सिरानी बनाउने हजारौँ महिलाको पक्षमा कोही बोल्छ्न। केहि गर्छन् जस्तो। केही समयपछि कार्यक्रम फेरि सदरमुकाम र ठुला शहर केन्द्रित हुन्छन। खुल्ला आकाश मुनि बस्ने आमाहरूलाई र दिदी-बहिनीहरूलाई न त त्यहाँ बोलाइन्छ, न उनीहरूको अनुभव सुन्ने कोही आइदिन्छ्न। किन भने गाउँ अनि गाउँमा बस्ने त चेतनाहीन हुन भन्ने ठान्नु हुदोरहेछ है। चेतना त सुविधायुक्त होटेलको कोठा र मिनरल वाटरसँग हुदोरहेछ ! यदि हुन्थेन भने किन कार्यक्रम गाउँमा हुँदैनन ? कस्ले दिन्छ हामी सर्वसाधारणलाई जवाफ ..आखिर मर्ने र घटना घटने भनेकै गाउँमा हैन र?
म एक छोरी हु, एक महिला हु र एक त्यही खुला आकाशको सिरानी बनाउने र तिनै गोठबाट आफूलाई मृत्युसम्म पुगेर फर्केको छाउपडी हु। मैले यतिसम्म बोल्न अधिकार त छ होला नि ?
जन्मपछि मृत्यु निश्चित हो। तर, कतिपय मृत्युले घर–परिवार, गाउँ समाज मात्रै होईन, राष्ट्रलाई नै कतिसम्म असर र दबाब पर्छ भन्ने कुरा कस्ले बुझिदिने ? र जिम्मेवार को हुने ?
७५ प्रतिशत कार्यक्रम शहरमा हुन्छन र बोलाइएको हुन्छ, शीर्ष नेताहरू र उनीहरूको आसेपासे। अनि भन्छन “हामी गाउँको आवाजलाई बुलन्द पार्छौ”। जब गाउँका सर्वसाधारण आमाहरू र दिदीबहिनीहरूलाई कार्यक्रम कहिले भयो कहाँ भयोसम्म जानकारी हुदैन। बरु नेताको चर्को भाषण कतिपय पत्रकारसम्म पुग्लान। तर, गाउँका महिलाहरूका आवाज उनीहरूको माइकमा कहिल्यै जोडिँदैन। गाउँको मौनता सधैँ दर्शक बनी बसेको कुरा भनिरहन पर्दैन होला। र फेरि भन्नुहुन्छ हामी र हाम्रो सोच कहिले परिवर्तन हुने यो प्रश्न कस्को लागि ? गोठ भत्काएपछि पनि महिलाहरू खुला आकाश मुनि रात बिताइरहेका छन् भने यस्मा चेतना फैलाउनु पर्ने हो कि चेतावनी ?
बिन्ती छ मेरो समाजका वरिष्ठ ज्यू, चेतावनीले गोठ भत्काउनुको सट्टा शहर केन्द्रित कार्यक्रम त्यो गाउँमा दिनु होस्। हरेक वर्ष घटेका घटनापछि सामाजिक सञ्जालमा “हामीमा चेतना कहिले आउँछ?” भन्दै प्रश्न गर्न सक्ने तपाईँहरूले हामी यसरी परिवर्तन हौँ भनेर किन सकारात्मक परिणाम दिन सक्दैनौँ ? जब “कार्यक्रम” सच्चा परिवर्तनको माध्यम हुन्छ, तब देखाउनकै लागि फोटो खिचिरहनु पर्ने छैन।
के गोठ हटाउनु नै समाधान हो ? आज यही प्रश्नले मलाई गिज्याइ रहेको छ। अहिलेसम्म गोठ भत्काउने अभियानमा र छाउपडी प्रथा सम्बन्धी कार्यक्रम गर्दा कति रकम खर्च भयो कुनै संस्था या निकाय र पालिकामा तथ्याङ्क छैन। फेरि गोठ भत्काउन अल्टिमेटम जारी गर्ने कस्तो निर्णय ? यस्ता धेरै प्रश्न आम नागरिकको मुख्खा झुन्डिएका छन। हामीले कल्पना गरेको समाज शहरमा हुने कतिपय कार्यक्रम गाउँमा भैदिएको भए, छाउ गोठमा हुने असर र अप्ठ्यारो बारे उनीहरूसँगै बसेर छलफल भैदिए र गोठ भत्काए पछि अनुगमनको पाटोलाइ निरन्तरता दिएको भए। तर, यहाँ ठिक विपरीत भैदिन्छ।