सत्कर्मको चमत्कार: कृष्ण–अर्जुन र ब्राह्मणको कथा"

एक दिन श्रीकृष्ण र अर्जुन बिहानको शुद्ध हावामा मर्निङ वाक गर्दै थिए। शान्त वातावरण, हरियाली बाटो र दुवै महान व्यक्तित्वको संवादले वातावरण नै दिव्य देखिन्थ्यो। त्यतिकैमा उनीहरूले बाटोमा एक ब्राह्मणलाई भिक्षा माग्दै हिँडेको देखे। कुपोषित शरीर, थकित अनुहार र धूलोले भरिएको चोला उनको दयनीय अवस्था दर्शाइरहेको थियो।
अर्जुनको मन द्रवित भयो। उनले ब्राह्मणलाई सुनका केही असर्फी दिए र आग्रहपूर्वक भने,
“हे ब्राह्मण देवता! यी असर्फी लिई आफ्नो जीवन सुखद र ऐश्वर्यपूर्ण बनाउनुहोस्। अब तपाईँलाई भिक्षा माग्न जरुरी पर्दैन।”

ब्राह्मणले असर्फी हातमा परेपछि रमाउने सपना बुन्न थाले। उनले सोच्न थाले—अब ठूलो घर बनाउनेछु, मेरी श्रीमतीलाई गरगहना किन्नेछु, बाँकी जीवन शान्त र समृद्ध बनाउनेछु।

तर, भाग्यमा अर्कै खेल बाँकी थियो। घर फर्किने क्रममा बाटोमा एक डाँकासँग जम्काभेट भयो। डाँकाले धम्क्याउँदै धन माग्यो। ब्राह्मणले डरले अर्जुनले दिएको सम्पूर्ण असर्फी डाँकालाई बुझाउनु पर्यो। घर पुगेर उनले घटना श्रीमतीलाई सुनाए। श्रीमतीसँगै उनी रुँदै निदाए।


भोलिपल्ट बिहानै, कृष्ण र अर्जुनले ती ब्राह्मणलाई भिख माग्दै हिँडिरहेको देखे। अर्जुनले अचम्म मान्दै सोधे,
“हे ब्राह्मण देवता! हिजो असर्फी दिएको थिएँ, फेरि किन माग्दै हिँडिरहनु भएको?”
ब्राह्मणले रुँदै जवाफ दिए,
“हे दयाविर! तपाईँको दिएको सम्पत्ति बाटोमै डाँकाले लुटेर लग्यो।”
अर्जुनको मन फेरि पग्लियो। उनले अब एउटा चमत्कारी मणि दिए,
“यो मणिले तपाईँको सम्पूर्ण इच्छाहरू पूरा गर्छ। यो तपाईँको सात पुस्ताको लागि पर्याप्त हुनेछ।”
ब्राह्मण मणि पाएर आह्लादित भए। अब उनी अझ बढी कल्पनामा डुबे—ठूलो हवेली, सेवक, सवारी, समृद्ध जीवनको कल्पना गर्दै उनी ढिलो घर पुग्दा श्रीमती भने सुतिसकेकी थिइन्। उनलाई भोलिपल्ट श्रीमतीलाई सरप्राइज दिन मन लाग्यो। उनले मणि गाग्रीभित्र राखे।
तर भाग्य फेरि नमिठो खेल खेल्न आइपुग्यो। ब्राह्मणीको बानी थियो—बिहान ४ बजे उठेर पानी भर्न जाने। ब्राह्मण नउठ्दै उनी नदीमा गइन्। गाग्री सफा गरिन्, पानी भरीन्। मणि बग्यो।
ब्राह्मण जब उठे र श्रीमतीलाई सरप्राइजका बारे बताए, श्रीमतीले सबै बताइन्। उनी फेरि छाती पिट्दै रुन थाले। फेरि भिक्षामा निस्कन बाध्य भए।
कृष्ण र अर्जुन फेरि देखापरे। अर्जुनले सोधे,
“अब फेरि के भयो ब्राह्मण देवता?”
ब्राह्मणले सबै सत्य खुलाए। अर्जुन निराश भए,
“हे ब्राह्मण देवता! तपाईँको भाग्य नै यस्तै रै’छ। जे दिए पनि गुमाउनु पर्ने!”
तर कृष्ण मुस्कुराए। खल्तीबाट दुईवटा तामाका सिक्का निकाले र ब्राह्मणलाई दिँदै भने,
“हामीसँग अहिले तपाईँलाई दिन यति मात्र छ। यो राख्नुहोस्।”
ब्राह्मणले ती सिक्का खल्तीमा हालेर अघि बढे। उनले बाटोमा एक जना मछुवारा देखे, जसको भाँडोमा एक जिउँदो माछा तड्पिरहेको थियो। ब्राह्मणको मन छट्पटी गरिरहेको माछा देख्द आँखा पग्लियो। उनले दया देखाउँदै ती दुई सिक्का दिएर माछा किनेर कमण्डलुको पानीमा राखे।
केही परको इनारमा माछा हाल्न खोज्दा माछाले पेटबाट त्यो मणि उल्टी गर्यो। ब्राह्मण चिच्याउँदै भन्न थाले,
“मिल्यो! मिल्यो! यहीँ हो फेला पारे!"
त्यही समय नजिकैबाट लुटेरा डाँका आइरहेको थियो। उसले “मिल्यो!” भनेर चिच्याएको सुनेपछि सोच्यो—ब्राह्मणले मलाई पत्ता लगाएको छ। डरले ब्राह्मणको पाउमा लम्पसार पर्दै अर्जुनले दिएको सबै असर्फी फिर्ता गरेर भाग्यो।
त्यसपछि कृष्ण र अर्जुन आइपुग्छन्। ब्राह्मणले सम्पूर्ण घटना सुनाउँछन्। अर्जुन स्तब्ध हुन्छन्।
अर्जुनले सोधे,
“भगवान्! मैले दिएको असर्फी र मणि गुम्यो, तर तपाईँले दिएको दुई तामाको सिक्काबाट सम्पूर्ण कुरा फर्कियो। यो कसरी सम्भव भयो?”
श्रीकृष्ण मुस्कुराउँदै भन्नुहुन्छ,
“हे पार्थ! जब तिमीले धन दिएको थियौ, त्यसबाट ब्राह्मणले केवल आफ्नो सुख–सुविधाको कल्पना गरे। तर मैले दिएको तुच्छ जस्तो देखिने तामाको सिक्काबाट उनले एक तड्पिरहेको प्राणीको जीवन जोगाउने सत्कर्म गरे। त्यसै सत्कर्मको फलस्वरूप गुमाएको सबै सम्पत्ति फिर्ता भयो।
याद राख,
जब सम्पत्ति अरूको भलोका लागि खर्चिन्छ, तब त्यो सम्पत्तिले चामत्कारिक फल दिन्छ।
सत्कर्म नै साँचो मणि हो। भाग्य बदल्ने शक्ति तिम्रो कार्यमा हुन्छ, धनमा होइन।”