कञ्चनपुर प्रहरीको वार्षिक प्रतिवेदन:२११ लागुऔषध कारोबारी पक्राउ, ४४४ फरार प्रतिवादी नियन्त्रणमा
कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै लागुऔषध नियन्त्रण, अपराध अनुसन्धान तथा फरार प्रतिवादी पक्राउमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। प्रेसमिटमार्फत सार्वजनिक गरिएको विवरणअनुसार प्रहरीले वर्षभरि अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सक्रिय रूपमा अभियान सञ्चालन गरेको थियो।
प्रहरीका अनुसार यस अवधिमा लागुऔषध दुर्व्यसनी तथा ओसारपसार नियन्त्रण अभियानअन्तर्गत १८ जना महिला र १९३ जना पुरुष गरी कुल २११ जनालाई पक्राउ गरिएको छ। सो क्रममा प्रहरीले ५९०.८७५ ग्राम खैरो हेरोइन (ब्राउन सुगर), ८ केजी २२ ग्राम ३६ मिलिग्राम चरेश, ५ केजी गाँजा, ५८७ थान नाइट्रोभेट एम्पुल तथा ४८ वटा ट्याब्लेट बरामद गरेको जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्षभरिमा कुल ९०७ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ५०९ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने ३९८ वटा मुद्दा अनुसन्धान तथा कानुनी प्रक्रियामै रहेका छन्।
अभद्र व्यवहारसम्बन्धी १५२ वटा मुद्दा दर्ता भएकोमा २०७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये २०३ जना अदालतको आदेशबाट छुटिसकेका छन् भने ४ जना अझै हिरासतमा रहेको जनाइएको छ।
अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत प्रहरीले ४४४ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको जनाएको छ। त्यस्तै, मिति २०८२/०५/२४ गते हिरासत वा कारागारबाट फरार भएका प्रतिवादीहरूको खोजी कार्यलाई पनि तीव्र बनाइएको प्रहरीले जनाएको छ। सार्वजनिक विवरणअनुसार कुल ४७८ जना प्रतिवादीमध्ये ४५७ जना फरार भएका थिए। तीमध्ये ३०० जना आफैँ उपस्थित भएका छन् भने ६६ जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ। हाल १३ जना पक्राउ पर्न बाँकी रहेकोमा १ जनाको मृत्यु भइसकेकाले अब १२ जना मात्रै फरार रहेको प्रहरीको भनाइ छ।
यसैबीच, ‘Gen-Z’ आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गरेको आरोपमा पक्राउ परेका ७ जनालाई अनुसन्धानपछि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।
सर्वसाधारणका गुनासा तथा ठाडो उजुरी सुनुवाइमा पनि प्रहरीले प्रभावकारी काम गरेको प्रतिवेदनमा उल्लेख छ। प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा परेका २ हजार ९९५ उजुरीमध्ये २ हजार ९९४ वटा फर्छ्यौट गरिएको छ भने एउटा उजुरी मात्रै प्रक्रियामा रहेको छ। जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त १४८ वटै उजुरी फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले समाजमा अमनचयन कायम राख्न, अपराध नियन्त्रण गर्न तथा कानुनी शासन सुदृढ बनाउन आफ्ना संयन्त्रहरूलाई अझ प्रभावकारी र सक्रिय बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।