गोदावरीमा एकीकृत फोहोरमैला केन्द्र सञ्चालनका लागि सरोकारवालाबिच छलफल

कैलालीः कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको प्रभावकारी सञ्चालनका लागि सरोकारवाला बीच छलफल गरिएको छ।
गोदावरी नगरपालिकासँगको सहकार्यमा क्षेत्रीय शहरी विकास आयोजनाले निर्माण गरेको उक्त केन्द्र सञ्चालन गर्न समुदाय सशक्तिकरण कार्यक्रम अन्तर्गत छलफल कार्यक्रम आयोजना गरिएको हो।
छलफल कार्यक्रममा फोहोर व्यवस्थापनको वर्तमान अवस्था, अवसर र चुनौतीहरूबारे छलफल गर्नुका साथै समुदायस्तरमा सञ्चालन गरिने जनचेतनामूलक कार्यक्रम तथा केन्द्रका कार्यप्रणालीबारे जानकारी प्रदान गरिएको थियो। फोहोरमैला व्यवस्थापन समितिका सल्लाहकार केशवराज पन्तले नगरमा फोहोरमैला व्यवस्थापनमा सबैको भूमिका महत्वपूर्ण रहेको बताए।उनले फोहोरको श्रोतमै वर्गिकरण गरी छुट्टाछुट्टै संकलन गर्दा त्यसको प्रभावकारी व्यवस्थापन सम्भव हुने बताए।
गोदावरीका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले फोहोर व्यवस्थापनका लागि कानुनी प्रावधानहरू कडाइका साथ लागू गर्नु आवश्यक रहेको बताए।

नगरप्रमुख विरेन्द्र भट्टले गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना हुनु ठूलो उपलब्धि भए पनि त्यसको सञ्चालनमा चुनौती रहेको बताए। प्रारम्भिक दुई वर्ष कम्पनीमार्फत केन्द्र सञ्चालन भए पनि त्यसपछिको व्यवस्थापन नगरपालिकामाथि पर्ने भएकाले अहिले नै प्रणालीगत ढंगबाट तयारी गर्न आवश्यक रहेको उनले बताए। उपकरण सञ्चालनमा लाग्ने खर्चको व्यवस्थापन गर्न र प्रणालीमा ल्याउनका लागि नीति, नियम र जनसहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।

