दसैँले फेरियो सुदूर पहाडको दृश्य, सुनसान बस्तीमा रौनक
धनगढी: रोजगारी, अध्ययन र अवसरको खोजीमा गाउँ छाडेर भारतदेखि देशका ठूला सहरसम्म पुगेका सुदूरपश्चिमेली दसैँ मनाउन घर फर्किन थालेपछि पहाडी गाउँबस्तीको दृश्य फेरिएको छ। वर्षभरि सुनसान देखिने गाउँमा अहिले चहलपहल बढेको छ। घरआँगनमा आफन्तको जमघट छ भने टोलबस्तीमा दसैँको उल्लास छाएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारीका अवसर सीमित हुँदा धेरै मानिस परिवारको जीविकोपार्जनका लागि भारत तथा तेस्रो मुलुक जानुपर्ने बाध्यतामा छन्। कतिपय अध्ययन र रोजगारीका लागि देशकै ठूला सहरमा बसिरहेका छन्। तर, दसैँ आउँदा उनीहरूको मन भने जन्मथलोतिरै फर्किन्छ। वर्षौँदेखि परदेशमा पसिना बगाइरहेकाहरू परिवारसँग खुसी साट्न र मान्यजनको हातबाट टीका तथा आशीर्वाद थाप्न गाउँ फर्किएका छन्।
दसैँ मनाउन घर फर्किनेको संख्या बढेसँगै डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछामका गाउँबस्तीमा चहलपहल बढेको छ। डडेल्धुराको अजयमेरुकी जानकी चन्दका अनुसार लाहुरेहरू घर फर्किएपछि गाउँमा दसैँको रौनक थपिएको छ। लामो समयपछि परिवारका सदस्य र आफन्त भेटिँदा गाउँमा खुसीयाली छाएको उनको भनाइ छ।
डोटीको पूर्वीचौकीका उमेश खड्काका अनुसार दसैँमा गाउँ फर्किनेहरू रोजगारी र अध्ययनका लागि बाहिरिएका मात्रै छैनन्। `बसाइँसराइ गरेर तराई झरेकाहरू पनि पुर्ख्यौली थातथलो पुगिरहेका छन्,´ उनले भने ।
सहरको व्यस्त जीवनभन्दा आफू जन्मेहुर्केको गाउँमा परिवार र आफन्तसँग चाडपर्व मनाउँदाको खुसी नै बेग्लै हुने उनीहरूको अनुभव छ। गाउँमा आफन्त फर्किन थालेपछि भेटघाट र भलाकुसारी बढेको बताउँछन् बैतडीका जयन्त भाट। `वर्षौँपछि भेटिएका आफन्तबीच सुखदुःख साटासाट हुन थालेको छ भने घरआँगनमा चाडपर्वको रौनक थपिएको छ,´ उनले भने।
रोजगारीका लागि गाउँ छाड्नुपर्ने बाध्यता भए पनि दसैँले धेरैलाई आफ्नो परिवार र जन्मभूमिसँग जोड्ने गरेको छ। केही दिनको बिदा मिलाएर भए पनि घर फर्किनेहरूको उत्साहले गाउँमा नयाँ उमङ्ग थपेको छ।
दसैँको रौनक घरपरिवारको भेटघाटमा मात्रै सीमित छैन। पहाडी जिल्लाका विभिन्न धार्मिक शक्तिपीठमा लाग्ने जात्रा तथा मेलाले पनि गाउँको चहलपहल बढाएको छ। परम्परागत रूपमा मनाइँदै आएका जात्रा र मेलामा सहभागी हुन स्थानीयसँगै बाहिर रहेकाहरु पनि गाउँ पुगिरहेका छन्। यसले गाउँमा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधि बढाएको छ।
रोजगारी र सुविधाको खोजीमा गाउँ छाड्ने क्रम नरोकिए पनि दसैँले वर्षमा एकपटक भए पनि धेरैलाई जन्मथलो फर्काउने अवसर दिएको छ। परदेशबाट फर्किएका आफन्त, भरिभराउ घरआँगन, भेटघाट र जात्रामेलाले सुदूरपश्चिमका पहाडी गाउँमा दसैँको दृश्य फेरिदिएको छ।