सुदूर नेपाललाई विश्वसँग जोड्दै

धर्तीबाट बिदा हुने बेलासम्म गुनगुनाइरहने छु डेउडा गीत (कुराकानी)

२०७५ भदौ २१, ०७:३१

सुदूरपश्चिमका चर्चित गायकहरूको सुचीमा दर्ज भैसकेका महेश कुमार औजीको गायनको धार नै बेग्लै छ । राष्ट्रियस्तरमै ख्याती कमाइसकेका डेउडा गायक औजीको जन्म  २०३७ साल भाद्र २५ गते बैतडीको हालको पञ्चेश्वर गाउँपालिका ६ बैतडीमा भएको हो । घुटुक्क बाडुली लाएइ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका हुन् । 

हिजो आज के गर्दै हुनुहुन्छ ?
म नेपाल सरकारको सेवक हुँ । जागिर गर्छु बचेको समयमा गीतसंगीतकै गोरेटोमा यात्रारत हुन्छु । साँझ बिहान रियाज गर्छु । साथीभाइले  बोलाउँछन् गीत गाउन  कहिलेकाहीँ । गीत रेकर्ड गर्न स्टुडियोमा पुग्छु । परिवारिक जिम्मेवारि छ । घरपरिवारलाई पनि समय दिनै प¥यो । यसरी नै दिनचर्या चलिराछ ।
कति छन् छोरा छोरी ? 
१ छोरा १ छोरी छन् । जेठी छोरी कान्छो छोरा । 
गीत गाउने प्रेरणा को बाट पाउनु भो ?
मेरा बुवा मोहनराम आैजीकै प्रेरणाले गर्दा तानिएको हुँ यो क्षेत्रतिर ।
 पछिल्लो समयमा श्रोता,दर्शकहरू पनि बने मेरो प्रेरणाको श्रोत ।  
काठमाडौं आएर संगीत पनि सिक्नु भयो  ?
सुरुसुरुका गीत गाउँदा औपचारिक ढंगले संगीत सिकेको थिएन । कतिपय गीतहरू संगीत नसिकिक नै रेकर्ड गराइयो । पछिल्लो पटक संगीतकार , गायक तिलकसिं पेला सरसँग ३ वर्ष संगीत सिके । अहिले आफै रियाज गर्छु । 
कस्ता गीत गाउन मन लाग्छ ?
मध्य तथा सुदूरपश्चिमका तिनै डेउडा गीतहरू गाउन मन लाग्छ । 
जो समाजिक परिवेशमा सुवाउँछन् र सन्देशमूलक हुन्छन् । 
कति जति गीत  रेकर्ड गरियो ?
१४ वटा त आफ्नै एल्बमहरू निकाले । अरुका  एल्बममा कति गाइयो ठ्यक्कै लेखाजोखा गरेको त छैन ।
 त्यस्तै ५०० जति गाइयो कि जस्तो लाग्छ । 
अहिले बजारमा आइरहेका गीत सुनेर कस्तो लाग्छ ?
समय पस्थिति अनुसार ठिकै होलान् । केही त राम्रै पनि छन् । कही कतै डेउडाका नाममा बिकृति पनि भित्रिरहेका छन् । यसको मापन सम्बन्धित निकायले गर्नु पर्छ जस्तो लाग्छ । हामीले हाम्रो कला संस्कृतिको जोगेर्ना गर्नु पर्छ । कला संस्कतिका नाममा बेथिति हुनु हुँदैन । 
तपाइँलाई द्वन्द्वकालमा दुर्घनामा परी बाँच्न सफल भएपछि गीत गाउन थालेको भन्छन्  हो ?
त्यसो होइन । गीत त म सानै देखि गाउँथें । २०५७ सालमा पहिलो एल्बम निकालेको हुँ । जसमा ३ वटा गीत मेरा बुवाले गाउनु भएको छ भने तीन वटा गीत मैले आफुले गाएको छु । २०६० सालमा  दुर्घटनामा परे खुट्टामा गोली लाग्यो । भाग्यवश म बाँचे । गायन क्षेत्रमा निरन्तरता  दिएको त्यसपछि हुँ । 
अबको योजना के छ ? 
गीतसंगीततिरै लागिरहने छु अन्तिम अवस्थासम्म पनि । गीतसंगीतका माध्यमबाट सुदूरपश्चिमको कला संस्कृतिको उत्थानमा लगिरहने छु  । धर्तीबाट बिदा हुने बेलासम्म  गुनगुनाइरहने छु तिनै डेउडा गीतहरू। 
आफुले गाएका गीतहरू मध्य सबैभन्दा मन पर्ने गीत 
सबै गीत मन पर्छन् । मलाई चिनाउने गीत कलेजी कटाउने माया र सुदूरपश्चिम स्वर्गसरी हुन् ।
पछिल्लो समयमा सुदूरपश्चिम स्वर्गसरी बोलको गीत निकै नै चर्चित भयो । यो गीत कसरी  तयार भयो  ? 
यो गीतको भाका निकै छोटो समयमा स्टुडियो मै तयार भएको हो । डालीमैना बोलको गीत रेकर्डिङ गर्ने क्रममा माधव बिष्टसँग भेट भयो । उहाँसँग अगाडीदेखि नै थियो चिनाजानी । स्टुडियोमा बस्दाबस्दै मैले लय तयार गरेँ । सुरुमा डोटी राम्रो शैलेश्वरी नटुटोस् प्रेमको डोरी रैभाmउ जनमभरी भनेर गुनगुनाएँ । भाका मिठो सुनियो । डोटी राम्रो शैलेश्वरी भन्ने धेरैका गीतमा आइसकेको छ भन्ने कुरा आयो । माधवजीबाट त्यो ठाउँमा सुदूरपश्चिम स्वर्गसरी बनाउन सुझाब आयो । त्यही अनुसार गीतको भाका  तयार भयो ।  केही दिन पश्चात माधवजीले शब्द तयार गर्नु भयो र बिष्णु माझी र मेरो स्वरमा गीत रेकर्ड भयो । जुन गीत चाँदनी मल्लका एल्बमको लागि तयार गरिएको हो । 
कति वटा राष्ट्रको भ्रमण गर्नु भो ? 
गीत गाउन ७ वटा देशमा गइयो । अरु हिसाबले त १० वटा जति देशको भ्रमण गरिसकेँ । 
जीवन के हो ? 
मेरा लागि जीवन संघर्ष हो । जिन्दगीका हरेक मोडहरू संघर्षमय छन् ।

कमेन्ट लोड गर्नुस