सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुुलामा तरकारी उत्पादन बढ्दो

२०७७ माघ ६, ०१:०९ नरेन्द्र कार्की

दार्चुला: दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने भएको छ। जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सकार र गैरसरकारी सङ्घसंस्थाले कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेपछि जिल्ला तरकारीमा आत्मनिर्भर बन्दै गएको हो। 

यहाँ बर्खे, हिउँदे र बेमौसमी गरी बाह्रैमहिना तरकारी उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ। कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लामा एक हजार ५६४ हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्ने गरिएको छ । जसबाट वार्षिक रुपमा १६ हजार ९३२ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत शङ्करदत्त अवस्थीले बताए।

दार्चुलामा बर्खे तरकारी मात्रै ६१५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ। जसबाट ६ हजार ४०५ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ। यसैगरी हिउँदे तरकारी ३४० हेक्टर क्षेत्रफलमा लगाइने गरिएको छ। जसमा चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाको तथ्याङ्क छ।

यस्तै जिल्लामा व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती पनि बढ्दै गएको छ। दार्चुलामा हाल ६३१ हेक्टर क्षेत्रफलको जमीनमा बेमौसमी तरकारी खेती गर्ने गरिएको छ। त्यसबाट ६ हजार २९३ मेट्रिक टन बेमौसमी तरकारी उत्पादन हुने गरेको कार्यालयले जनाएको छ। 

जिल्लामा ३४० हेक्टर क्षेत्रफलमा बर्खे तरकारी खेती लगाइने गरिएको छ जसबाट वार्षिक चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्रसँगै पछिल्लो समय स्थानीय तह, सङ्घ, प्रदेश र गैरसकारी सङ्घ संस्थाले पनि तरकारी उत्पादन बढाउन र यसको व्यावसायीकरणका लागि सहयोग गर्दै आएका छन्। जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले तरकारी उत्पादनमा ठूलो मद्दत गरेको छ। 

किसानलाई बीउ बिजनदेखि उनीहरुलाई व्यावसायिक तालीममा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सहयोग पु¥याउँदै आएको जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले बताए। अघिल्लो आर्थिक वर्ष २०७५/७६ भन्दा गत आर्थिक वर्ष २०७६/७७ मा ३२ हेक्टर क्षेत्रफलमा तरकारी खेती थप विस्तार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

तरकारी लगाउने सिजन शुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा हिउँदे तरकारी लगाउन थालिएको छ । धान गोड्ने काम र कोदो रोपाइँ सकेका किसान यतिबेला हिउँदे तरकारी लगाउन व्यस्त बनेका छन्। किसानले काउली, बन्दा, ब्रोकाउली, रायो, मुला, चम्सुर, पालुङ्गो, धनियाँ, गाँजरलगायतका तरकारी लगाउन शुरु गरेका छन्।
भदौदेखि मङ्सिर हुँदै माघसम्म हिउँदेबाली लगाउन सकिने कृषि  ज्ञान केन्द्र दार्चुलाले जनाएको छ। कृषि प्राविधिकले हाइब्रिड भन्दा स्थानीय जातको मीठो हुने भएकाले मौसमी खेतीमा किसानको आकर्षण बढी देखिएको बताएका छन्।

काउली, बन्दालगायतका तरकारीको बेर्ना उमार्ने काममा  किसान लागेका छन्। कतिपय स्थानका किसानले भने बिरुवा उत्पादन गरेर बिक्रीसमेत शुरु गरिसकेको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तले बताए। विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण जोखिमसँगै अधिकांश जनशक्ति ग्रामीण भेगमा केन्द्रित हुँदा यसवर्ष तरकारी उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । पछिल्ला वर्षमा युवा पुस्ता पनि व्यावसायिक कृषिमा आकर्षित भएकाले पनि तरकारी उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ।

कृषि ज्ञानकेन्द्र दार्चुला तथा विभिन्न सङ्घ संस्थाले तरकारी खेतीमा किसानलाई आधुनिक तरकारी खेतीको तालीम र बिउबिजन वितरण गर्न थालेपछि गाउँका किसान तरकारी खेती गर्न हौसिएका छन्। उत्पादित तरकारी बजारसम्म पु¥याउन सजिलो होस् भनेर विभिन्न स्थानमा तरकारी सङ्कलन केन्द्र पनि स्थापना भएका छन्।

तरकारीको माग उच्च रहेकाले बिक्री पनि तुरुन्तै हुने भएकाले किसानको आयआर्जन बढ्न थालेको बताइएको छ। दार्चुलामा उत्पादनका हिसाबले आत्मनिर्भर भए पनि बजार व्यवस्थापन सहज नहुँदा उत्पादित तरकारी अपेक्षित रुपमा बजार आउन नसकेको कार्यालयले जनाएको छ। जिल्लाभित्रै उत्पादित तरकारीको बजारीकरण सहज नहुँदा जिल्ला बाहिरबाट पनि तरकारी भित्र्याउने गरिएको छ।

जिल्लाबाट उत्पादित तरकारी थोरै परिणाममा बाहिरी जिल्लामा पनि निर्यात हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा उत्पादित तरकारी छिमेकी राष्ट्र भारतमा गएर पनि नेपालतिरका किसाले बिक्री गर्ने गरेका जनाइएको छ। पछिल्लो समय कोरोना भाइरस महामारीका कारण सीमा नाका बन्द हँुदा नेपालतिरको तरकारी भारतीय बजारमा जान छोडेको छ भने नेपालतिरका बजारमै बिक्री हुने गरेको छ। हालै कोरोना प्रभावित युवाको लागि कार्यालयले ७८ जना युवालाई तरकारी खेतीमा लगाउँदैछ।

दार्चुलाको नौगाड, दुहुँ, ब्यास, अपिहिमाल, मालिकार्जुन, लेकम, मार्मा गाउँपालिका, महाकाली नगरपालिका, र शैल्यशिखर नगरपालिकाका  किसानले आफ्ना उत्पादन बजारमा बिक्री गर्ने गरेका छन्। खारका स्थानीय धनसिंह सितोली यो वर्ष लकडाउन भएको कारण पनि जिल्लाको उत्पादनले बजार पाएको बताउँछन्। 

यो वर्ष भारतबाट कम तरकारी निर्यात हुँदा स्थानीय उत्पादनले सबैतिर बजार पाएको हो। स्थानीय उत्पादनले बजार पाएपछि किसान खुशी भएका छन्। ब्यास र अपिहिमाल, नौगाडको आलु सदरमुकाम खलङ्गा र जिल्लाबाहिर पनि पठाइएको छ।
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस