सुदूर नेपाललाई विश्वसँग जोड्दै

धोती लगाउँदैमा हाम्रो स्वाभिमान झुक्दैन कमरेड

२०७७ माघ ४, ०३:४२ समीर जोशी

-समीर जोशी

परिचय 

धोती कम्मरमा बेरेर लगाइने एक प्रकारको वस्त्र हो। धोतीको विकास पहिरन कहिलेदखि सुरु भयो भन्ने एकिन नभएपनि कपडा पहिरनको सुरुवात देखि नै धोती लगाउने चलनको विकास भएको पाइन्छ। पौराणिक काल र विभिन्न धर्म ग्रन्थ हरुमा देवी देउताहरुले वस्त्रको रुपमा धोती नै पहिरन गरेको देखिन्छ। खासगरी ब्राह्मणले लाउने धोती विशेष कार्य (पूजापाठ आदि)मा जरूरी हुन्छ। धोती खासगरी लोग्नेमान्छेहरूले लगाउने लुगा हो भने धोतीको विकसित र रंगीन डिजाइन भएको र आकारमा लामो भएका धोती र सारी महिलाहरुले पहिरन गर्छन्। 

कछाडको वर्धित रूप धोती हो। लोग्नेमान्छेका धोती सेतो कपडाको हुन्छ र यसको लम्बाइतर्फका दुई किनारामा पारी भएको हुन्छ र धोती कम्मरदेखि तल लगाइन्छ। एक छेउको फर्को अगाडिदेखि टाङमुनिबाट छिराएर पछाडि लगेर सिउरिने वा सामान्य तौलिया बरे झै बेरेर पहिरिने नसिलाएको वस्त्र धोती हो। 

तराईमा धेरैजसोले धोती लगाउँछन्। धोती लगाउँदा हलुका महसुस हुन्छ। धोतीको अझ छोटो रूपलाई लँगौटी भनिन्छ। पुरुषले मात्र धोती लगाउँछन् र धोती लोग्नेमान्छेहरुले मात्र लगाउने वस्त्र हो र विशेष गरी व्राम्हण ले मात्र लगाउँछन् भन्दा यो सरासर गलत हुन्छ किनकि नेपालमा विषेशगरी तराई मधेसमा आदिवासी राना ,थारु, मगर र मधेसी तथा मैथली समुदाय हरु ले परिरन गर्ने प्रमुख वस्त्र नै धोती हो। 

के तराई के पहाड के हिमाल महिलाहरुले पनि धोती नै लगाउने गरेको पाइन्छ हालाँकि पुरुषले लगाउने धोती र महिलाले लगाउने धोती मा अन्तर छ र महिलाले पनि धोती लगाउँछन् भन्ने कुरामा अब कुनै दुविधा नै छैन। महिलाका धोती रंगिन हुन्छन् र महिलाले लगाउने धोतीका लम्बाइका दुई किनारामा कडाइ गरिएको हुन्छ।

धोती एक पारम्परिक नेपाली पोशाक हो जुन अहिले गाउँहरू, विवाह ,उत्सव र अन्य विधीहरूमा देखा पर्दछ। यो विभिन्न हिंदू नाम र लगाउने तरिकाको कारण सम्पूर्ण हिन्दू समुदायमा धेरै व्यापक छ। 

उदाहरण को लागी, मधेसी र थारु समुदायको धोती लगाउने स्टाइल फरक छ। मधेसी समुदाय मा पनि भोजपुरी ले रंगीन कलरको लुंगी लगाउँछन् भने मिथिला मा सेतो र धोती सङ्गै सिरमा गम्छा पहिरिन्छन् त्यसैगरी थारु समुदायको पनि धोती पहिरनको विधि फरक फरक छ दाङ देखि पूर्व तिरका थारु समुदायको पहिरन मधेशी समुदाय संग मेल खान्छ भने दाङ देखि पश्चिम बर्दिया सम्म एउटा पहिरन र सर्कृति छ फेरि कैलाली र कञ्चनपुर बस्ने थारु समुदायको एक खालको छ। अझै खुलाएर भन्नु पर्दा कैलाली र कञ्चनपुरमा मात्र बस्ने राना थारु समुदायको धोती पहिरन र भाषा सर्कृती फरक छ त्यसैगरी मगर समुदायले लगाउने धोती को पहिरन पनि बेग्लै छ। 

धोती र लुंगी नेपालमा मात्र नभई भारतका विभिन्न राज्यहरूमा , इन्डोनेशिया, बंगलादेश, पाकिस्तान , श्रीलंका, बर्मा, ब्रुनेई, मलेसिया, सिंगापुर, थाईल्यान्ड, हर्न अफ्रिका र दक्षिणी अरबी लगाएतका मुलुकहरूमा पनि यसको महत्व, चर्चा र आफ्नै विशेषता रही आएको पाइन्छ। 

हिन्दीमा धोती र उत्तर भारतका केही अन्य भाषाहरू बाहेक, यसलाई बंगालीमा धोती, तामिलमा वेस्ति, मलयालममा मुन्डु, तेलुगुमा पञ्चा र कन्नडमा पञ्च पनि भनिन्छ। नेपालमा भने धोती, लुंगी ,सारी र लङ्गोट भन्ने गरेको पाइन्छ।

धोतीका किसिम र प्रकारहरू:

लुङ्गी 
लुंगी(सारंग पनि भनिन्छ) लुगा हो। यो बर्मी भाषाको शब्द र बर्माको राष्ट्रिय पोशाक हो। यो इन्डोनेशिया, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, बर्मा, ब्रुनेई, मलेसिया, नेपाल, सिंगापुर, थाईल्यान्ड, हर्न अफ्रिका र दक्षिणी अरबी प्रायद्वीपको परम्परागत पोशाकको रूपमा लगाइएको छ। यो खासगरी धेरै उच्च ताप र आर्द्रता भएका क्षेत्रहरूमा लोकप्रिय छ।

लंगोट 
लङ्गोट नेपालमा विषेशगरी कैलाली र कञ्चनपुरमा आदिवासी राना थारु समुदायमा पुरुषहरुको प्रमुख पोसाक हो पुरूषहरूले जिउ मा लङ्गोट बेरेर माथि जिउ खाली राखेको देख्न पाइन्थ्यो तर आजभोलि गाउँघरतिर एकाद बुढापाकाले बाहेक अरूले त्यो पहिरन लाई अँगालेको पाइँदैन खस समुदायमा पनि लाङ्गोटको आफ्नै मौलिकता छ विषेशगरी काजक्रिया र अन्तिम संस्कार गर्दा कच्छा र सम्पूर्ण वस्त्र निकालेर केवल सेतो रंगको लङ्गोट पहिरन गर्ने चलन छ।

साडी 
साडी (केही क्षेत्रहरूमा सारी भनिन्छ) नेपाल तथा भारतीय महिलाको मुख्य पोशाक हो । नेपालमा गुनियू चोली र पटुकी लगाउँदै अहिलेको मोर्डन युगमा आएर यसले सारीको रूप लिएको भन्दा फरक नपर्ला। यो सायद विश्वको सबैभन्दा लामो र सबै भन्दा पुरानो पोशाकमा गणना गरिन्छ। यो सुरु देखि अन्तिम सम्म लामो स्टिस्च गरिएको कपडाको टुक्रा हो जुन ब्लाउज वा चोली र छायाँमा लगाइन्छ।

त्यहाँ साडी लगाउने धेरै तरिकाहरू छन् जुन भौगोलिक स्थान र परम्परागत मूल्य र रुचिहरूमा निर्भर गर्दछ। कन्जीवाराम साडी, बनारसी साडी, पाटोला साडी र हकोबा आधी विभिन्न स्टाइलका साडिहरूमा मुख्य हुन्। 

चन्देरी, महेश्वरी, भारतको मध्य प्रदेशको मधुबनी प्रिन्टि, असमको कोरल रेशम, उड़ीसाको बोम्काई, राजस्थानको बन्धेज, गुजरातको गथोदा, पाटोला, बिहारको तसार, कथा, छत्तीसगढ़ी कोसा रेसम, दिल्लीको रश्मी सारीस, झारखंड कोसा रेसम, महाराष्ट्र कांजीवरम,पैठानी बनारसी ,तमिलनाडु,कञ्जीवाराम, उत्तर प्रदेशको बनारसी साडी, तन्ची, जामदनी, उत्तर प्रदेशको जामवार र पश्चिम बंगालको बालुचारी र कंठा ताङ्गेल प्रसिद्ध साडीहरू हुन् त्यसैगरी पछिल्लो समय नेपालमा प्रिन्टेड सिंगापुरे , चाइनिज र हङकङको सारीहरु निकै चर्चामा छन्।

साडी वेदमा वास र शाटिका भनेर उल्लेख गरिएको छ। साडी शव्दको शुरुमै उल्लेख यजुर्वेदमा पाइन्छ। अर्को तर्फ, धार्मिक मान्यता अनुसार यज्ञ वा हभनको समयमा पनि महिलाले साडी र ब्राम्हण र पुरुषले सेतो धोती लगाउनुपर्छ।
(साडी विश्वको सब भन्दा लामो र पुरानो पोशाक मध्ये एक हो। यसको लम्बाई सबै पोशाक भन्दा बढी छ)

आज नेपालमा हाम्री आमा र हाम्रा मधेशी, थारु, जनजाति र खस आर्यले पहिरन गर्ने धोतीको मजाक उडाउँदै छन् त्यसमा पनि देशकै अभिभावक प्रधानमन्त्री ज्यूले धोती भनेर खिसी उडाउनु कत्तिको सुहाउँछ ?  
कुनैबेला पहाडमा अधिकारका लागि आन्दोलन होला, त्यो मधेसी समुदायबिरुद्ध हुन सक्दैन र मधेसमा हुने आन्दोलन पनि अन्य कुनै समुदायको बिरुद्दमा हुँदैन र कसैले जनतालाई एक अर्का प्रति उक्साएर मुडभेट हुने सम्मको अवस्था सृजना गर्नु सरासर गलत हो।

मधेसमा बस्ने जति सबै मधेसी हुन र त्यो भन्दा पनि महत्वपर्ण कुरा उहाँहरू सबै देशभक्त नेपाली हो। मधेशको अर्थ केवल कुनै जाती विशेष नभएर समथर भूभागमा वा तराईमा बसोवास गर्ने भनेर पनि बुझ्न जरुरी छ। जहाँ मधेसीसहित पहाडी भनिने समुदाय मिलेर बसेका छन्। 

पहाडमा पनि मधेसी समुदायको बसोबास भएकै छ । त्यस्तै सबै क्षेत्रमा बिभिन्न समुदायका ब्यक्तिहरु मिलेर बसेका छन्। आपसमा दुश्मनी कसैसँग छैन भने किन त आज धोती लगाउने को मजाक उदाउँदैछन्। टोटी लगाउनेले त्यही थारु, मधेशीले धोतीमा टोपी लगाउँदै गौरवका साथ भन्दै थिए, ‘हाम्रो स्वाभिमान झुक्दैन कमरेड।’

अनि त्यही सेतो धोती ब्राम्हणले लगाउँदा संस्कार हुने, आमाले लगाउँदा संस्कृतिको रक्षा हुने अनि मधेशी थारु र जनजातिले लगाउँदा कसरी गलत भो ?

टोपी होस् वा धोती स्वाभिमान कहाँ फरक हुन्छ र ? ‘स्वाभिमान भनेको पहाड र मधेसमा फरक हुने होइन।’

पहाडमा पनि हुन्छ, मधेसमा पनि भूगोल मात्र फरक, शरीर रङ कालो गोरो मात्र, मन एउटै नेपाली । देश त एउटै हो नि त्यसैले स्वाभिमान पनि एउटै हो।

आज यहां फेरि केही तत्वले विभेदको बिउँ रोप्दै देशलाई दुर्घटना तिर लिने प्रायस हुँदै छ त्यसैले बिभेदको बिउँ रोप्ने प्रयासभित्र कुनै भयंकर षड्यन्त्र लुकेको हुनुपर्छ। हिमाल र पहाडका अन्य क्षेत्रमा आआफ्नो परम्परा अनुसारको पहिरन चल्छ विभिन्न पहिरन हरु मध्य धोती पनि प्रमुख चर्चित पहिरन हो। पहिरन फरक भएर के भो ? 

अहिले त जनताको छोराछोरी राष्ट्रपति हुने व्यबस्था छ। संविधानले कुनै पनि समुदायलाई राष्ट्रप्रमुख हुन छेकेको छैन्। बाटो सबैका लागि खुला छ। यसअघि मधेसी राष्ट्रपति र उपराष्ट्रति थिए, अहिले महिला राष्ट्रपति र उपराष्ट्रपति मगर छन्। यो १० वर्षे जनयुद्द ६२/२०६३ को जनआन्दोलन, मधेश आन्दोलनम, थारु आदिवासी जनजाति दलित लगायतको आन्दोलन र बदिलिदो व्यवस्थाले ल्याएका अवसर हुन्। स्वभाविकै रुपमा हाम्रो भाषा, संस्कृति फरक होला। हाम्रो चालचलन फरक होला। तर, भावना फरक फरक छैन। सबैको अन्तरभावना एउटै छ हामी नेपाली हौ हामीलाई त्यत्ति थाहा छ।

पहिचानका लागि पहिरनको ठूलो महत्व छ। त्यसैले त पहिरनलाई हामीले महत्व दिन्छौ। पृथ्वीनारायण शाहले नेपाल विभिन्न जातजातिको फूलाबारी त्यसै भन्नु भएको थिएन। आज गैरमधेसीले कुर्ता, धोती र गम्छाप्रति आकर्षित हुनु र मधेसीले टोपीलाई सम्मान गर्नु एकअर्काको अधिकार, संस्कृतिलाई सम्मान गर्नु हो।

तर केही व्यक्तिहरूले आज त्यही धोतीको मजाक उडाउँदैछन्। यो अति निन्दनीय छ राज्यको महत्वपूर्ण भूमिका मा बसेका बेक्तीहरुले आज आफ्नै आमा र दाजुभाइहरुले लगाएको धोतीको मजाक उदाउँदा अलिकति पनि लाज लागेन त ? के उहाँहरूले आफ्नो विभेग र नैतिकता गुमाउनु भएकै हो त ?

नेपालको उच्च ओहोदामा बसेका व्यक्तिहरूले यस्तो निन्दनीय अभिव्यक्ति दिनु, एउटा समुदायलाई होच्च्याउनु, मजाक उठाउनु भनेको उच्च जातीय अहंकार र नश्लिय सामन्तबाटको प्रकाष्ठा भन्ने प्रस्टै भएको छ। 

नेपालमा संगीत लोकतान्त्रिक गणतन्त्र स्थापना भई सक्दापनि राज्यको मुख्य नेतृत्वमा भएका व्यक्तिले यस्ता शब्दहरु प्रयोगगर्नु हाम्रो समाज कतातिर जाँदैछ, हजारौंको बलिदानबाट प्राप्त संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य व्यवस्था गर्भमै तुहिने खतरा उत्पन्न भएको छ।

(जोशी अनेरास्ववियू कैलालीका सहसंयोजक हुन)

समीर जोशी
कमेन्ट लोड गर्नुस