डडेल्धुराको पोखरा–बेलापुर सडक खण्ड फलोअप: वन कार्यालयले पूर्वाधारलाई पत्र काट्यो
डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको योजना अन्र्तगत कञ्चनपुरको दैजीदेखि डडेल्धुरा र बैतडी हुँदै बझाङको देउरा जोडने राजमार्गको डडेल्धुरामा पर्ने पोखरा–बेलापुर सडक खण्डमा सडक निर्माणका नाममा अन्धाधुन्ध सल्लाका रूख काटिएको सन्दर्भमा डिभिजन वन कार्यालय डडेल्धुराले पूर्वाधार कार्यालय डडेल्धुरालाई पत्र काटेको छ।
सामुदायिक वनहरुले रूख कटानको लागि डिभिजन कार्यालय डडेल्धुराबाट इजाजत नलिएको र सडक निर्माणका लागि वातावरणीय प्रभाव मुल्यांकन कार्य प्रक्रियामै रहेका बेला अन्धाधुन्ध किसिमले रुख काटिएको सन्दर्भमा सुक्ष्म किसिमले अनुसन्धान गरिरहेको डिभिजन वनले पूर्वाधारसँग जवाफ मागेको हो।
तर, सडक निर्माणका क्रममा आफूहरूले रूख नकाटेर सामुदायिक वनले काटेको पूर्वाधार कार्यालय डडेल्धुराले बताउँदै आएको छ। पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख इन्जिनियर रामचन्द्र खत्रीले वनले कार्यालयका नाममा पत्र काटेको र त्यो पत्र कार्यालयमा पुगेको जानकारी दिए। पत्र हेरेर वनलाई जवाफ दिने उनको भनाइ छ।
डिभिजन वन कार्यालयले रेन्जर केशव पौडेललाई अनुसन्धान कर्ता तोकेको छ। पौडेलको टोलीले अनुसन्धान गरिरहेको छ। रेन्जर पौडेलले सामुदायिक वनका अध्यक्षलाई लिखित जवाफ दिन भनेपनि अझै नदिएको बताएका छन्।
डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरादेखि नवदुर्गा गाँउपालिकाको बेलापुरसम्म १० किमि सडक कालोपत्रे गर्ने काम चलिरहेको छ। नवदुर्गा गाँउपालिका–१ मष्टभगवती मन्दिरसम्म सडक पिच हुने भएकाले रूखहरू खेर जानु भन्दा उपभोक्ताको माग अनुसार रूख कटान गरिएको पलेथ्थर सामुदायिक वनका अध्यक्ष खडकबहादुर बुढाएरले जानकारी दिए।
१० मिटर सडक पिच गर्दा धेरै रूखहरू काटिएर खेर जाने भएकोले सर्वपक्षिय बैठक राखेर निर्णय गरि रूखहरू काट्न स्थानीयलाई पुर्जी दिएको अध्यक्ष बुढाएरले बताए।
सडक निर्माणको निहुँमा काठ तस्करहरुले डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ को पलेथ्थर र सल्लेरी सामुदायिक वनक्षेत्रमा हरिया सल्लाका रूखहरू काटेर गोलिया बनाएका छन्। स्थलगत अनुगमन गर्दा पलेथ्थर सामुदायिक वनमा ३१ र सल्लेरी सामुदायिक वनमा १६ सल्लाका रूख काटेको पाइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।
वन फडानी गरेर गोलिया बनाई राखेको अवस्थामा करिब ३५ सय क्युविक फिट काठ अवैैध रुपमा काटिएको पाइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। सडक निर्माणका क्रममा सैयौं सल्लाका रूखहरू वातावरण परीक्षण तथा प्रभाव मूल्यांकन नगरेर काटने र कानून विपरित वन विनाश गर्ने कार्यमा स्थानीय तहदेखि प्रदेश सरकारका जनप्रतिनिधिको समेत संग्लनता रहेको स्थानीयले आशंका गरेका छन्।
सो सडक निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा ठेक्का सम्झौता भइसकेको र ढुङ्गाड सम्मको ट्रयाक खोल्ने कार्य आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न भएको प्रदेश सरकार मातहतको पुर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ। केएस कन्ट्रक्सन निर्माण कम्पनीले यो सडक खण्डमा कालोपत्रे गर्ने काम गरिरहेको छ।
सम्बन्धित समाचार :
पोखरा–बेलापुर सडक विस्तारका नाममा वन विनास, रोकियो काम
पोखरा–बेलापुर सडकखण्ड फलोअप: पुर्जी जनताको नाममा, काठ ठेकेदारले बेच्ने !
डडेल्धुरामा अवैध रुपमा भएको वन फडानीबारे डिभिजन वन कार्यालयले थाल्यो अनुसन्धान