सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरा–बेलापुर सडक विस्तारका नाममा वन विनास, रोकियो काम

२०७७ मंसिर १५, ०१:३८ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुराको पोखरा–बेलापुर कालोपत्रे सडक निर्माणका क्रममा अवैध रुपमा रूखहरू कटान भएका छन्। डिभिजन वन कार्यालय डडेल्धुराकै मिलेमतोमा वन फडानी हुँदा समेत सम्बन्धित निकाय मौन रहेको स्थानीयको आरोप छ।

पोखरा–बेलापुर बैतडीको ढुङगाड र बझाङको देउरासम्म निर्माण हुन लागेको यो सडक खण्डमा सैयौं सल्लाका रूखहरू वातावरण परीक्षण तथा प्रभाव मूल्यांकन नगरी काटेर वन विनाश गर्ने कार्यमा जनप्रतिनिधिको समेत संग्लनता रहेको स्थानीयले आशंका गरेका छन्।

सुदूरपश्चिम प्रदेश गौरवको आयोजना अन्र्तगत पर्ने सडकको कालोपत्र यो वर्ष नवदुर्गा गाँउपालिका–१ मष्टभगवती मन्दिरसम्म पुग्ने जनाइएको छ। स्रोतका अनुसार वन मन्त्रालयको स्वीकृतिविना सडक खण्डमा धमाधम रूखहरू कटान भइरहेका हुन। 

प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको सडकमा वन फडानी गरेर राखेको अवस्थामा करिब ३५ सय घनफिट काठ काटिएको पाइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। जसमध्ये पलेथर सामुदायिक वनमा ३१ र सल्लेरी सामुदायिक वनमा १६ रुख काटेको पाइएको हो। 

वन फडानी र काठ तस्करीमा स्थानीय उपभोक्ता, ठेकेदार र सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि लगायतको मिलेमतो रहेको स्थानीयको आरोप छ। 

‘पोखरादेखि नवदुर्गासम्म १० किलोमिटर सडकमा कालोपत्रेको काम चलिरहेको छ। तर, सडक भन्दाबाहिर अवैध रूखहरू कटान भइरहेको छ,’ स्रोतले भन्यो, ‘आफ्नो स्वार्थ परिपूर्ति गर्नका लागि सडकका नाममा रूख कटान भइरहेको छ। सरोकारवाला सबैको मिलेमतो रहेको छ। यो घटना बाहिर नल्याउनको लागि भित्रभित्र आर्थिक चलखेल समेत गरिदैँ छ।’

उता नवदुर्गा गाउँपालिका–१ का वडा अध्यक्ष भीमबहादुर बोहराले आफूलाई सडकमा अवैध रूखहरू काटिएको बारेमा जानकारी नभएको बताए। सडक निर्माण ठप्प रहेको अवस्थामा समेत उनले निर्माणको काम चलिरहेको जानकारी दिए। सामुदायिक वनका अध्यक्षहरूले पुर्जि सिष्टमका आधारमा रुख काटेको सुनेको उनले बताए। 

यो सडक निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा नै ठेक्का सम्झौता भइसकेको छ भने ढुङ्गाडसम्मको ट्याक खोल्ने कार्य आर्थिक वर्ष २०७५/०७६ मै सम्पन्न भएको हो। केएस कन्ट्रक्सन निर्माण कम्पनीले यो सडक खण्डमा काम समेत गरिरहेको छ।

रुख सामुदायिक वनले काटेको हो : पूर्वाधार कार्यालय
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय डडेल्धुराले भने अहिले सडक निर्माण कार्य अहिले ठप्प रहेको र केही दिनमा पुनः सञ्चालन गरिने जनाएको छ। सडक निर्माणमा आफूहरूले रूख नकाटेर सामुदायिक वनले काटेको पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख इन्जिनियर रामचन्द्र खत्रीले जानकारी दिए।

‘ठेक्का हुनुभन्दा अगाडि नै कतिजति रूख काटिन्छन् भनेर रिपोर्ट बनाउदै थियौँ। सङ्घमा  वनको कानुन नबनेपछि टूयूआर प्रस्तुत गर्नेमा दुविधा भयो। टूयूआर प्रस्तुत गर्न नेपाल सरकारले रोकेको थियो,’ उनले भने, ‘गत असारमा संङ्घीय सरकारले वन ऐन स्विकृत गरेपछि प्रदेश सरकारले नियम कानुन बनाउने भन्ने अधिकार पायो। प्रदेश सरकारले अहिले असोजमा अध्यादेश जारी गरेको छ। हाम्रो ‘टियूआर’ मन्त्रालयमा पेश भइसकेको छ। ‘टियूआर’ स्विकृत भएपछि बल्ल थप काम अगाडि बढ्छ।’

डिभिजन वन कार्यालय भन्छ, ‘टेण्डरको बारेमा जानकारी छैन’

रूख कटानको खबर आउनासाथ आफुले कारवाही थालेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताए।  उनले काठको नाप लिने काम सकिएको र बरामद गरिएका काठ सामुदायिक वनका अध्यक्षलाई जिम्मा लगाइएको जानकारी दिए।

‘वन मन्त्रालय र प्रदेशको भौतिक मन्त्रालयलाई जानकारी गराएको छु। हामीहरूको अवैध रूख कटानीमा मिलेमतो छैन। हामीहरूले काम रोकेका छौँ,’ उनले भने, ‘यो सरकारी टेण्डर हो। रूख कटानका लागि स्वीकृति पाइसक्यो भन्ने कुरा भएकोले म थप बुझ्दै छु।’

टेण्डरको बारेमा आफुहरूलाई भौतिक पूर्वाधार मन्त्रालयले पनि जानकारी नगराएको उनको भनाई छ। 

‘भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले उद्धघाटन गरेको भन्ने सुनेको थिए। यो प्रतिनिधि घटना हो। यस्ता घटना बारम्बार दोहोरो रूपमा भइरहेका हुन्छन्,’ उनले भने, ‘वन मन्त्रालय र भौतिक मन्त्रालय बसेर समस्या समाधान नगरेसम्म केही हुदैन्।’

कमेन्ट लोड गर्नुस