सुदूर नेपाललाई विश्वसँग जोड्दै

चम्कियो सीतारामको फूलखेती : १३ क्विन्टल बिक्री, खेती विस्तार गर्ने तयारी

२०८३ कार्तिक २८, १२:४५ खबर संवाददाता

धनगढी: प्रहरी अधिकृत बन्ने सपना बोकेर अघि बढेका कैलालीको टीकापुर नगरपालिका–१, बनगाउँका सीताराम चौधरी अहिले पुष्प व्यवसायमा आफ्नो भविष्य खोजिरहेका छन्। मेहनत र लगनशीलताले फूलखेतीमा पहिचान बनाउँदै आएका चौधरीले यसवर्ष करिब १३ क्विन्टल फूल बिक्री गर्न सफल भएका छन्। आफ्नो व्यवसायबारे प्रकाशित समाचारले बजार विस्तारमा सहयोग पुर्‍याएपछि उनी थप उत्साहित भएका छन्।

केही समयअघि उनको पुष्पखेती र व्यावसायिक यात्राबारे प्रकाशित समाचारपछि ग्राहकको आकर्षण बढेको र फूल बिक्री गर्न सहज भएको चौधरीले बताएका छन्। समाचारमार्फत आफ्नो व्यवसायले थप चिनारी पाएको भन्दै उनले खुसी व्यक्त गरेका छन्।

करिब एक दशकदेखि पुष्प व्यवसायमा सक्रिय चौधरीले १४ देखि १५ कट्ठा जमिनमा सयपत्री र मखमली फूलखेती गर्दै आएका छन्। विशेषगरी तिहारलाई लक्षित गरी फूल उत्पादन गर्दै आएका उनले आफ्नै अध्ययन, अनुसन्धान र अनुभवका आधारमा व्यवसायलाई निरन्तरता दिइरहेका छन्।

यसवर्ष करिब १३ क्विन्टल फूल बिक्री गर्न सफल भएपछि चौधरीले आगामी दिनमा खेतीको क्षेत्रफल बढाउने योजना बनाएका छन्। फूलखेतीमा मेहनत र लगनशीलता आवश्यक पर्ने भए पनि उचित बजार व्यवस्थापन र प्रचारप्रसार हुन सके किसानले राम्रो आम्दानी गर्न सक्ने उनको अनुभव छ।

चौधरीको व्यावसायिक यात्रा भने पुष्पखेतीबाट सुरु भएको होइन। उनले सुरुमा फोटोग्राफी तथा भिडियोग्राफीलाई व्यवसाय बनाएका थिए। उनी थारू भाषाको चलचित्र ‘कुहिरा’का निर्मातासमेत हुन्। सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि सक्रिय चौधरीले राष्ट्रिय माध्यमिक विद्यालय, टीकापुर–५ मनिकापुरको अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसकेका छन्।

कुनै समय प्रहरी अधिकृत बन्ने सपना देखेका चौधरी परिस्थितिका कारण विभिन्न क्षेत्रमा संलग्न हुँदै अन्ततः पुष्प व्यवसायमा स्थापित भएका हुन्। अहिले फूलखेतीबाट प्राप्त सफलताले उनलाई थप मेहनत गर्न प्रेरित गरेको छ।

कमेन्ट लोड गर्नुस