सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरा–बेलापुर सडकखण्ड फलोअप: पुर्जी जनताको नाममा, काठ ठेकेदारले बेच्ने !

२०७७ मंसिर १६, ०६:०१ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको पोखरा–बेलापुर कालोपत्रे सडक निर्माण भइरहेको छ।

तर, यहि सडक निर्माणको मौका छोपेर काठ तस्करले नवदुर्गा गाउँपालिका–१ स्थित पलेथ्थर र सल्लेरी सामुदायिक वनभित्र सल्लाका रूखहरू सखाप पारेका छन्।

वन फडानी भएको सूचनाका आधारमा स्थलगत अनुगमनमा पुगेको डिभिजन वन कार्यालय डडेल्धुराको टोलीले पलेथ्थर सामुदायिक वनमा ३१ र सल्लेरी सामुदायिक वनमा १६ रुख काटेको पाइएको जनाएको छ। वन फडानी गरेर राखेको अवस्थामा करिब ३५ सय घनफिट काठ काटिएको पाइएको वन कार्यालयले जनाएको छ।

रुख कटानको लागि डिभिजन कार्यालयले इजाजत भने दिएको थिएन। सामुदायिक वनले स्थानीयको प्रयोजनका लागि रुख काट्न अनुमति दिएको डिभिजन वन कार्यालयका रेन्जर केशव पौडेलले जानकारी दिए । उनले ठूलो संख्यामा  रुख काट्न डिभिजन वनलाई जानकारी गराउनुपर्नेमा सामुदायिक वनले जानकारी नदिएको बताए।

उपभोक्ताको मागअनुसार नै रुख कटान गरिएको पलेथ्थर सामुदायिक वनका अध्यक्ष खडकबहादुर बुढाऐरले जानकारी दिए।

‘कालोपत्रे सडक रोके मात्र रुख बाँच्छन्। १० मिटर सडक पिच गर्दा धेरै रुख काटिन्छन्। तर, हामीले तीन मिटरभित्रका रुख मात्रै काटेका छौँ,’ उनले भने, ‘प्रदेश सरकारको आयोजनाअन्तर्गतका सडक भएकोले स्थानीयलाई घाँस, दाउरा र काठ प्रयोजनका लागि पुर्जी दिएर रुख काट्न दिएका हौँ।’

स्थानीयवासीले भने उपभोक्ता समितिका केही पदाधिकारी, आवादी क्षेत्रका रुख काट्न अनुमति लिने व्यक्ति र ठेकेदारको मिलेमतोमा सामुदायिक वनका रुख सखाप पारिएको आरोप लगाएका छन्। स्रोतका अनुसार स्थानीयको नाममा पुर्जी काटेर ठेकेदारले बिक्री गर्न खोजेका छन्।

‘अगाडि-अगाडि रुख कटान भइरहेका छन्। पछाडिबाट सडक निर्माण भइरहेको छ,’ स्रोतले भन्यो, ‘ठेकेदारले काठ बिक्रीका लागि गाडीको खोजीसमेत गरेका थिए। सरोकारवाला सबैको मिलेमतो रहेको छ। पुर्जीका नाममा सोझा जनता फसाउन खोजिँदै छ।’

नवदुर्गा गाउँपालिका-१ का वडाअध्यक्ष भीमबहादुर बोहराले रुख कटानको बारेमा जानकारी नपाएको बताउनुले झन आशंका उब्जिएको छ।

पोखरा-बेलापुर बैतडीको ढुङ्गाड र बझाङको देउरासम्म निर्माण हुन लागेको यो सडक खण्डमा सैयौँ सल्लाका रुख वातावरण परीक्षण तथा प्रभाव मूल्यांकनविना नै कटान गर्ने कार्यमा जनप्रतिनिधिको समेत संग्लनता रहेको स्थानीयले आशंका गरेका छन्। 

यो सडक निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा नै ठेक्का सम्झौता भइसकेको छ भने ढुङ्गाडसम्मको ट्रयाक खोल्ने कार्य आर्थिक वर्ष २०७५/०७६ मै सम्पन्न भएको हो। केएस कन्ट्रक्सन निर्माण कम्पनीले यो सडकखण्डमा काम समेत गरिरहेको छ।

सडक निर्माण कार्य अहिले ठप्प रहेको र केही दिनमा पुनः सञ्चालन गरिने भौतिकपूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय डडेल्धुराले जनाएको छ। सडक निर्माणमा आफूहरूले नभई सामुदायिक वनले रुख काटेको पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख इञ्जिनियर रामचन्द्र खत्रीले जानकारी दिए।

बरामद काठ किन लगाइयो सामुदायिक वनलाई जिम्मा ? 

प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको सडकमा वन फडानी गरेर राखेको अवस्थामा करिब ३५ सय घनफिट काठ भेटिएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए। उनले काठको नाप लिने काम सकिएको र बरामद गरिएको काठ सामुदायिक वनका अध्यक्षलाई जिम्मा लगाइएको जानकारी दिए।

बरामद गरिएको काठ सामुदायिक वनका अध्यक्षलाई जिम्मा लगाउनु नियमविपरीत भएको सरोकारवालाको भनाइ छ। तर, डिभिजन वन कार्यालय प्रमुख आचार्यले नीतिनियम, ऐनअनुसार जिम्मा लगाइएको बताए। 

‘सामुदायिक वनका अध्यक्ष भागेर जाने कुरा हुँदैन। सिङ्गो समिति हुन्छ। अधिकांश ठाउँमा हामीहरूले सामुदायिक वनका अध्यक्षलाई नै जिम्मा लगाउँछौँ,’ उनले भने, ‘ढुवानी गरेर ल्याउन समस्या हुने भएकोले त्यही जिम्मा लगाउँछौँ । अदालतमा मुद्दा चलिसकेपछि लिलाम हुँदा त्यही ठाउँबाट उठाउँछौँ।

सम्बन्धित समाचार :
पोखरा–बेलापुर सडक विस्तारका नाममा वन विनास, रोकियो काम
 

कमेन्ट लोड गर्नुस