सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अवैध रुपमा भएको वन फडानीबारे डिभिजन वन कार्यालयले थाल्यो अनुसन्धान

२०७७ मंसिर १७, ०७:०४ खबर संवाददाता

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको योजना अन्र्तगत कञ्चनपुरको दैजीदेखि डडेल्धुरा र बैतडी हुँदै बझाङको देउरा जोडने राजमार्गको डडेल्धुरामा पर्ने पोखरा–बेलापुर सडक खण्डमा सडक निर्माणका नाममा अन्धाधुन्ध सल्लाका रुख काटिएको सन्दर्भमा डिभिजन वन कार्यालय डडेल्धुराले अनुसन्धान सुरु गरेको छ। 

सडक निर्माणको निहुँमा काठ तस्करहरुले डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ को पलेथ्थर र सल्लेरी सामुदायिक वनक्षेत्रमा हरिया सल्लाका रूखहरू काटेर गोलिया बनाएका छन्। 

सडक निर्माणका नाममा सामुदायिक वन फडानी भएको झण्डै ३ हप्तापछि स्थलगत अनुगमनमा पुगेको डिभिजन वन कार्यालय डडेल्धुराको टोलीले पलेथ्थर सामुदायिक वनमा ३१ र सल्लेरी सामुदायिक वनमा १६ सल्लाका रुख काटेको पाइएको जनाएको छ।

वन फडानी गरेर गोलिया बनाई राखेको अवस्थामा करिब ३५ सय क्युविक फिट काठ अवैैध रुपमा काटिएको पाइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।

सामुदायिक वनहरुले रूख कटानको लागि डिभिजन कार्यालय डडेल्धुराबाट इजाजत नलिएको र सडक निर्माणका लागि वातावरणीय प्रभाव मुल्यांकन कार्य प्रक्रियामै रहेका बेला अन्धाधुन्ध किसिमले रुख काटिएको सन्दर्भमा सुक्ष्म किसिमले अनुसन्धान भइरहेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए। 

तर सामुदायिक वनले माग गरे अनुसार स्थानीय उपभोक्ताहरुको प्रयोजनका लागि रूख काट्न अनुमति दिएको डिभिजन वन कार्यालय डडेल्धुराका रेन्जर केशव पौडेलले जानकारी दिए। घरायसी प्रयोजनका लागि काठ काटन अनुमति दिए पनि ठुलो मात्रामा रुख काटिएकाले सो विषयमा अनुसन्धान थालिएको उनले बताए। 

डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरादेखि नवदुर्गा गाउँपालिकाको बेलापुरसम्म १० किमि सडक कालोपत्रे गर्ने काम चलिरहेको र नवदुर्गा गाउँपालिका–१ मष्टभगवती मन्दिर नजिकै सामुदायीक वन क्षेत्रमा रहेका रूखहरू सडक क्षेत्रमा परेकाले खेर जानुभन्दा उपभोक्ताको माग अनुसार रूख कटान गरिएको पलेथ्थर सामुदायिक वनका अध्यक्ष खडकबहादुर बुढाऐरले जानकारी दिए।

‘सडकको काम रोके मात्र रूखहरू बाँच्छन्। १० मिटर सडक पिच गर्दा धेरै रूखहरू काटिन्छन् । तर, हामीले तीन मिटर भित्रका रूखहरू मात्रै काटेका छौँ,’ उनले भने, ‘प्रदेश सरकारको आयोजना अन्र्तगतका सडक भएकोले यहाँका स्थानीयलाई दाउरा र काठ प्रयोजनका लागि पुर्जी दिएर रूख काट्न दिएका हौँ। सडकले आफै रूखहरू जाने भएकोले वनलाई जानकारी गराएनौँ।’ 

डिभिजन वन कार्यालयलाई जानकारी नगराई सामुदायीक वनले रुख काटन पाउने कानूनी प्रावधान भने छैन। उपभोक्ता समितिका केहि पधाधिकारी, आवादी क्षेत्रका रूख काट्न अनुमति लिने व्यक्तिहरू र ठेकेदारको मिलेमतोमा अवैध किसिमले सामुदायिक वनका रूखहरू सखाप पारिएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका छन्।

सम्वद्ध स्रोतका अनुसार स्थानीयको नाममा पुर्जी काटेर ठेकेदारले काठ बिक्री गर्ने योजना अनुरुप अन्धाधुन्ध किसिमले सल्लाका रुख काटिएका हुन। ‘ठेकेदारले काठ बिक्रिका लागि गाडी समेत खोजी सकेका थिए। तर अहिले आएर एकाएक घरायसी काठ पुर्जीका नाममा सोझा–साझा उपभोक्ताहरुलाई फसाउन खोजिदै छ।’ 

सडक निर्माणका क्रममा सैयौं सल्लाका रूखहरू वातावरण परीक्षण तथा प्रभाव मूल्यांकन नगरेर काटने र कानून विपरित वन विनाश गर्ने कार्यमा स्थानीय तहदेखि प्रदेश सरकारका जनप्रतिनिधिको समेत संग्लनता रहेको स्थानीयले आशंका गरेका छन्।

सो सडक निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा ठेक्का सम्झौता भइसकेको र ढुङ्गाड सम्मको ट्रयाक खोल्ने कार्य आर्थिक वर्ष २०७५÷०७६ मा सम्पन्न भएको प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ। 

केएस कन्ट्रक्सन निर्माण कम्पनीले यो सडक खण्डमा कालोपत्रे गर्ने काम गरिरहेको छ। सडक निर्माणका क्रममा आफूहरूले रूख नकाटेर सामुदायिक वनले काटेको पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख इन्जिनियर रामचन्द्र खत्रीले जानकारी दिए।

सडक निर्माणका क्रममा झण्डै एक महिना अघि काठ काटिएको बारेमा सूचना प्राप्त भए पनि राजनीतिक दबाबका कारण कारवाही प्रकृया अघि बढाउन नसकिएको डिभिजन वन कार्यालय डडेल्धुराका अधिकारीहरु स्वीकार गर्छन्। ‘प्रदेश सरकारको वन मन्त्रालयलाई पटक पटक यस विषयमा रिर्पोटिङ गरिरहेका छौ,’ डिभिजनल वन अधिकृत आचार्यले भने, ‘धनगढीस्थित प्रदेश वन मन्त्रालयमा पुगेर पनि यस विषयमा जानकारी गराएका छौ।’ 

उनले सडक निर्माणका क्रममा थुपै्र स्थानमा यस्ता समस्या आउन थालेकाले प्रदेश सरकारले उचित कानून बनाउन आवश्यक रहेको बताए।

उसो त पछिल्लो समय डिभिजन वन कार्यालय डडेल्धुराले वन विनासका सन्दर्भमा परेका उजुरी उपर कुनै सुनवाई गर्न नचाहेको उपभोक्ताहरुको गुनासो छ। परशुराम नगरपालिका–३ स्थित समैजी सामुदायिक वनमा सयौं सालका रुखहरु उपभोक्ता समितिकै अगुवाईमा घेरा लगाएर सुकाउने काम भएका सन्दर्भमा पटक पटक लिखित उजुरी गर्दा पनि डिभिजन वन कार्यालयले वास्ता नगरेको उपभोक्ताहरुको गुनासो छ। 

सम्बन्धित समाचार :
पोखरा–बेलापुर सडक विस्तारका नाममा वन विनास, रोकियो काम
पोखरा–बेलापुर सडकखण्ड फलोअप: पुर्जी जनताको नाममा, काठ ठेकेदारले बेच्ने !

 

कमेन्ट लोड गर्नुस