सुदूर नेपाललाई विश्वसँग जोड्दै

द्वन्द्वले थलिएको वासुलिङ्ग सुुगर मिल पुनर्जीवनको प्रस्ताव लगानी बोर्डमा

२०७७ मंसिर ८, ०१:२० जनक विष्ट

धनगढीः सशस्त्र द्वन्द्वताका बन्द भएको कैलालीको वासुलिङ्ग सुगर मिललाई पुनः सञ्चालन गर्न लगानी बोर्डमा प्रस्ताव पेश गरिएको छ । 

झण्डै १७ वर्षदेखि बन्द भएको लम्कीचुहा नगरपालिका १० स्थित रहेको सुगर मिल पुनः सञ्चालनका लागि लगानी बोर्डमा पेश गरिएको प्रस्ताव स्वीकृत हुने चरणमा रहेको बताइएको छ । 

वासुलिङ्ग मिलका कार्यकारी अधिकृत डबल शाहले पुनः सञ्चालन गर्न लगानी बोर्डमा ६ महिना पहिले प्रस्ताव पेश गरिएको जानकारी दिए ।

‘हामीले लगानी बोर्डमा मिल पुनः सञ्चालन गर्न स्वीकृतीका लागि प्रस्ताव पेश गरेका छौँ,’ शाहले दिनेश खबरसँग भने, ‘प्रस्ताव स्वीकृत हुने चरणमा रहेको छ । सञ्चालनका लागि हामीले आवश्यक पर्ने आन्तरिक तयारी गरिसकेका छौँ ।’

१० वर्षे माओवादी सशस्त्र द्वन्द्वको चेपुवामा परेर २०६१ सालमा बन्द भएको थियो । त्यति बेला मिल पुनः सञ्चालन भएपनि एक वर्षपछि फेरी बन्द भयो ।

सो मिल २०५१ सालमा वासुलिङ्ग सुुगर एण्ड जनरल इन्डस्ट्री लिमिटेडको नामले दर्ता भई २०५४ देखि नियमित सञ्चालन गरिएको थियो । मिलका सञ्चालक अरुण चन्दलाई २०६२ सालमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण नै गरेको थियो । 

त्यसयता राज्य पक्षबाट सहयोग नपाउँदा मिल पुनः सञ्चालनका लागि प्रक्रिया थाल्न नसकिएको बताइएको छ । 

तर पछिल्लो पटक पेश गरेको प्रस्ताव लगानी बोर्डबाट स्वीकृत भएमा विदेशी लगानी समेत भित्र्याउन पहल थालिएको मिलका कार्यकारी अधिकृत शाह बताउँछन् ।

‘प्रस्ताव स्वीकृत भए विदेशी लगानी भित्र्याउने भन्ने हाम्रो योजना छ,’ शाहले भने, ‘त्यसका लागि आवश्यक पर्ने प्रक्रिया पनि थाल्छौँ ।’

तत्कालीन समयमा कृषि विकास बैंक, नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष र नेपाल बैंक लिमिटेडको ५७ करोड २७ लाख २८ हजार रुपैयाँ ऋण र सञ्चालकको २५ करोड ६४ लाख रुपैयाँ समेत गरी  ८२ करोड ८१ लाख रुपैयाँ मिलमा लगानी गरिएको थियो । 

सोही मिलमा त्यसक्षेत्रका सयौँ स्थानीयले रोजगारी पाएका थिए । तर मिल नै बन्द भएपछि स्थानीयले रोजगारी गुमाए भने किसानले समेत उखु लगाउन छाडेका छन् । 

तर वासुलिङ्ग  चिनी मिल पुनः सञ्चालन भएमा फेरी स्थानीयले रोजगारीका पाउने अपेक्षा गरिएको छ । ‘मिल पुनः सञ्चालन भए यहाँका गरिब तथा विपन्नलाई ठूलो राहत हुन्छ,’ स्थानीय किसान समेत रहेका लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हर्कबहादुर कठरिया भन्छन्, ‘किसानहरु बन्द भएको उखु खेती समेत गर्न थाल्छन् । फेरी विगतमा जस्तै हजारौँले रोजगारी पाउँछन् ।’

मिल बन्द भएपछि मारमा परेका स्थानीय उखु किसानले मात्र झण्डै ३ करोड पाउन बाँकी रहेको छ । मिल सञ्चालन गर्ने वातावरण मात्रै बने केही समयमा किसानको पैसा भुक्तानी गर्न सकिने मिल सञ्चालनको दाबी छ ।

सो मिलको स्वामित्वमा ५२ विघा जमिन रहेको छ । मिल बन्द भएपछि मिलको स्वामित्वमा रहेको जमिन २५ जना कर्मचारीले खेतीपाती गरि गुजारा चलाउँदै आएका छन् । सँगै बन्द भएको मिलको रेखदेख पनि उनीहरुले नै गर्दै आएका छन् ।

२०६९ सालमा मुलुकको १० वटा रुग्ण उद्योगको सुचीमा परेपछि सो मिलले रुग्ण उद्योगको रुपमा मान्यता पाएको थियो । सोही बमोजिम सरकारले बैंकको व्याज मिनाहा गराई पुनर्कर्जा दिएर पुनः सञ्चालनमा ल्याउन सकिने व्यवस्था अनुसार अन्य प्रक्रिया अगाडि बढाइएको हो ।  


 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस