धनगढीमा हुने सिप मेलामा ८८ स्थानीय तहका ११ सयले तालिम पाउने
धनगढीः धनगढीमा हुने सिप तथा रोजगार मेलामा एक हजार एक सय २२ जनालाई तालिम दिने लक्ष्य राखिएको छ।
माघ २१ गतेबाट सुरु हुने मेलामा सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका १८ देखि ४० वर्षसम्मका युवाले भाग लिन पाउने छन्। धनगढी उपमहानगरपालिकाको आयोजना तथा विभिन्न सरकारी तथा विकास साझेदार संघ संस्थाको सहकार्यमा मेला आयोजना हुने भएको हो। माघ २१ गते सुरु हुने मेला फागुन मसान्तसम्म चल्नेछ। सिप तथा रोजगार मेलाबाट सिप सिक्न इच्छुक युवाले तालिमका लागि अनलाइन तथा नगरपालिका मार्फत फाराम भर्न पाउने छन्।
सुदूरपश्चिममा ८८ पालिकाका तथा धनगढीका १९ वटै वडा कार्यालयमा तालिम लिन आवेदन बुझाउन सकिने धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए। ‘धनगढीमा हुने सिप तथा रोजगार मेलामा एक हजार एक सय २२ जना युवाले विभिन्न सिप सिक्न पाउने भएका छन्। विभिन्न ८ क्षेत्रको २९ विधामा तालिम प्रदान गरिने भएको छ,’ उनले भने, ‘अहिले आवेदन सङ्कलन गर्ने काम भइरहेको छ।’
धनगढी उपमहानगरपालिकाको आयोजना तथा विभिन्न सरकारी तथा विकास साझेदार संघ संस्थासँगको सहकार्यमा आयोजना हुने मेला माघ २१ गतेबाट सुरु भई फागुन मसान्तसम्म चल्नेछ। मेलामा अटोमोबाइल्सतर्फ विद्युतीय कार मार्मतमा २५ जना, मोटरसाइकल र स्कुटर मर्मत तालिमका लागि ४४ जनाको कोटा तोकिएको छ। यस्तै निर्माण क्षेत्र अन्तर्गत डकर्मी, टायल तथा मार्बल फिक्स्चरमा समान ४४/४४ जना, फर्निचर र विल्डिङ पेन्टरमा समान २५/२५ जना र ४४ जनालाई प्लम्बिङ तालिम दिइने छ।
मेलामा अतिथि सत्कार क्षेत्र अन्तर्गत कफि बारिस्ता, फास्टफूड, बेकरी, वेटर तथा रिसेप्सनिष्ट÷फ्रन्ट डेस्कका लागि समान ४४/४४ जनालाई तालिम दिइने महराले बताए। उनले भने, ‘तालिममा सहभागी हुन इच्छुक व्यक्तिले अनलाइनबाट सिधै धनगढी उपमहानगरपालिकाको रोजगार शाखामा आवेदन बुझाउन सक्ने छन्। अनलाइनमा पहुँच नभएकाहरूले आ–आफ्नो स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन बुझाउनुपर्ने छ।’
सिप तथा रोजगार मेलामा इलेक्ट्रिकल र मेकानिकल क्षेत्रमा वेल्डिङका लागि २५ जना, रेफ्रिजरेसन र एसी प्राविधिक, इलेक्ट्रोनिक्स तथा विल्डिङ वायरिङका लागि समान ४४/४४ जनालाई तालिम दिइने छ। सूचना प्रविधि क्षेत्रको डिजिटल मार्केटिङ, हार्डवेयर/नेटवर्किङ तथा ग्राफिक डिजाइनिङमा ४४ जनाका दरले तालिम दिइने संयोजक महराले बताए।
सिप तथा रोजगार मेलामा ४४ जनालाई इसिडी शिक्षक तालिम, पुरोहित तालिम २५ जना, लेखा व्यवस्थापन ४४ जना, सौन्दर्य क्षेत्र अन्तर्गत एडभान्स ब्यूटिसियन ४४ जना, हेयर कटिङ स्टाइलिङ ४५ जना र नाई तालिम २५ जनालाई दिइने छ। यस्तै, आर्ट एण्ड क्राफ्ट डिजाइनिङ अन्तर्गत ४४ जनालाई फेसन डिजाइनिङ, ६६ जनालाई सांस्कृतिक पोसाक निर्माण तालिम तथा २५ जनालाई बेतबाँसका सामग्री बनाउने तालिम दिइने महराले बताए। उनले भने, ‘तालिमका सहभागीहरूको सिप परीक्षण र अभिमुखीकरण पश्चात् दुई दिने रोजगार मेला लगाएर रोजगार दाता मार्फत सिधै रोजगारीमा जोडिने अवसर समेत दिनेछ।’
सिप तथा रोजगार मेला धनगढी उपमहानगरपालिका–१ खुला मञ्चमा लाग्ने छ। मेलाको तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ।