सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका केशवराज यसरी जमे राजनीतिसँगै व्यावसायिक कृषिमा

२०८१ पुष २६, ०६:३० नारायण अवस्थी

धनगढीः डडेल्धुराको परशुराम नगरपालिका–१ सलोनका केशवराज र कृष्णदत्त अवस्थीले व्यावसायिक आलुखेती गर्दै आएका छन्।

२०७३ सालदेखि आलुखेती गर्दै आएका अवस्थी दाजुभाइले यो वर्ष २३ रोपनी जग्गामा आलुखेती गरेका छन्। अवस्थी दाजुभाइले तरकारी खेतीबाट यो वर्ष १० लाख बचत गर्ने लक्ष्य राखेका छन्। उनीहरूले यो वर्ष दुई सय क्वीन्टल बढी आलु उत्पादन हुने अनुमान गरेका छन्। गत वर्षसम्म ६/६ रोपनीमा आलुखेती गर्दै आएका अवस्थी दाजुभाइले यो वर्षबाट आलुखेतीको क्षेत्रफल बढाएका छन्।

डडेल्धुराको आलु सुपरजोन अन्तर्गत पर्ने सलोन गाउँका अन्य किसान परिवार पनि व्यावसायिक आलुखेतीमा लागेका छन्। अवस्थी दाजुभाइले यो वर्ष २३ रोपनीमा कार्डिनल जातको रातो आलु लगाएका छन्। यो वर्ष दुई सय क्वीन्टलभन्दा बढी आलु उत्पादन हुने अनुमान रहेको केशवराज अवस्थीले बताए। ‘गत वर्षसम्म ६/६ रोपनीमा आलु लगाउँदै आएकोमा यो वर्ष दुबै भाइको २३ रोपनीमा आलुखेती विस्तार भएको छ। गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा आलु लगाएका छौँ’, उनले भने, ‘यो वर्ष दुई सय क्वीन्टलभन्दा बढी आलु फल्छ होला।’ 
खरिदकर्ता बारीमै पुग्छन् 
आलुखेतीको क्षेत्रफल बढाउने योजना रहेको बताउने अवस्थीले खेती विस्तार गर्न थप जग्गा खोजिसकेका छन्। अर्को वर्षबाट थप ६ रोपनीमा आलुखेती गर्ने योजना रहेको केशवराजले सुनाए। यो वर्ष कात्तिकमा रोपेको आलु माघ तेस्रो हप्तामा खन्न तयार हुनेछ। बिउको रुपमा प्रयोग हुने आलु चिस्यान केन्द्रमा भण्डार गरी दोब्बर मूल्यमा बिक्री हुने गरेको अवस्थीले बताए।

‘हामीले लगाएको आलु अर्को वर्ष बिउको रुपमा प्रयोग हुन्छ। चिस्यान केन्द्रमा राखेमा बिउको मूल्य अहिलेकोभन्दा दोब्बर हुन्छ’, उनले भने, ‘दुई वर्ष अगाडिसम्म उत्पादन भएको आलु बिक्री गर्न समस्या हुन्थ्यो तर अहिले खरिदकर्ता बारीमै आइपुग्छ्न्। अहिले बजारको समस्या छैन।’ 
राजनीतिसँगै कृषिमा सक्रिय
राजनीतिमा समेत सक्रिय अवस्थी, नेकपा एमाले डडेल्धुरा जिल्लाको सचिवालय सदस्य हुन्। राजनीति गर्नेले उत्पादनसँग जोडिनुपर्ने उनको भनाइ छ। आलुखेतीबाट दुई भाइले १० लाख बचत हुने अनुमान गरेका छन्। जिल्लाको विभिन्न ठाउँमा जाँदा अवस्थीको कृषि कर्मको प्रसंशा हुने गरेको छ। सरकारी तहबाट बिउमा ५० प्रतिशत अनुदान मिलेको बताउने अवस्थीले कृषिमा सरकारको अपेक्षा अनुसार लगानी गर्न नसकेको बताए।

स्वदेशमै सम्भावना रहेको देखाउन सरकारले कृषिमा लगानी बढाउनुपर्ने अवस्थीको भनाइ छ। परशुराम नगरपालिकाले आलु उत्पादक किसानलाई कोल्ड स्टोरसम्मको ढुवानी र कोल्ड स्टोरको भाडामा ५० प्रतिशत अनुदान दिने गरेको छ। जोगबुडाको आलु कैलाली र कञ्चनपुरमा बिक्री हुने गरेको छ। आलु खरिद गर्न व्यापारीहरू किसानको बारीमै पुग्ने गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस