सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले धानको मूल्य तोक्यो, खरिद गर्ने सुरसार छैन, मारमा किसान

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक ६, १२:५२ कमल सावद

धनगढी : सरकारले मोटो धानको समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ७३५ निर्धारण गरेको छ ।

तर मूल्य तोक्ने र खरिद नगर्ने पूरानै कार्यशैलीले किसानहरु मारमा परेका छन् । किसानहरु आजभोलि गल्ला व्यापारीहरुलाई तोकिएको मूल्य भन्दा ७३५ रुपैँया कम अर्थात प्रति क्वीन्टल २ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

कृषिमै निर्भर किसान दैनिकी चलाउन भएपनि सस्तोमै धान बिक्रि गर्न बाध्य भएको कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १० का किसान किष्ण चौधरीले बताए । साढे १९ सय रुपैयाँ प्रति क्वीन्टलमा धान बिक्री गरेको बताए । उनले भने, ‘मैले १९ क्वीन्टल धान बिक्री गरे । प्रति क्वीन्टल १९ सय दिएको हो । बजारमा साढे १९ सय पनि दिन्छन् । तर गाउँ–घरमा यति पनि छैन् ।’

धान बिक्रीबाट आएको रकमले गहुँ खेती गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । मूल्य मात्र तोक्ने सरकारले धान सोझै खरिद नगर्दा कैलालीका किसान वर्षेनि मारमा पर्दै आएका हुन् । सरकारले धानको समर्थन मूल्य तोकेर किसानबाट धान खरिद गर्नेपर्ने माग उठ्दै आएको भएपनि सरकारबाट वेवास्ता हुँदा किसानहरु मारमा पर्दै आएका हुन् ।  व्यापारीहरुले सरकारले तोकेको मूल्य नदिएपछि किसानहरु सस्तोमै धान बिक्रि गर्नुपर्ने बाध्यता वर्षौदेखि चल्दै आएको बताएका छन् ।

तर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निर्धारित मूल्यमा धान खरिद नगर्ने मात्र नभएर व्यापारीले किसानबाट सस्तोमा खरिद गर्दा समेत वेवास्ता गर्ने गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ का किसान मानबहादुर चौधरीले प्रति क्वीन्टल धानको २ हजारमा बिक्री गर्दै आएको बताए । उनले भने, ‘गहुँ खेती र दशै–तिहारका लागि धान बिक्री गरेको हुँ । एक क्वीन्टलको २ हजार दिएका थिए । सरकारले धान खरिद गर्ने बिषयमा भने उनले जानकारी नभएको बताए । सरकारले वर्षेनि मूल्य नपाउने बेला धानको मूल्य निर्धारण गर्दै आएको छ । 

गल्ला व्यापारीहरुले माग नरहेकाले तोकिएको मूल्य दिन नसक्ने भन्दै जति सक्दो कम मूल्यमा खरिद गरी पछि बढी मूल्यमा बिक्रि गर्दै आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निर्धारित सरकारी दररेटमा पछि किसानबाट नभएर गल्ला व्यापारीबाट खरिद गर्दा किसान सधै मारमा पर्दै छन् ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीले चालु वर्षमा कैलालीमा ५५ हजार क्वीन्टल र कञ्चनपुरमा ५ हजार क्वीन्टल गरेर झण्डै ६० हजार क्वीन्टल  धान खरिद गर्ने लक्ष्य लिएको छ । 
तर अहिलेसम्म किसानले धान बिक्री गर्ने समय नभएको भन्दै किसाको धान ढिलो खरिद गर्ने उक्त कम्पनीले तिहारपछि व्यापारीबाट खरिद गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले व्यापारीबाट धान खरिद नगर्ने गरेको दावी गरे । ‘धन खरिद शुरु भएको छैन् । मंसिरबाट धान खरिद शुरु हुन्छ । कैलालीबाट बढी खरिद हुँदै आएको छ,’ उनले भने ।

कैलाली–कञ्चनपुरका गोदामहरुको क्षमता कम भएको भन्दै किसानको माग अनुसार खरिद गर्न नसकिने उनको भनाइ छ । गोदाम भाडामा लिनका लागि केन्द्रमा समेत पत्रचार भएको उनले जानकारी दिए । तर सरकारले मूल्य तोक्ने मात्र नभई किसानबाट धान खरिद गरी बिक्री वितरण गर्नुपर्ने माग गरिदै आएको छ ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस