धनगढी ४ को कार्यालयले भन्यो, राहतमा त्रुटीबस मृतकको नाम परेकोमा क्षमा चाहान्छौँ
धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को कार्यालयले राहत वितरण सम्बन्धी समाचारप्रती ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत बैशाखमा जारी गरिएको लकडाउनका बेला वितरण गरिएको राहतको तथ्यांक अध्यावधिक गर्दा त्रुटी भएको जनाएको हो।
वडाध्यक्ष दिपक थापाले मृतक व्यक्तिलाई समेत राहत वितरण गरिएको विषयमा प्राविधिक त्रुटीका कारण नाम र टोल फरक पर्न गएको उल्लेख गरेका छन्।
‘मृतक भनिएका व्यक्ति वडा नम्बर ४ साविकको महिमा हालको एकता टोलमा बस्दै आएका जिवितै भएपनि विवरण राख्दा शिवपुरी टोल परेकाले यसबाट सम्बन्धीत मृतकका परिवारलाई पर्न गएको असरप्रती क्षमा चाहान्छौँ।’ वडाध्यक्ष थापाले दिनेश खबरलाई पठाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘तथ्याङ्क अध्यावधिक बाहेक वितरणमा कुनै खालको अनियमितता नभएको, पारदर्शी रुपमा वितरण गरिएको आम वडाबासीलाई जानकारी गराउँदछौँ।’
यसअघि दिनेश खबरले सूचनाको हक प्रयोग गर्दै धनगढी उपमहानगरपालिकासँग राहत पाएका लाभग्राहीको विवरण माग गरेको थियो। उप–महानगरपालिकाले उपलब्ध गराएको सूचना अनुसार वडा नम्बर ४ को कार्यालयले शिवपुरी टोलका महादेव चौधरीले राहत बुझेको देखाएको छ।
जबकी चौधरीको पाँच वर्ष पहिले नै मृत्यु भईसकेको थियो। यस्तै टोलमा अस्थायी वा स्थायी रुपमा बसोबास नगर्नेहरुको नाम पनि राहत बुझेको सूचीमा राखिएपछि फर्जी सूची बनाईएको आशंका बढेको छ तर वडा कार्यालयले तथ्यांक अध्यावधिक गर्दा लाभग्राहीको नाम र टोल त्रुटीबस फरक परेको जनाएको छ।
सम्बन्धीत समाचार
धनगढीमा ५ वर्षअघि मृत्यु भएका व्यक्तिका नाममा राहत,अधिकांश लाभग्राही नक्कली