सुदूर नेपाललाई विश्वसँग जोड्दै

३१ वर्षमै सहसचिव बनिन् आरती न्यौपाने, निजामती सेवामा नयाँ इतिहास

२०८३ जेठ ७, ०१:१७ खबर संवाददाता

काठमाडौँः भक्तपुरकी आरती न्यौपानेले निजामती सेवामा नयाँ इतिहास रचेकी छिन्। ३१ वर्षको उमेरमै उनी खुला महिला प्रतिस्पर्धाबाट सहसचिव पदमा नाम निकाल्न सफल भएकी हुन्।
२०५१ साउन २० मा जन्मिएकी उनी ३१ वर्षकै उमेरमा सहसचिव बनेकी हुन्।

न्यौपानेले छोटो अवधिमै निजामती सेवाको विभिन्न तह पार गर्दै असाधारण उपलब्धि हासिल गरेकी छन्। उनी २०७५ सालमा शाखा अधिकृत बनेकी थिइन्। त्यसपछि २०७९ सालमा उपसचिव पदमा नाम निकाल्दै चर्चा कमाएकी उनले २०८३ सालमा सहसचिव पदमा समेत सफलता हासिल गरेकी हुन्।

कम उमेरमै लगातार उच्च प्रशासनिक तहमा सफलता हासिल गरेपछि न्यौपानेको उपलब्धिलाई निजामती सेवामा उदाहरणीय मानिएको छ । विशेषगरी खुला महिला प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल हुनु उनको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ।

आरतीले २०६९ सालमा कक्षा १२ तथा २०७३ सालमा स्नातक तह पूरा गरेकी हुन्। त्यसपछि उनी उच्च शिक्षाका लागि विदेश गएकी थिइन्। उनले जेनेवा विजनेस स्कुलबाट मास्टर्स इन इन्टरनेसनल म्यानेजमेन्ट गरेकी छन्।

उनको सफलतापछि सामाजिक सञ्जालमा बधाई तथा प्रशंसाको ओइरो लागेको छ। मेहनत, निरन्तर अध्ययन र आत्मविश्वासका कारण यो सफलता सम्भव भएको प्रतिक्रिया धेरैले दिएका छन्।

कमेन्ट लोड गर्नुस