‘ड्रोनका कारण झडप भएको भन्नु हास्यास्पद’: मेयर हमालद्वारा उच्चस्तरीय छानबिनको माग
धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा भएको झडप घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
बुधबार भिडिओ सन्देश जारी गर्दै मेयर हमालले आफ्नो टोलीले ड्रोन उडाएका कारण झडप भएको भन्ने प्रहरी प्रशासनको दाबीलाई ‘हास्यास्पद’ भन्दै खण्डन गरेका हुन्।
उनले घटनामा आफ्नो टोलीको कुनै संलग्नता नरहेको दाबी गर्दै झडप आफूहरू घटनास्थल पुग्नुभन्दा तीन दिनअघि नै सुरु भइसकेको बताए।
‘ड्रोन उडाएका कारण घटना भयो भन्नु सरासर गलत र भ्रामक सूचना हो,’ उनले भने, ‘प्रहरी प्रशासनले दिइरहेको सूचना या त गलत छ, या नियतवश तथ्य तोडमोड गरिएको छ।’
मेयर हमालका अनुसार जेठ २ गतेदेखि नै उक्त क्षेत्रमा विवाद सुरु भएको थियो। सोही क्रममा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङमाथि जेठ ३ गते कुटपिट भएको र घाइते अवस्थामा उपचारका लागि समेत जान नदिई घर तथा रासन कब्जा गरिएको उनले बताए।
उनले आफूहरूको टोली भने जेठ ५ गते मात्रै त्यहाँ पुगेको स्पष्ट पारे। टोली पुग्नुअघि नै हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र अन्य कर्मचारीमाथि आक्रमण भइसकेको उनको भनाइ छ।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली क्षेत्रको सीमा विवाद तथा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर मंगलबार दुई पक्षबीच झडप भएको थियो।
झडपमा ६ जना घाइते भएका थिए। घाइतेमध्ये वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनू कुँवर र नरबहादुर गुरुङलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ।
यता बाजुरा प्रहरीले भने यसअघि साम्य भइसकेको विवाद मेयर हमालको टोलीले ड्रोन उडाएर भिडिओ खिच्न थालेपछि पुनः चर्किएको दाबी गर्दै आएको छ। तर मेयर हमालले यसलाई प्रशासनको कमजोरी लुकाउने प्रयासका रूपमा टिप्पणी गरेका छन्।
उनका अनुसार ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत रानीसैन क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले टोली त्यहाँ पुगेको थियो।
मेयर हमालले घटनाका क्रममा पत्रकारहरूमाथि समेत दुर्व्यवहार भएको दाबी गरेका छन्। उनका अनुसार समाचार संकलन गर्न गएका पत्रकारहरूको ड्रोन फुटाइएको तथा क्यामरा खोसिएको थियो। प्रहरीकै पोसाकसमेत च्यातिएको अवस्था देखिएको उनले बताए।
झडपमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापा र प्रहरी सहायक हवल्दार महेश धामीसमेत घाइते भएका छन्। हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकाका करिब तीन सय स्थानीयको समूहले रानीसैनतर्फ जाँदै गरेको टोलीमाथि आक्रमण गरेको बताइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरी लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण गर्न थालेपछि हुम्लाका स्थानीयले उक्त भूमि आफ्नो भएको दाबी गर्दै अवरोध गर्दै आएका छन्।