सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ५ वर्षअघि मृत्यु भएका व्यक्तिका नाममा राहत,अधिकांश लाभग्राही नक्कली

२०७७ भदौ १८, ०१:२० जनक विष्ट

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को शिवपुरी टोलका महादेव चौधरीको २०७२ सालको जेठमा मृत्यु भईसकेको छ। तर गत बैशाखमा कोरोना भाईरसको नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको लकडाउनको समयमा वडा कार्यालयले वितरण गरेको राहत पाउनेको सूचीमा चौधरीको नाम समेत रहेको छ।

चौधरीको किर्ते औँठा छाप लगाउँदै वडा कार्यालयले राहतमा २० किलो चामल, दुई किलो दाल, एक किलो नून, डेढ लिटर तेल, तीन वटा साबुन र दुई किलो चिनी बुझेको देखाएको छ। महादेवीकी बुहारी कान्छी चौधरी र बालमती चौधरीले पनि लकडाउनमा राहत पाएका थिए। तर पाँच वर्ष पहिले नै मृत्यु भईसकेका ससुराले राहत बुझेको सुन्दा उनीहरु अच्चीमीत भएका छन्। ‘ससुरा बितेको पाँच वर्ष भईसक्यो। २०७२ साल जेठ २९ गते बित्नुभएको हो।

अहिले राहत पाउनेमा उहाँको नाम कसरी लेखियो।’ महादेवकी जेठी बुहारी कान्छीले भनिन्, ‘हामीले न ससुराको नाम टिपाएका थियौँ न त उहाँको नामबाट राहत नै लियौँ। अच्चम भयो।’ शिवपुरी टोलकै स्थानीय समेत रहेका व्यवसायी बलबहादुर चौधरीको नाम पनि राहत पाउनेको सूचीमा छ। अत्तरियामा आलमोनियको व्यवसाय सञ्चालन गर्दै आएका चौधरीले राहत बुझेको भन्दै हस्ताक्षर समेत गरेको देखिन्छ। उनकी पत्नी जानकीदेवी चौधरीको नाम पनि नाम बुझ्नेको सूचीमा छ।

 

तर चौधरी भने श्रीमतीले राहत नलिनु भन्दा समेत लिएको भएपनि आफूले भने कतै हस्ताक्षर नगरेको बताउँछन्। ‘श्रीमतीलाई राहत नलिनु भन्दा पनि सबैले लिईरहेको भन्दै लिएकी हुन्। तर मैले राहत बुझेको छैन्। कतै हस्ताक्षर पनि गरेको छैन्।’चौधरीले दिनेश खबरसँग भने, ‘खोई कसले हस्ताक्षर गर्यो मेरो नामबाट थाहा भएन।’ धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मै पर्ने शिवपुरी धामका माताहरु राधा गिरी, शंकर गिरी ‘क’, गोबिन्द गिरी, हिमाल गिरी, पार्वती गिरी ‘ख’, दत्त गिरीको नाम एन्डीपथ टोलका लाभग्राहीको सूचीमा राखिएको छ।

तर उनीहरुले ओम शान्ति टोलबाट पनि राहत बुझेको देखाईएको छ। रोचक कुरा के छ भने दुवैमा राहत बुझेको फर्जी हस्ताक्षर गरिएको छ। जबकी माताहरुले नै आफूलाई हस्ताक्षर गर्न नआउने स्वीकार गरेका छन्। ‘एक पटक राहत लिएका थियौँ। तर मैले कतै सही गरिन्।’ शिवपुरी धामकी माता राधा गिरीले भनिन्, ‘न मैले कतै औठा छाप लगाए। सही गर्न त आउँदैन्।’

 

वडा कार्यालयले एउटै व्यक्तिले फरक–फरक टोलबाट राहत बुझेको मात्र नभएर टोलमै नबस्ने मानिसहरुको नाम उल्लेख गर्दै राहत वितरण गरेको देखाएको छ। राहत पाउनेको सूचीमा पक्की घर भएका, धनगढीमै व्यापार व्यवसाय गर्ने, प्रशस्त जग्गा जमिन भएकाहरु पनि परेका छन्। तर वडा कार्यालयले राहत वितरण गर्दा आफैले छनौट गरेका टोल संयोजकसँग समेत समन्वय नगरेको पाईएको छ। वडा नम्बर ४ कै दक्षिणकाली टोलमा दुई सय १७ जनालाई राहत वितरण गरिएको सूची उपलब्ध गराईएको छ तर टोल संयोजकले भने पाँच जनाको नाम मात्र सिफारिस गरेको खुलेको छ।

दक्षिणकाली टोलकी संयोजक साबु कार्कीले टोलमा राहत दिनैपर्ने व्यक्ति धेरै नभएकाले पाँच जनाको मात्र सिफारिस गरेको बताईन्। उनले टोलमा डेरा गरी बस्दै आएका मजदुरहरुको नाम आफूले सिफारिस गरेको भएपनि यतिधेरै जनाले राहत पाएको देख्दा छक्क परेको सुनाईन्। ‘मैले पाँच जनाको मात्र सिफारिस गरेको थिए।’ उनले भनिन्, ‘तर वडा कार्यालयले यति धेरै जनालाई राहत वितरण गरेको थाहा पाईन्। उहाँहरुलाई सोध्दा डेरा गरी बस्ने मजदुर र विद्यार्थी हुन भन्नुहुन्छ।’

यता वडा कार्यालयले भने राहत वितरणमा कुनै किसिमको तलमाथि नभएको दावी गरेको छ। कतिपय हुनेखाने परिवारले समेत राहत पाएको कुरा स्वीकार गरेपनि सूची नै फर्जी भएको नभएको वडाध्यक्ष दिपक थापा दावी गर्छन्। उनले मृत्यु भएका व्यक्ति र राहत नै नलिएकाहरुको नाम पाउनेको सूचीमा नभएको बताउँदै भने, ‘मेरो अनुभवमा त्यस्तो भएको छ जस्तो लाग्दैन्।

आवश्यकता हेरेरै राहत वितरण गरेका हौँ।’ उनले राहत पाएका सबै लाभग्राहीको परिचय खुल्ने विवरण राखिएको दावी गरे। वडा नम्बर ४ को कार्यालयले भगवती टोल, शिवपुरी टोल, एकता टोल, दक्षिणकाली टोल, ओम शान्ति टोल, घरेलु टोल, उत्तरबेहडी टोल, एन्डीपथ र बेहडीका एक हजार एक सय २२ जनालाई लकडाउनमा राहत वितरण गरिएको देखाएको छ।

तर राहत पाएको सूचीमा रहेका सबै व्यक्ति स्थायी वा अस्थायी रुपमा वडा भित्रै बस्दै आएको देखिएको छैन्। वडा कार्यालयले फर्जी नाम राखेर वितरणमा समेत बदमासी गरेको आशंका गरिएको छ। यसअघि वडा नम्बर ४ को कार्यालयले राहतमा कुहिएको चामल वितरण गरेपछि बाटै विवाद भएको थियो। तर उपमहानगरपालिकाले खरिद गरी पठाएको चामल आफूहरुले वितरण मात्र गरेको भन्दै वडा कार्यालयले आफ्नो बचाउ गरेको थियो। तर अहिले भने नक्कली लाभग्राही खडा गरी राहत वितरण गरेका देखाईएको खुलेको हो।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस