सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आजको दिन कस्तो छ यातायातको व्यवस्था ?

२०८३ कार्तिक ४, ०८:३३ खबर संवाददाता

धनगढीः आज दसैँको दिन। घरघरमा टीका र जमराको रौनक छ। आफन्तको हातबाट टीका थाप्न र जमरा लगाउन एक ठाउँबाट अर्को ठाउँ जानेहरूको चहलपहल उत्तिकै छ। तर, सार्वजनिक यातायात क्यू फ्रीमा छोडिएको छ। जसका कारण निकै न्यून संख्यामा मात्रै गाडी चल्छन्।

सुदूरपश्चिम यातायात प्रालिका कार्यालय प्रमुख देविलाल जोशीका अनुसार लामो दूरीका सवारीसाधन तीन दिनदेखि र छोटो दूरीका सवारीसाधन दुई दिनदेखि क्यू फ्रीमा छन्। तर, दसैँको दिन पनि विभिन्न रुटमा गाडी चलिरहेको उनले बताए।

टिकट काउन्टर बन्द भए पनि यात्रुले सवारीसाधनमै टिकट काटेर यात्रा गर्न सक्ने व्यवस्था गरिएको यातायात प्रालिहरूले बताएका छन्। कर्णाली रिभरसाइड प्रालिका कर्मचारी सन्तोष घर्तीले आज दिउँसो २ बजेदेखि टिकट काउन्टर पनि खुल्ने जानकारी दिए। ‘क्यू फ्री भए पनि सबै रुटमा गाडी चलेका छन्,’ उनले भने।

यस्तै, प्रदेशको राजधानी धनगढीमा उपमहानगरपालिकाले दसैँको दिन नागरिकलाई निःशुल्क यातायात सेवा दिएको छ। उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार धनगढीको ट्राफिक चौराह, सहिद गेट चोक र क्याम्पस चोकबाट निःशुल्क यातायात सेवा उपलब्ध गराइएको छ।

नगर प्रहरीमार्फत जिप र मोटरसाइकल प्रयोग गरी सेवा सञ्चालन गरिएको मेयर हमालले बताए। उनले दसैँका दिन आवतजावत गर्नुपर्ने नागरिकलाई निःशुल्क यातायात सेवाको लाभ लिन आग्रह गरेका छन्। ‘टीका थाप्न आवतजावत गर्नुपर्ने तर सवारीसाधनको सुविधा नभएका नागरिकलाई लक्षित गर्दै यातायात सेवा सञ्चालन गरिएको हो,’ मेयर हमालले भने।

यस्तै, जिल्ला ट्राफिक कार्यालय कैलालीको समन्वयमा नवजीवन अस्पताल प्रालिले आज धनगढी–अत्तरिया रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। अस्पतालका अनुसार बस सेवा बिहान ८ः३० बजेदेखि सुरु भएको छ। बस डोकेबजारदेखि अत्तरिया र अत्तरियादेखि डोकेबजारसम्म सञ्चालन भइरहेको अस्पतालका कार्यकारी निर्देशक चक्र कठायतले जानकारी दिए।

कमेन्ट लोड गर्नुस