सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब कसरी चल्छ गौरीफन्टा नाका ?

२०७७ भदौ १३, ०९:०० नवराज पनेरु

धनगढी – धनगढीका ९१ बर्षीय शिवदत्त जोशीलाई मोहना नदीमा पुल नहुँदाकै सम्झाना छ। सो समयमा कसरी आवतजावत हुन्थ्यो र त्यहाँ सुरक्षा टोली कसरी परिचालन हुन्थ्यो भन्ने प्रश्नमा उनी भन्छन्, ‘पहिले मोहना पारी कञ्चनपुर र कैलाली कुनै पनि जिल्लाको सुरक्षा टोली परिचालन थिएन। अहिले त्रिनगर प्रहरी कार्यालय रहेकै स्थानमा कैलालीको प्रहरी बस्थ्यो। डुङगामार्फत नदी वारपार गर्दै आएका थियौँ।’

उनका अनुसार उक्त नाका हेर्ने सम्पूर्ण जिम्मेवारी भने कैलालीकै थियो। २०४९ सालमा भन्सार कार्यालयबाटै सेवा निवृत्त भएका ८१ बर्षीय हरिलाल जोशीले ८ बर्ष कैलाली भन्सारमा पनि काम गरे। सोही अवधी कञ्चनपुर भन्सारमा पनि काम गरेको अनुभव छ जोशीसंग।

गौरीफन्टा नाकाको सम्पूर्ण व्यवस्थापन त्याे समयमा पनि कैलालीले गर्दै आएको उनलाई सम्झना छ। ‘कञ्चनपुरको डोकेबजार नजिकै कैलाली भन्सार मातहतकै एउटा छोटी भन्सार कार्यालय पनि स्थापना गरिएको थियो,’ उनी भन्छन्, ‘नाका व्यवस्थापन लगायतका सम्पूर्ण जिम्मेवारी कैलालीकै थियो। त्यहाँ न कञ्चनपुरको सुरक्षा टोली हुन्थ्यो न भन्सार नै थियो।’

२०७४ साल चैत १६ गते तत्कालीन भारतीय राजदूतले धनगढीमै पुगेर नेपाल भारत मैत्री संघको कार्यक्रममा गौरीफन्टा नाका बन्द गर्ने अभिव्यक्ति दिए। उनका अनुसार गौरीफन्टामा भारततर्फ दुधुवा पार्क रहेको कारण देखाउँदै भारतले उक्त नाका बन्द गर्ने मनसाय बनाएको थियो।

गौरीफन्टा नाका बन्द भए धनगढीको भविष्य नै संकटमा पर्ने भन्दै सो समयमा नाका यथावत रुपमा सञ्चालन गर्न र स्तरबृद्धि गर्नका लागि व्यापक जनदबाव सृजना भयो। जस्का कारण नाका अहिलेसम्म पनि यथावत रुपमै सञ्चालन छ। सो समयमा न कञ्चनपुर प्रशासनले नाका यथावत रुपमा सञ्चालन हुन पर्ने माग राख्यो न त नाकाको व्यवस्थापनमै चाँसो दियो।

अहिले आएर कञ्चनपुरले गौरीफन्टा नाका र नजिकैको डोकेबजार क्षेत्र आफ्नो क्षेत्र भएको भन्दै कैलालीको सुरक्षा टोलीलाई फिर्ता गरिदिएपछि नाकाको भविष्यबारे चिन्ता व्यक्त गर्न थालिएको छ। कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डाक्टर हेमराज पन्तले नाका व्यवस्थापनको जिम्मेवारी कञ्चनपुरले सम्हाले थुप्रै समस्या हुने बताउँछन्। ‘एउटै नाकामा दुई जिल्लाको चेकजाँचले सर्वसाधारणलाई सास्ती बढाउँछ,’ उनले भने, ‘अहिले कोरोना भाइरसको रोकथाममा सबै निकाय संक्रिय हुनुपर्ने अवस्थामा नाकाको अनावश्यक विषयलाई चर्चामा ल्याइएको छ।’

उनले कञ्चनपुर मातहतमा उक्त नाका सञ्चालन भए प्रसाशनिक समस्या पनि बढ्ने बताए। ‘गौरीफन्टा नाकाबाट धनगढी धेरै नजिकै छ,’ उनले भने, ‘कुनै पनि समस्या आए धनगढीबाट प्रहरी प्रशासनका अधिकारीहरु नाकामै पुग्न सक्थे। कञ्चनपुर मातहतमा नाका सञ्चालन भए सामान्य समस्या समाधानका लागि पनि महेन्द्रनगरबाट टोली आउनपर्नेछ।’

झन्डै डेढ सय बर्ष पूरानो गौरीफन्टा नाकामा सुरुवातदेखि कैलालीले व्यवस्थापन गर्दै आएको थियो। पहिले पनि डोकेबजार क्षेत्र कञ्चनपुरमै थियो तर व्यवस्थापनको जिम्मेवारी कैलालीको थियो। तर अहिले आएर कैलालीले उक्त क्षेत्रबाट सुरक्षा टोली फिर्ता बोलाएपछि कञ्चनपुरले आफ्नो सुरक्षा टोली खटाएको छ।

गौरीफन्टा नाकामा सुरक्षाकर्मी खटाएको कञ्चनपुर प्रशासनले भने भन्सार कार्यालयलाई पनि आफ्नो मातहतमा ल्याउन पहल थाल्ने जनाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले पुनर्वास नगरपालिका वडा नम्वर ११ स्थित गौरीफन्टा नाकामा सुरक्षाकर्मी खटाएको बताउँदै भन्सार कार्यालयलाई पनि आफ्नो मातहतमा ल्याउन पहल थाल्ने बताए। 

उनले भन्सारको एउटा भवनसमेत कञ्चनपुरको सीमा क्षेत्रमा रहेको बताउँदै भने, ‘उक्त भवन अहिले प्रयोग विहिन छ। त्यहा भन्सार कार्यालय सञ्चालन गर्ने विषयमा छलफल अगाडि बढाउने सोचमा छौ।’

भन्सार कार्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषय भन्सारले हेर्ने उनले बताए। उनले भने, ‘तर मैले नाकाको जिम्मेवारी लिएपछि भन्सार कार्यालय पनि सञ्चालन गर्नुपर्छ भनेर पहल गर्छु। त्यस्का लागि स्थानीय पालिकासंग पनि छलफल अगाडि बढाएको छु।’

उनले गौरीफन्टा नाका र डोकेबजार क्षेत्र कञ्चनपुरमा पर्ने भएकाले स्वभाविक रुपमा  नाकाको जिम्मेवारी कञ्चनपुरले सम्हालेको पनि बताए। ‘नाका र डोकेबजार क्षेत्र कञ्चनपुरकै भूभाग हो,’ उनले भने, ‘हिजोको दिनमा कञ्चनपुरले ध्यान दिन सकेको थिएन्। अहिले कञ्चनपुरले ध्यान दिएको छ।’ उता सशस्त्र प्रहरी बल नम्वर ३५ गण झलारी कञ्चनपुरले डोकेबजार क्षेत्रमा बिओपी स्थापना गर्ने तयारी पनि थालेको छ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस