सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसले सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ :नेता पौडेल

२०७७ असार २१, ०५:४३ रासस

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन्। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार वाग्मती प्रदेशका काँग्रेस नेता कार्यकर्ताहरूसँग गरेको छलफलमा उनले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै ‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण हुने बताए।

नेता पौडेलले कम्युनिष्टहरू विभाजन भएर सत्ता प्राप्ति गर्ने काँग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिशनका लागि भिजन भएको काँग्रेस आवश्यक रहेकामा जोड दिए। साथै उनले काँग्रेसको आगामी १४औँ महाधिवेशनले त्यो मिशनका लागि भिजन भएको काँग्रेस बनाउने बताए। अहिले कम्युनिष्टहरूले पाएको झण्डै दुई तिहाइको जनमत मुलुकको समस्या समाधानका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै उनले मुलुकमा सङ्कट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु शोभनीय होइन भने।

विश्वका पूँजीवादी र कम्युनिष्ट देशहरू पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने नेता पौडेलको भनाइ थियो। उनले गान्धीवाद समाजवाद नभए पनि गान्धीवादमा आधारित समाजवादले विश्वलाई जोगाउने तर्क गर्दै पूँजीवादीहरूले राज्यका सबै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिष्टहरूले जनतालाई दबाएर बन्द संस्कृति सिर्जना गरेकाले समस्या देखिएको धारणा व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस