सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोइलाको आयातले कैलालीमा जोखिम बढ्यो, भन्सार र प्रशासन भन्छ–रोक्ने अधिकार छैन्

२०७७ वैशाख १५, १२:५९ नवराज पनेरु

धनगढी : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रुपमा गरिएको लकडाउन र सीमा बन्दकाबीच कैलालीका नाका भएर कोइलाको आयात रोकिएको छैन्। सरकारले मरिच, छोकडा, केराउ, सुपारी र मदिराजस्ता वस्तुको आयातमा मात्रै रोक लगाएपछि कोइलाको आयात नरोकिएको हो। अहिले कैलालीको त्रिनगर र खक्रौला नाका भएर दैनिक रुपमा कोइलाका गाडी भित्रिरहेका छन्। 

कोइला लगायतका बस्तु अत्यावश्यक नभएपनि रोक लगाउने विषयमा कुनै निर्देशन नआउँदा कोइलाको आयात निर्वाध रुपमा भईरहेको भन्सार कार्यालय कैलालीका निमित्त प्रमुख परमानन्द जोशीले बताए। ‘सरकारले रोक लगाएका मरिच, छोकडा, केराउ, सुपारी र मदिराजस्ता वस्तुको त्रिनगर नाका भएर आयात भएको छैन्। त्यसबाहेक अन्य कुनै पनि बस्तुको आयातमा रोक लगाउन भन्सार विभागले निर्देशन दिएको छैन्। हामीलाई कोइलाको आयात रोक्न पनि अधिकार छैन्।’ जोशीले दिनेश खवरलाई भने।

उनका अनुसार अहिले भारतको लखउन, आसाम र पिलिभित क्षेत्रबाट कोइला आईरहेको छ। ‘भन्सार विभागले पटक–पटक गरेको निर्देशनमा आयात गर्दा खाद्यान्न र औषधीजन्य वस्तुलाई प्राथमिकता दिनु मात्रै भनेको छ,’ उनले भने, ‘पाँच वटा बस्तु बाहेक अन्यको आयात रोक्नका लागि हामीलाई अहिले सम्म निर्देशन आएको छैन्।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि ईटा भट्टा संचालनका लागि नाकाबाट कोईला आयात भईरहेको स्विकार गरे। ‘कोईला आयातमा नेपाल सरकारले रोक लगाएको छैन्,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘संघीय सरकारले नै रोक नलगाएपछि हामीले रोक्न सक्ने अधिकार छैन्। तर सावधानी अपनाएर आउन दिने भनेका छौ। गाडी सेनीटाईज गर्ने व्यवस्था गरिएको छ भने चालह र सह–चालकहरुलाई गाडि बाहिर आउन दिएका छैनौँ।’

सरकारले नै भन्सार कार्यालयलाई आयात रोक्न निर्देशन दिएमात्र आयात रोक्न सम्भव हुने प्रमुख जिल्ला अधिकारी बोहराले बताए। उनले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले तोकेको अत्यावश्यक बस्तु भनेको आन्तरिक ढुवानीको लागि मात्रै हो। आयात र निर्यातका लागि अत्यावश्कय बस्तु तोकिएको छैन्। ईटा भट्टा संचालनका लागि सरकारले नै अनुमती दिएको छ। हामीले कसरी काइलाको आयात रोक्ने।’

यता भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले मरिच, छोकडा, केराउ, सुपारी र मदिराजस्ता वस्तु बाहेक अन्य कुनै पनि बस्तुको आयात रोक्ने अधिकार कुनै पनि भन्सार कार्यालयलाई नभएको बताए। ‘पाँच वटा बस्तुको आयात रोक्ने निर्णय मन्त्रीपरिषद्को बैठकले नै गरेको हो। अन्य बस्तुको आयात रोक्ने अधिकार भन्सार कार्यालयहरुलाई छैन्। सुरक्षा सतर्कता भने अपनाउनपर्छ।’ सूचना अधिकारी घिमिरेले दिनेश खवरलाई भने।

यता नोपल इटा उद्योग महासंघका केन्द्रिय सदस्य दिपेन्द्र ऐरले कैलाली र कञ्चनपुरमा ७० वटा इटा भट्टा रहेको र छ हजार बढि मजदुर कार्यरत रहेको बताए। काइलाको आयात रोकिए भट्टा सञ्चालन गर्न नसकिने बताउँदै उनले मजदुरलाई भित्रै खानेबस्ने व्यवस्था गरी भट्टा सञ्चालन गरिएको बताएका छन्। 

तर कोइलासंगै अन्य बस्तुको समेत निर्वाध आयातले जोखिम भने बढाएको छ। चलक, सह–चालकसंगै नेपालीहरु पनि ट्रकमा लुकेर आउने गरेका छन् भने सीमा नाकाहरुमा स्वास्थ्य सहायता कक्ष भएपनि उनीहरुको प्रभावकारी जाँचको व्यवस्था छैन्। सीमा क्षेत्रका बासिन्दाले तत्काल आवश्यक सामाग्रीको आयातमा रोक लगाउन र सम्भव नभए सीमा क्षेत्रमै ¥यापिड टेस्टको व्यवस्थापन हुनुपर्ने माग गरेका छन्।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस