सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसदले नै मान्दैनन् लकडाउन, सीडीओ भन्छन् – डन्डा लगाउँछु

२०७६ चैत्र १२, ०८:३०

कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि देशैभरि लकडाउन गरेको छ। अत्यावश्यकबाहेक घरबाट ननिस्कन अनुरोध गरेको छ। तर सरकारी आग्रहको बेवास्ता गर्दै सार्वसाधारणदेखि सांसदसम्म घर बाहिर निस्केका छन्। स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश र संघीय सरकारले विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेक घरबाट ननिस्कन भनेका छन्। बिना काम बाहिर निस्कनेलाई प्रहरीले सम्झाएर घर फर्काउने गरिरहेको छ।

बुधबार पनि बिहानैदेखि लकडाउनको उल्लघंन हुन नदिन प्रशासन खटिइरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसी राजकुमार केसी भन्छन्, ‘सरकारी आदेश पालना गराउन बिहानैदेखि खटिएका छौं। कसैले उल्लंघन गर्न भने कारबाही गर्छौं। तर हिजोभन्दा आज धेरै नागरिकले पालना गरेका छन्।’ सर्वसाधारणले डकडाउनलाई सफल बनाउन लागि परेको भए पनि केही सांसदहरुले भने लकडाउन उल्लघंन गर्दै तस्वीर र भिडियो सामाजिक सञ्जालमै सार्वजनिक गरेका छन्।

लकडाउनमा प्रदेश सभाका सांसद कृष्ण थापाले साथीहरु माझ ब्याडमिन्डन खेलेको भिडियो सार्वजनिक गरेका छन्। ‘हाम्रो स्कुल पोखरा एकेडेमीमा यसरी पनि इम्युनटी पावर बढाउन सकिन्छ, कोरोनाका विरुद्ध,’ क्याप्सन लेखेर थापाले भिडियो सामाजिक सञ्जालमा हालेका छन्। सांसदले नै लकडाउनको उल्लघंन गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि धेरैले आलोचना गरेका छन्। सांसद थापाले भने आफ्नो निजी बोर्डिङ स्कुलमा केही साथी मिलेर ब्याडमिन्टन खेलेको प्रतिक्रिया दिए।

‘लकडाउन भनेको घरमै बसेर मानसिक तनाव लिने होइन, हामी नजिकका साथी मिलेर ब्याडमिन्टन खेलेका हौं,’ सांसद थापाले भने। थापासँगै ब्याडमिन्टन खेल्ने र अरु गरी सोही ठाउँमा ७ जना देखिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सरकारले बाहिर नै ननिस्कन भनेका बेला यसरी खेल्न नपाइने बताउँछन्। ‘सबै जना केही हुँदैन भन्दै नजिकको स्कुल वा मैदानमा खेल खेल्न निस्के भने के हुन्छ ?’ उनले भने, ‘यहाँका त कानुन निर्माताले नै कानुनको उल्लघंन गर्न थाले।

मान्छेलाई पो सम्झाउन सकिन्छ र।’ मंगलबार पनि सांसद राजीव पहारीले लकडाउनको पहिलो दिन घरमाथिको गुम्बातिर घुम्दै भनेर फोटो सार्वजनिक गरेपछि आलोचना भएको थियो। आलोचनापछि पहारीले फेसबुकबाट फोटो हटाएका थिए। गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल बुधबार बिहानै पोखरा शान्ति वनस्थित तरकारी तथा फलफूल मण्डीमा अनुगमन टोलीसहित पुगेका छन्। तरकारी तथा फलफूलको अवस्था बुझ्न भन्दै पुगेको टोलीमा मन्त्री लम्सालले मास्कसमेत लगाएका छैनन्।

अनुगमन टोली लिएर पुगेका लम्साल भीडभाडमा देखिन्छन्। मन्त्रीले नै सावधानीका लागि मास्कसमेत नलगाउँदा सन्देश राम्रो नगएको धेरैले प्रतिक्रिया दिएका छन्। सरकारको निर्देशन र लकडाउनलाई हल्का रुपमा नलिन प्रजिअ ढकालले आग्रह गरेका छन्। लकडाउनको उल्लघंन गर्नेलाई अब डण्डा लगाउन पनि पछि नपर्ने ढकालको भनाइ छ। ‘अत्यावश्यकबाहेक घरबाट ननिस्कनु भनेका छौं । अब पनि अटेर गरे प्रशासनले कडा कदम चाल्छ।

कसैले कुनै बाहनामा छाड्दैनौं,’ प्रजिअ ढकालले भने, ‘सरकार एक्लैले कोरोनाविरुद्ध लड्न सक्दैन, नागरिकको साथ चाहिन्छ।’ मंगलबार अत्यावश्यकबाहेक पनि सवारी साधन लिएर निस्केका ४ सय जनाको चाबी जफत गरेको कास्की ट्राफिक प्रहरीले बुधबार भने चाबी र कागजातसमेत जफत गरेको छ।

‘मंगलबार चाबीमात्र जफत गरेर सवारी साधन र्डोयाएर लैजान भनेका थियौं। बुधबार पनि लकडाउनको उल्लंघन गर्ने क्रम नरोकिएपछि चाबीसँग ब्लू बुक र लाइसेन्ससमेत जफत गरेका छौं,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले भने। लकडाउनको अवज्ञा गर्ने १ सय ६७ वटा सवारी साधन बुधबार समातिएका छन्। एक दर्जन साना गाडी र बाँकी मोटरसाइकल तथा स्कुटरको चाबी र कागजात जफत गरिएको रोकाले जानकारी दिए। अनलाईनखबर बाट
 

कमेन्ट लोड गर्नुस