धनगढीकी डम्मराका जब दुवै हात गुमे...
धनगढी : पतिपत्नी मिलेर सुन्दर जीवन जिउने सपना थियो धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाकी २३ वर्षीया डम्मरा शाहको। त्यही सपना बुन्दै उनले पतिलाई भारतको मुम्बईमा पठाइन् र आफू गेटास्थित सुरत गुड मिलमा काम गर्न थालिन्। उखुका आँख्ला पेल्दा पेल्दै २०७५ माघ २३ गते उनले लगाएको कुर्ता च्याप्यो। कुर्ता तान्दै गर्दा उनका दुवै हात मेसिनभित्र छिरे। उखु पेल्ने मेसिनले उनका कुहिना तलका दुवै हात पेलिए। बेहोस् भइन्। मिलमा काम गर्ने कर्मचारीहरुले उद्धार गरेर उनलाई सेती अञ्चल अस्पताल लगे। अस्पतालले धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर ग¥यो।
काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा पेलिएका दुवै हात काटेर उपचार गरियो। घटनाको एक वर्षपछि उनी उपचारपछि फागुन २७ गते मात्रै धनगढी फर्किइन्। ‘घटनाकै दिन उपचारका लागि काठमाडौं गएकी थिएँ, एक वर्षपछि अस्ती मात्रै फर्किएँ,’ डम्मराले भनिन्, ‘काम गर्ने दुवै हात गुमेपछि अब जिन्दगी कसरी गुजार्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।’ काम गरेर खुसी साथ जिन्दगी विताउने सपना सपनामै बिलाएको बताउँदै उनले भनिन्, ‘हात गुमेपछि जिन्दगी नै गुमेको महसुस भएको छ।’
मिलमा ज्यालादारी गरे बापत दैनिक ३ सय ९० रुपैयाँ पाउने गरेको बताउँदै उनले भनिन्, ‘त्यही तीन सय ९० रुपैयाँ कमाउन जाँदा जिन्दगी नै गुम्यो।’ ऐलानी जमिनमा एउटा सानो झुप्रो बाहेक सम्पत्तिको नाममा दुई हात मात्रै रहेको बताउँदै उनले भनिन्, ‘दुवै हात गुमेपछि भने अब के गरेर खाने भन्ने चिन्ताले सताएको छ।’
पति धनबहादुर शाहले भने, ‘दुवै हात नभएकी पत्नीलाई छोडेर कतै कमाउन जाउँ भन्दा पनि जान पाइँदैन्, अब के गरी गुजारा गर्ने होला ?’ उपचारका लागि मिलले सहयोग गरे पनि अब गुजारा चलाउनका लागि केही सीप या रोजगारीको व्यवस्था सरकारले मिलाइदिनु पर्ने बताउँदै उनले भने, ‘दुवै हात गुमेकी पत्नीले केही गर्न सक्दिनन्, अब उनकै नजिक रहेर कुनै इलम गर्ने मौका कसैले दिएमा गुजारा चलाउन सक्थेँ।’
मिल सञ्चालक सुरत खड्काले भने, ‘उनको उपचारका लागि लागेको सबै पैसा तिरेँ, अब म पनि केही गर्न सक्ने अवस्थामा छैन्।’ शाहको अवस्था बारे थाहा पाएपछि शनिबार नै धनगढीस्थित रामजानकी मन्दिर पतञ्जलि योग केन्द्रद्वारा ३० हजार एक सय ३१ रुपैयाँ सहयोग गरेको छ।