अधुरै रह्यो जन्मथलो हेर्ने इच्छा

२०७६ चैत्र २, ०४:२४
अ+

समय दौडिरह्यो। अनुहार बिस्तारै खिइँदै गयो। चेहरा मलिन हुँदै गयो। बिस्तारबिस्तारै स्मृतिले काम गर्न छोड्यो। मान्छेलाई चिन्न छोडिदिनुभयो भण्डारी सर (डा. दुर्गाप्रसाद भण्डारी) ले। केही समय यता मैले भेट्न पाएको थिइनँ। भेट्न मन लाग्थ्यो। भेट्न जादा धेरै बेर उहाँको छेउमा बस्न सकिदैन थियो। कारण थियो उहाँले चिन्न छोडेपछि कुरा गर्न छोडिदिएपछि मात्र आँखा रसाउन थाल्थे । विगतका दिनहरुको याद आउँथ्यो अनि निस्किन्थेँ उदाश मुहार लिएर। 

लाग्थ्यो त्यो परिहासपूर्ण बोली सुन्न पाइन्छ कि कतै ? विगतमा भनेझैं धेरै दिन भयो नखाएको, एक क्वा खानु पर्‍यो कि क्या हो भन्ने वाक्य सुनिन्छ कि कतै ?  भेट्दा विगतका सुमधुर क्षणको याद गर्न थाल्नु हुन्छ कि कतै ? अँह! मौनता शिवाय केही हुन्नथ्यो। चुपचाप अनुहार हेरेर  बिस्तारै आफ्नो बाटो लाग्नु पर्थ्याे। विगत केही समयदेखि उहाँले केवल सास मात्रै त फेरिरहनु भएको थियो। तथापि लागेको थिएन मनको आकाशमा तुवालो। छाएको थिएन यसरी सन्नटा। एक्कासी सुन्नमा आयो भण्डारी सर रहनु भएन । खिन्न भयो मन। रसाउन थाले परेलीका डिल।

पिता कुञ्जरमणी भण्डारी र माता इन्दिरा भण्डारीका कनिष्ठ पुत्रको रुपमा २९ अक्टोबर १९३६ मा जन्मिनु भएका उहाँले १२ वर्षको उमेरमा पुन्ना गाउँमा गई अरुका बाख्रा चराएको कथा एकातिर छ भने तराई झरिसकेपछि थारुहरुको तमाखु चोरेको घटना अर्कोतिर छ।  हरिद्वारमा पढ्दा पञ्जावी केटीसँगको प्रेमले झन भावुक तुल्याइदियो। एक रसिक र भावुक र प्रेमिल मनका धनी भण्डारी सरको नाम रजनिस (ओशो) ले समेत लिएछन् भाषण गर्ने क्रममा जुन कुरा रजनिशको पुस्तकमा समेटिसकेको छ। 

‘भण्डारी सरको सानो डकुमेन्ट्रि बनाउन पाएको भए नि हुन्थ्यो’ –सम्झे बिएल मिडियाका सम्पादक नवीन अर्यालले केही समय अघि भनेको वाक्य। भोलि भन्दाभन्दै यो दिन आइदियो। ‘यो चैतले उराठ थपिदिन्छ। पाहाडमा त इतिबेला बँसुरीको रन्को सुनिन्थ्यो। बाँसुरीको तसो बिहरी धुन सुणिन्छ कि नै भण्णै अचेल’ – कुनै समयमा उहाँले सोध्नु हुन्थ्यो। आज त्यही चैतको सुरुवातीको दिन हो। आकाशमा बिहानै बादलका धर्सा देखिका थिए।

लाग्छ धर्तीबाट परिहासपूर्ण एक पंक्ती विलीन भएपछि उदाश बने होलान् आकाशका किनारहरु पनि। सुनसान थियो बागमतीस्थित आर्यघाटको तट । यतिखेर मन ठेगानमा छैन। आइरहेको छ विगतका दिनहरुको याद। पटक्कै छैन लेख्ने जागर पनि। मात्र एकजना सम्पादकले अहराएको काम गरिरहेको छु। साहित्य, दर्शन अनि शिक्षा जगतका एक मूर्धन्य व्यक्तित्व जसले कहिल्यै पनि म केही हैन । केही जान्दैन भनिरहनु भयो। त्यस्ताको बारेमा मजस्तो सामान्य मान्छेले के नै लेख्न सक्नु र।

‘सर अब त आत्मकथातिर कलम चलाइदिए नि हुन्थ्यो’–कुनै दिन अनुरोध गरेँ। उत्तर आइदियो – ‘हात काँप्छ लेख्नै सक्दैन्।’ हात काप्ने उहाँको वंशाणुगत समस्या रहेछ। तर लेख्नै नसक्ने भन्नु बाहना मात्रै थियो । दुई चार दिन पछाडि रेकर्डर तेर्स्याउँदै भनेँ – ‘अब लेख्नु पर्दैन। सरले सम्झिँदै भन्दै गर्दा हुन्छ विगतका घटनाहरु।’

तब एक छिन चुप लागेर बिस्तारै भन्नु भयो –‘संसारका कस्ता कस्ता प्रतिभाहरु त्यसै गए नलेखिकनै। म मुला के हुँ र। खै के लेख्नु छोडि दे मुऽऽ।’

अनि केही दिन मैले सम्पर्क गरिनँ।  उहाँले नि गर्नु भएन। पछि थाहा भयो २८ पेज लेखेर छोडिदिनु भएछ । हरेक पल मनमा खेलिदिएछ एउटै कुरा म के हुँ र? सदा आफुलाई ज्ञानको भोको ठान्ने भण्डारी सर आफैमा एक मूर्धन्य स्रष्टा हुनुहुन्थ्यो।

उहाँको महानता थियो कहिल्यै ज्ञानको घमण्ड नदेखाउनु। एक स्पष्ट वक्ता जो निर्धक्कताका साथ भन्ने गर्नु हुन्थ्यो –‘यो देशका घुस्याहाहरुको नाकभन्दा निकै सुन्दर हुन्छ नाङ्गा जोगीहरुको लिङ्ग।’ निकै नै ओजपूर्ण हुन्थे उहाँका भनाइहरु।

भावुकता र संवेदनाको पोखरी जमेकै हुन्थ्यो भित्रि मनको कुनामा। हरेक वर्ष आषाढ महिनामा जबजब आकाशमा बादल मडारिन्थ्यो घरमा कोठाभित्र एक्लै बसिरहँदा कालीदाशको मेघदूत पढेर खसाल्नु हुन्थ्यो आँसु। आमाको यादमा कैयौं पल्ट खसाल्नु भएको हो मेरै सामु आँसु। आवाज नै निकालेर रुनु भयो शन्त नेता कृष्णप्रसाद भट्टराई जादा। एकाबिहानै फोनमा हिक्क हिक्क गर्दै भन्नु भएको थियो – ‘मलाई किसुनजीको लाशमा फूलचढाउनु छ लगिदेन।’ 

त्रिपुरेश्वरमा भट्टराईको पार्थीव शरीर ल्याइपुर्‍याउन्जेल चिया पिउन खोज्दा हात काँपेर चिया पुरै पोखियो। आँखाका डिल टलपल टलपल गरि नै रहे। त्यसपछि मान्नु भएन अर्कोपल्ट माग्न । एकछिनपछि किशुनजीकाे पार्थीव शरीर ल्याइयो रंगशाला। फूलसँगै चढाउनु भयो आँसुका थोपा। कृष्णप्रसाद भट्टराई शिवाय अरु नेताको मलामी गएको देखिनँ मैले मेरो संगत हुँदाको बखत। दुबैजनाको लय मिल्थ्यो। दुबै मस्त फकिर जस्ता। किशुनजी घरवार नै नभएका फकिर । भण्डारी सर घरबार भएर पनि मस्तराम।

पुरानो बानेश्वरमा घडेरी किन्नेदेखि घरबनाउनेसम्म सबै आफैले गर्नु परेको कुरा सुनाउनु हुन्थ्यो मेडमले। एक आदर्श र इमानदारीताका पाइला चाल्नु भयो भण्डारी सरले। न त कहिल्यै ट्युसन पढाउनु भयो न त कुनै एनजीओ आएनजीकोको भत्ता नै खानु भयो।  भट्टराईले आफू प्रधानमन्त्री छदा त्रिविको उपकुलपति बनिदिन अनुरोध गर्नुभयो तर उहाँले मान्नु भएन।  

उहाँको मत थियो – ‘न म विद्यार्थीको शुल्क बढाउन सक्छु , न त विश्वविद्यालयमा हाजिर गरेर एनजीओ आएनजीओको भत्ता खान टाप ठोक्ने प्राध्यापकलाई नै तह लगाउन सक्छु। न त मुसाको औषधिमा समेत कमिसन बजाउने कर्मचारीलाई नै तह लगाउन सक्छु।

खाली कुर्सी मात्रै ओगटेर के गरुँ ?’ सूर्य बहादुर थापा प्रधानमन्त्री छदा उहाँका भाइले प्रज्ञाप्रतिष्ठानको उपकुलपतिका लागि कुरा राखेछन् त्यहाँ पनि बस्न मान्नु भएन छ। पद प्रतिष्ठाप्रतिको कुनै लोभ लालच थिएन उहाँमा । प्रातकालीन भ्रमणमा निस्किनु।  मनमिल्ने साथीभाइहरुसँग जिस्किनु।

पुरानो बोश्वरस्थित पशुपति बुक्समा गई नयाँ आएका किताब र पत्रपत्रिका किन्नु। दिउँसोतिर बोलाएको ठाउँमा गएर प्रवचन दिनु र प्राय शुक्रबारका दिन मनकामना सेकुवा कर्नरमा गई एक क्वा (क्वाटरलाई उहाँले भन्ने गर्नु हुन्थ्यो) सेवन गर्नु सेवा निवृत्त भएपछिको उहाँको दिनचर्या थियो। बेलुकीपख पशुपति क्षेत्रतिर भ्रमण गर्न रचाउनु हुन्थ्यो। त्यहाँ जलिरहेका लाश, घुमिरहेका बानर, जोगी, बेलुकीको आरती श्लेषमान्तक वनबाट देखिने दृश्य सबैबाट ऊर्जा मिल्दो हो लेखनमा र त प्रसंगमा आइरहन्थे हरेक जसो लेखमा यस्ता कुराहरु। 

आज त्यही पशुपति किनारमा खरानी बन्नु भयो। विलीन हुनु भयो। त्यही पशुपतिको भुवनेश्वरी मन्दिर परिसरमा बाँसुरी बजाइरहने उहाँको लाटो साथीको याद आइरह्यो। जोे उहाँलाई देख्दा हर्षित बनेर नजिकमा आउँने गर्थे बाँसुरी बजाउँथे।

अरुसँग हातका इशारा गर्थे तर भण्डारी सरसामु गीजा समेत देखिने गरी मस्तले हाँसिदिन्थे। सरले सधैं भेटमा १० रुपैया दिनु हुन्थ्यो मेरो लाटो साथी भन्नु हुन्थ्यो र अँगालोमा बेर्नु हुन्थ्यो। एकछिनपछि त्यति पैसा लगेर दौडिदै गई नजिकैको पसलबाट पानी पिएझै एक ग्लाश लोकल पिएर फर्कि हाल्थे ती लाटो साथी र नाच्दै बजाउन थाल्थे बाँसुरी।

भण्डारी सर देख्दा मस्तसँग फुकिदिन्थे तिनले बाँसुरी। यदि आत्मा नमर्ने हो कही कतै भेट हुने कुरा सत्य हो भने भैसकेको होला दुबैको भेट। त्यस्ता मस्तरामहरुको यात्रा स्वर्गकै यात्रा हुन्छ। स्वर्गमा पुगिसक्नु भयो होला र केही वर्षअघि नै स्वर्गमा बास गरिरहेको साथीसँग भेट भइसके होला। 

यतिखेर सम्झिरहेको छु उहाँले ७ वर्ष अघि प्रकट गर्नु भएको इच्छा। त्यो ईच्छा थियो खप्तड घुम्न जाने र फर्किदा जन्मथलो र जन्मेको घर हेरेर आउँने। दुई पटक योजना बनायौं। एक्कासी त्यतिखेरै विदेश जानु पर्ने भयो उहाँलाई। त्यसपछि मेडमले धर्तीबाट बिदा लिनु भयो। तत्पश्चात बिस्तारै उहाँ कमजोर बन्दै जानु भयो। स्मरणशक्ति गुमाउँदै जानु भयो। योजना मात्रै बन्यो। साइत जुरेन कहिल्यै पनि।

उहाँलाई डोटी नगएको वर्षौ भैसकेको थियो। पाहाडबाट आउनेहरुलाई सोधिरहनु हुन्थ्यो– त्यहाँका बोट बिरुवा पुराना रुखहरु, खोलानाला चौर र चाडपर्वहरुका बारेमा। नोस्टाल्जियामा बाँचिरहनु भएको थियो पछिल्ला दिनहरुमा । त्यसैमा आनन्द लिनु हुन्थ्यो। एक रसिक मनले पल्टाउन खोज्थ्यो कैयौं प्रेमिकाहरुका प्रेमपत्रका पाना । डम्बर धानुकले लेखेर छोडिदिन्थे कहिले काही डेउडा गीतका पंक्ती। तिनै पंक्तीभित्र खेलाइरहनु हुन्थ्यो मन। 

एक प्रभावशाली, प्रयोगधर्मी लेखनशैली र चिन्तनका दृष्टिले आफ्नो छुट्टै पहिचान बनाउन सफल भण्डारी सर आफ्नो मृत्यु कसरी हुन्छ भन्नेमा पनि निकै चिन्तित हुनुहुन्थ्यो कुनै समयमा। दर्शनको गहिरो अभिव्यक्ति, व्यङ्ग्य शैलीमा त्यतिकै पारङ्गत शव्द र भावका कुशल खेलाडी, सुन्दर बिम्ब, प्रतीक र अलङ्कारको प्रयोगले आफ्ना लेखनमा मीठास थपिरहनु हुने एक सिद्धहस्त लेखकसँगका स्मरणहरु थुप्रै छन्।

तर यतिखेर मात्र त्यही एउटा कुरो एकोहोरो आइरहेछ  सम्झनामा – उहाँले डोटीबारे लेख्दा उद्घ्रित गर्नुका साथै बढीभन्दा बढी सुनाउने गर्नु भएका कुनै हिन्दी कविका यी पंक्ती: 

हम ने भी सोचा था सारी उम्र तुझे देदूँ 
दूर इतनी मगर थी मन्जिल चलते चलते साम होगइ

अन्तिम अवस्थामा पनि उहाँले पक्कै सम्झिनु भयो होला जन्मभूमि। सपनामा पुग्नु भयो होला त्यो धरामा। किनकी जीवनको अन्तिम इच्छा भन्नु नै त्यही एउटा थियो। अन्तिम अवस्थामा आइपुग्दा मान्छे फर्किन खोज्छ विगततिर।

जन्मभूमि सम्झिदा सम्झिदै, यात्रा गर्ने योजना बनाउँदा बनाउँदै उहाँको लागि आइदियो जिन्दगीको अन्तिम साँझ। कहिल्यै नफर्किने गरी बिदा हुनु भयो भण्डारी सर मात्र विगतका सम्झनाहरु छोडेर। अन्तमा पवित्र आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु शिवाय के नै रह्यो र।

अल बिदा भण्डारी सर। 

-हेमन्त विवश/ब्रेक लिङस्

Skip Ad