सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको तयारी तिव्र

२०७६ फाल्गुन १०, ०६:२७ खबर संवाददाता

धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको लोगो तथा कार्य तालिका सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढी आज पत्रकार सम्मेलन गर्दै महोत्सवको लोगो र कार्य तालिका सार्वजनिक गरेको हो। विश्व नेपाली साहित्य महोत्सवमा विश्वभरी छरिएर रहेका स्रष्टाहरुको जमघट हुने भएको छ।

विश्वका विभिन्न ठाउँमा रहेका नेपाली साहित्यकारहरुलाई एकै मञ्चमा जम्मा गराई यस क्षेत्रको साहित्यको अवस्था बुझाउने र नेपाली साहित्यले सुदूरपश्चिमका विषयवस्तुलाई कतिको स्थान दिएको छ भन्ने बारेमा समेत छलफल गरिने आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए।

‘धनगढीमा आयोजना हुन लागेको साहित्य महोत्सवमा यस क्षेत्रका प्रतिभाले समेत स्थान पाउने छन्।’ उनले भने। ‘महोत्सवको माध्यमबाट सुदूरपश्चिमलाई विश्वसामु चिनाउने अवसर मिल्ने छ।’ सुदूरपश्चिमाञ्चल साहित्य समाजले यहाँको कला, संस्कृती र सम्भावनालाई विश्व रंगमञ्च समक्ष प्रस्तुत गर्न विश्व नेपाली साहित्य महोत्सवको परिकल्पना गरिएको विश्व नेपाली साहित्य महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले बताए।

‘अहीले महोत्सवकै लागि साहित्य समाजको भवन रंगरोगन, धनगढी उप–महानगरपालिकाको सहयोगमा कार्यक्रम स्थललाई सम्याउने काम सम्पन्न भएको छ।’ उनले भने। ‘गेट निर्माण गर्ने, मञ्च निर्माण गर्ने काम पनि भईरहेको छ।’ विश्व नेपाली साहित्य महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, वाणिज्य मन्त्री लेखराज भट्ट, सिक्कीमका पुर्व मुख्यमन्त्री पवन चाम्लीङ, साहित्यकार सत्यमोहन जोशी, लिलबहादुर क्षेत्री लगायतको सहभागिता रहने छ।

साहित्य महोत्सवको तयारीमा जुटेको आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले आफ्नै भवन अगाडी आदिकवी भानुभक्त आचार्य, नेपालका प्रथम नाटककार पहलमानसिंह स्वार र मानवतावादी राजाको रुपमा परिचित जयपृथ्वी बहादुर सिंहको शालिक समेत स्थापना गरिनेछ। शालिक निर्माणको काम सम्पन्न भएसंगै महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा पुग्ने आयोजकले जनाएको छ। नेपाली भाषाको जन्म नै काली–कर्णाली क्षेत्रबाट भएको मानिन्छ।

यहीबाट उत्पत्ती भएको नेपाली भाषा अहिले संसारमा नै प्रसिद्ध मानिएको छ। त्यसकारण पनि विश्वभरीका साहित्यकारहरुलाई धनगढीमा जमघट गराई विश्व परिवेशमा नेपाली सहित्यको अवस्था कस्तो छ ? सुदूरपश्चिमले विश्व साहित्यको रंगमञ्चबाट के सिक्न आवश्यक छ। भन्ने विषयलाई नै मध्यनजर गरी महोत्सव आयोजना गरिन लागेको हो।

महोत्सव सञ्चालनका लागि एक करोड खर्च लाग्ने अनुमान गरिएको छ। आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले फागुन १४ गते देखि २० गते सम्म महोत्सवको कार्य तालिका सार्वजनिक गरेको छ।

कमेन्ट लोड गर्नुस