सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिमीलाई सुम्पिएको मुटु भाग-३

२०८३ साउन २३, ०५:४३ नारायण अवस्थी

पहिलो पत्र
बाटुली गएको दिनदेखि गाउँको गोरेटो उस्तै थियो, तर त्यो बाटोमा हिँड्ने मेरा पाइला उस्तै रहेनन्।

हरेक बिहान विद्यालय जाँदा अनायासै मेरो दृष्टि खोलापारि पुग्थ्यो। जहाँबाट उनी आउने गर्थिन्, त्यहाँबाट अब केवल हावा आउँथ्यो। वन उस्तै हरियो थियो, खोलाको पानी उस्तै सङ्लो थियो, तर ती सबैमा एउटा अनुहार हराएको थियो। एउटा छाया विलुप्त भएको थियो।

स्कुल छुट्टिको दिन म वनको काफलको रुखमुनि पुगेर धेरैबेर बसिरहन्थेँ। रूखले मलाई चिनेजस्तो लाग्थ्यो। हावाले उनका कपालको सुगन्ध बोकेर ल्याएको भ्रम हुन्थ्यो। अहिले आएर हाम्रो साथ छुटे पनि, बाल्यकालका पाइला मेटिए पनि सम्झनाका डोबहरू भने मेटिएका थिएनन्।

बाटुलीले बिदाइका बेला भनेकी थिइन्, 'म चिट्ठी लेख्नेछु।' त्यही एउटा वाक्य मेरो प्रतीक्षाको आधार बनेको थियो।

त्यतिबेला अहिलेको जस्तो मोबाइल थिएन। सामाजिक सञ्जाल थिएनन्। आवाज सुन्ने कुनै उपाय थिएन। दूरी नाप्ने एउटै माध्यम थियो—हुलाक।

हरेक दिन हुलाकी विद्यालयमा आउँदा मेरो मुटु ढुकढुक गर्थ्यो। 'कतै आज...?' तर हुलाकी मेरो नाम नबोलाएरै चिठ्ठी बाँडेर फर्किन्थे। प्रतीक्षा जति लम्बिँदै गयो, सम्झना त्यति नै बाक्लिँदै गयो। एक महिना आठ दिनपछि हुलाकीले हाम्रो कक्षाको ढोकामा आएर मेरो नाम उच्चारण गरे। 'रवि को हो? चिट्ठी आएको छ।'

मेरा हात काँपिरहेका थिए।
खामको कुनामा उनको हस्तलेखन देख्नेबित्तिकै मनमा अचम्मको कम्पन उठ्यो। त्यो केवल एउटा चिट्ठी थिएन;  उनले मेरा लागि आफ्नो मुटु खामभित्र सजाएर पठाएकी थिइन्। पत्र पाउँदा उनी मेरो समिपमा आइपुगेको जस्तो अनुभूति महसुस भएको थियो।

कक्षा सक्किना साथ म भीडबाट टाढा, खोलाको किनारतिर गएँ। आँखा चिम्म गरेर खामलाई चुम्बन गरेँ अनि खाम खोलेँ। भित्र चार पाना थिए। पहिलो हरफमै लेखिएको थियोः-
'प्रिय रवि! करोडौँ माया र सम्झना।'

त्यसपछिका प्रत्येक शब्दमा उनी थिइन्।

उनले लेखेकी थिइन्, 'नयाँ सहर अझै आफ्नै भएको छैन। बाटाहरू अपरिचित छन्। मानिसहरू चिनिँदैनन्। घर छ, तर घरजस्तो अनुभूति छैन। महेन्द्रनगरको भीडमा पनि उनी आफ्नो गाउँको गोरेटो खोजिरहेकी थिइन्।
पत्रको एउटा हरफले मेरो मन चिरेको थियो, 'त्यो वन, त्यो खोला र हाम्रो गोरेटोलाई मेरो सम्झना भनिदिनू है। कहिलेकाहीँ लाग्छ, उनीहरूले मलाई खोजिरहेका होलान्।'

म पत्र पढ्दै गएँ। अक्षरहरू धमिला हुँदै गए। त्यो आँसुका कारण थियो। सायद पहिलोपटक मैले बुझेँ—कसैको सम्झनाले पनि मानिस रुन सक्छ। पत्रको अन्त्यमा उनले लेखेकी थिइन्, 'तिम्रो जवाफको प्रतीक्षामा।'

त्यो रात मैले निदाउन सकिनँ। बारम्बार पत्र पढेँ। हरेक पटक नयाँ अर्थ भेटिए। भोलिपल्ट बिहानै बजार गएँ। एउटा खाम किनेँ। नयाँ कलम किनेँ। त्यसपछि जीवनकै सबैभन्दा कठिन काम सुरु गरेँ—मनलाई शब्दमा उतार्ने काम।
मैले पनि चार पाना लेखेँ। गाउँका खबर लेखेँ। विद्यालयका कुरा लेखेँ। खोलाको पानी अझै उस्तै बगेको छ भनेर लेखेँ। काफल र उत्तिसका रूखहरू उस्तै उभिएका छन् भनेर लेखेँ। स्कुलका साथी र सरहरूका खबर लेखेँ।
तर एउटा कुरा लेख्न सकिनँ, 'तिमी नभएपछि यो गाउँ गाउँजस्तो लाग्न छोडेको छ।' यो वाक्य मेरो मनमै रह्यो। पत्रमा लेख्ने आँट भएन।

त्यही दिन मैले पहिलोपटक बुझेँ—प्रेम सधैँ 'म तिमीलाई माया गर्छु' भन्ने वाक्यबाट सुरु हुँदैन। कहिलेकाहीँ त्यो केवल एउटा पत्रबाट सुरु हुन्छ। एउटा प्रतीक्षाबाट। एउटा सम्झनाबाट। र दुई मनले एकअर्कालाई नबिर्सिने मौन प्रतिज्ञाबाट।

त्यसपछि हाम्रो जीवनमा ऋतुहरू फेरिइरहे। तर एउटा कुरा कहिल्यै फेरिएन, हुलाकीको झोलामा आउने चिट्ठीहरूको प्रतीक्षा। हामी दुवैले थाहा नपाइकन, मित्रताको त्यो पुरानो गोरेटो अब प्रेमको बाटोमा बदलिन थालेको थियो।
 

अक्षरहरूमा फक्रिएको प्रेम
मानिसहरू भन्छन्, दूरीले सम्बन्ध मजबुद हुन्छ। हाम्रो सम्बन्धमा दूरीले जरा गाडिदियो।

पहिलो पत्रको जवाफ पठाएको केही दिनपछि म फेरि प्रतीक्षामा बस्न थालेँ। अब हुलाकीको विद्यालयमा  आगमन मेरो दिनको सबैभन्दा प्रिय क्षण बनेको थियो।
उसको अनुहार देख्ने बित्तिकै मुटुको धड्कन आफैँ तीव्र हुन्थ्यो।

केही सातापछि अर्को पत्र आयो। यसपटक खाम खोल्न मलाई हतार थिएन। मैले सिकिसकेको थिएँ, बाटुलीका पत्रहरू पढ्ने होइन, बाँच्ने चीज हुन्।

उनले लेखेकी थिइन्, 'रवि, तिम्रो पत्र पढेपछि मलाई लाग्यो, म केही बेरका लागि फेरि आफ्नै गाउँ पुगेँ। तिमीले वर्णन गरेको खोलाको आवाज मैले सुनेँ। काफलको रूखको छहारीमा फेरि बसेँ। कहिलेकाहीँ सम्झनाले पनि मानिसलाई घर पुर्याखउँदो रहेछ। मेलै पत्र पढ्दा तिमीसँगै कुरा गरेको अनुभव गरेँ।'

त्यो पत्र पढेपछि मैले पहिलोपटक महसुस गरेँ, हामी अब गाउँका साथी मात्र रहेनौँ। हामी एकअर्काको एकान्तका सहयात्री बनिसकेका थियौँ।

त्यसपछि पत्रहरूको एउटा सुन्दर यात्रा सुरु भयो। हरेक महिनामा एक-दुईवटा पत्र। कहिले उनी पहिला लेख्थिन्। कहिले म।

हामीबीच कुनै सम्झौता थिएन। कुनै नियम थिएन। तर एउटा अघोषित अनुशासन थियो, प्रतीक्षा लामो हुन नदिनु। उनका पत्रहरूमा महेन्द्रनगरको वर्णन हुन्थ्यो। नयाँ विद्यालयका साथीहरू। कक्षाका शिक्षकहरू।
कहिलेकाहीँ उनी समुद्रजस्तो फराकिलो मैदानको कुरा गर्थिन्, अनि अन्त्यमा एउटा हरफ थप्थिन्, 'तर रवि, यो सहरमा हाम्रो गोरेटोजस्तो एउटा पनि बाटो छैन।'

म आफ्ना पत्रमा गाउँको मौसम पठाउँथेँ। कहिले फुलेको लालीगुराँस। कहिले पाकेको काफलको स्वादको वर्णन। कहिले खेतमा पाकेको धान। कहिले खोलामा आएको बाढी। कहिले गाउँको मेलाको रमाइलो। तर हरेक पत्रको अन्त्य एउटै हुन्थ्यो, 'तिमी राम्रोसँग पढ्नु।'

हामी दुवैलाई थाहा थियो, हाम्रो सबैभन्दा ठूलो सपना पढाइ थियो। त्यसैले प्रेमले कहिल्यै हाम्रो लक्ष्यलाई छेक्न पाएन। बरु प्रेमले नै हामीलाई अनुशासित बनायो। राति पढ्दा थकाइ लागेपछि म सोच्थेँ, 'बाटुली पनि अहिले कतै बत्ती बालेर पढिरहेकी होली।

सायद त्यही कल्पनाले थकान हराउँथ्यो। उनले पनि एकपटक लेखेकी थिइन्, 'कहिलेकाहीँ किताब खोल्दा लाग्छ, तिमी पनि यही पानामा कतै बसेर पढिरहेका छौ।'

हामीले कहिल्यै प्रेम प्रस्ताव राखेनौँ। कहिल्यै 'म तिमीलाई माया गर्छु' भनेर लेखेनौँ। तर शब्दहरूको बीचमा त्यो वाक्य सधैँ उपस्थित हुन्थ्यो। पत्रको सुरुवातमा 'प्रिय रवि' लेख्ने उनको बानी कहिले फेरिएन।
म पनि हरेक पत्र 'प्रिय बाटुली' बाटै सुरु गर्थेँ। सम्बोधन उही थियो। तर प्रत्येक पत्रसँगै त्यसको अर्थ गहिरिँदै गइरहेको थियो।

यसरी पत्रमा हाम्रो सम्वाद हुन थालेको चार वर्ष...समयका हिसाबले धेरै लामो होइन। तर मनका हिसाबले एउटा युग। ती चार वर्षमा हामीले पाँच दर्जनभन्दा बढी पत्र आदानप्रदान गर्यौँ। प्रत्येक पत्रले हामीलाई अलिकति परिपक्व बनायो। अलिकति धैर्यवान् बनायो। र धेरै गहिरो बनायो।

आज पछाडि फर्केर हेर्दा लाग्छ,  हामी प्रेममा परेको दिन सम्झन सक्दिनँ। किनकि हाम्रो प्रेम कुनै एउटा दिन जन्मिएको थिएन। त्यो त बाल्यकालको मित्रतामा बिउ बनेर उम्रिएको थियो। पत्रका अक्षरहरूले त्यसलाई पानी दिए। प्रतीक्षाले त्यसलाई हुर्कायो। विश्वासले त्यसलाई वृक्ष बनायो। अँ साच्ची, हामीले प्रेमलाई कहिल्यै मागेनौँ। सायद त्यसैले प्रेम आफैँ हाम्रो जीवनमा आएर बस्यो।

त्यतिबेलासम्म हामीलाई एउटा कुरा थाहा भइसकेको थियो- यदि संसारमा कतै एउटा मन थियो, जहाँ कुनै बनावटबिना आफूलाई राख्न सकिन्थ्यो भने, त्यो मन हामी एकअर्काकै थियो।
 

पुनर्मिलन
चार वर्षले धेरै कुरा बदलिसकेको थियो। हामी दुवै किशोरावस्थाबाट युवावस्थाको संघारमा आइपुगेका थियौँ। पत्रका अक्षरहरूमा एकअर्कालाई पढ्दै बितेका ती वर्षहरू अब एउटा नयाँ मोडतर्फ डोरिँदै थिए।

उच्च शिक्षाका लागि मैले महेन्द्रनगर जाने निर्णय गरेँ। त्यो निर्णय केवल पढाइको थिएन। त्यो निर्णयले मलाई बाटुलीसँग फेरि एउटै आकाशमुनि उभिने अवसर दिँदै थियो। महेन्द्रनगर जाने दिन रातभर निदाउन सकिनँ।

बसको झ्यालबाट बाहिर हेर्दै पहाडका घुम्तीहरू पार गरिरहेँ। प्रत्येक घुम्तीमा एउटा नयाँ कल्पना जन्मिन्थ्यो—बाटुली अहिले कस्ती देखिएकी होलिन्? मलाई देखेर उनी मुस्कुराउलिन् कि नाइ? चार वर्षको दूरीले हाम्रो सम्बन्ध बदल्यो कि अझ गहिरो बनायो? बस बिहान करिब आठ बजेतिर महेन्द्रनगर बसपार्कमा पुग्यो।

बस रोकिएपछि मेरो दृष्टि भीडमा कसैलाई खोज्न थाल्यो। अचानक एउटा परिचित मुस्कानले मेरा आँखाहरू रोकिदियो। उनी थिइन् बाटुली...

उनी आफ्नो भाइ विनोदसँगै बसपार्कमै उभिएकी थिइन्। चार वर्षअघि गाउँबाट बिदा भएकी किशोरी अब आत्मविश्वासी युवती बनेकी थिइन्।अनुहार उस्तै थियो, तर आभामा परिपक्व। आँखा उस्तै थिए, मुस्कान उस्तै थियो, तर त्यसमा चार वर्षको प्रतीक्षाको उज्यालो मिसिएको थियो।

म बसबाट झरेँ। केही क्षण हामी दुवै केही बोल्न सकेनौँ। त्यो मौनताले चार वर्षका सबै पत्रहरूभन्दा धेरै कुरा भनिरहेको थियो। उनी नै पहिले बोलिन्। 'महेन्द्रनगरमा स्वागत छ, रवि।'

यति सरल वाक्य...तर त्यो सुन्दा मलाई लाग्यो, म कुनै अपरिचित सहरमा होइन, आफ्नै मानिसकहाँ आइपुगेको छु। विनोदले मेरो झोला समात्यो। हामी रिक्सामा चढ्यौँ। रिक्सा बिस्तारै बसपार्कबाट अघि बढ्यो। बाटुलीले सहर चिनाउन थालिन्। 'यो चमनचोक...' 'यो महेन्द्रचोक...' 'यो गल्ली नम्बर चार...' उनी बाटो चिनाइरहेकी थिइन्। म भने बाटोभन्दा बढी उनको अनुहार पढिरहेको थिएँ।

सहर उनको बोलीमा बसिसकेको थियो। तर गाउँको सरलता भने अझै कतै हराएको थिएन। घर पुग्दा मोहन अंकलले आत्मीय मुस्कानसहित स्वागत गर्नुभयो। शोभा आन्टीले आफ्नै छोराजस्तै माया गरेर खाना खान बसाल्नुभयो। बज्यैले अनुहार मुसार्दै छेउमै बस्न लगाउनुभो।

त्यो घरमा पाहुनाजस्तो होइन, परिवारको सदस्यजस्तो अपनत्व थियो। त्यो अपनत्वको कारण पहाडमा हामी एउटै भूगोलको बासिन्दा हुनु थियो। उहाँहरूले मलाई चार वर्षपछि मात्रै देख्नु भएको थियो।
***
भोलिपल्ट बाटुलीसँगै कलेज गएँ। उनले कलेजका भवनहरू देखाइन्। पुस्तकालय देखाइन्। कक्षाहरू देखाइन्। फाराम भर्ने ठाउँ देखाइन्। उनी केवल कलेज घुमाइरहेकी थिइनन्। उनी आफ्नो संसारसँग मलाई परिचित गराइरहेकी थिइन्।

कलेजबाट फर्कँदा हामी समोसाको लागि प्रसिद्ध  महेन्द्रनगरको वरुण होटलमा नास्ता खान बस्यौँ। चार वर्षपछि पहिलोपटक हामी आमनेसामने यति धेरैबेर बसेका थियौँ।द पत्रमा लेखिएका धेरै कुरा त्यहाँ दोहोरिएनन्। बरु नयाँ कुराहरू जन्मिए।

उनी हाँस्दा म चुपचाप हेरिरहन्थेँ। म बोल्दा उनी ध्यान दिएर सुनिरहन्थिन्। कहिलेकाहीँ हाम्रा आँखा जुध्थे। त्यसपछि हामी दुवै मुस्कुराउँथ्यौँ। हाम्रो कुराकानीमा शब्दहरू कम थिए। समझदारी धेरै।
त्यस साँझ उनले भनिन्, रवि! 'भोलि एउटा ठाउँ लैजान्छु है।'
मैले जिज्ञासा राखेँ, 'कहाँ?' उनी आँखीभौँ तन्काउँदै बोलिन्, 'अहिले नभन्ने।'
****
भोलिपल्ट हामी सिनेमा हल पुग्यौँ। साथमा उनको भाइ विनोद पनि थियो। हलमा हिन्दी चलचित्र 'कहो ना... प्यार है' चलिरहेको थियो। पर्दामा प्रेमकथा चलिरहेको थियो। तर मेरो मनमा अर्को कथा चलिरहेको थियो। चलचित्रका पात्रहरू कहिलेकाहीँ ओझेल पर्थे। मलाई पर्दाभन्दा नजिकै बसेकी बाटुली बढी सुन्दर लागिरहेकी थिइन्।

चलचित्र सकिएपछि हामी धेरैबेर केही बोलेनौँ। सायद हामी दुवै आफ्नै–आफ्नै मौनतामा हराएका थियौँ। त्यो दिन मैले एउटा कुरा महसुस गरेँ, पत्रहरूले हामीलाई टाढा हुँदा पनि जोडेका थिए। तर आमनेसामने बसेपछि थाहा भयो, केही सम्बन्ध शब्दले होइन, उपस्थितिले पूर्ण हुन्छन्। चार वर्षपछि भएको हाम्रो पुनर्मिलन कुनै चलचित्रको दृश्यजस्तो भव्य थिएन। त्यो अत्यन्त साधारण थियो। तर जीवनका सबैभन्दा असाधारण क्षणहरू प्रायः यस्तै साधारण हुन्छन्।
त्यो दिनदेखि महेन्द्रनगर मेरा लागि एउटा सहर मात्र रहेन। त्यो बाटुली भएको ठाउँ बन्यो। र जहाँ बाटुली थिइन्, त्यहीँ मलाई घरजस्तो अनुभूति हुन थाल्यो।
 

प्रेम, जसले भविष्य लेख्यो
महेन्द्रनगरमा बितेको पहिलो साताले मलाई एउटा कुरा सिकायो—केही मानिसहरू रगतका नाताले होइन, आत्मीयताले आफ्ना बन्छन्। बाटुलीको घरमा मैले कहिल्यै पाहुनाको अनुभूति गरिनँ।

मोहन अंकलको स्नेह, शोभा आन्टीको ममता, विनोदको भाइचारा र बज्यैको आत्मीयताले त्यो घरलाई मेरो पनि घर बनाइदिएको थियो। खाना खाने बेला कसैले 'खाना खानुहोस्' भन्नुपर्दैनथ्यो। म आफैँ भान्सातिर जान्थेँ, र शोभा आन्टी हाँस्दै भन्नुहुन्थ्यो, रवि, तिमीलाई भोक लाग्यो होला, आऊ खाना खान बस, बाटुली र विनोदलाई पनि बोलाऊ।'

त्यो वाक्य सुन्दा मलाई लाग्थ्यो, म कुनै पराइ घरमा होइन, आफ्नै परिवारको बीचमा बसेको छु। एक सातापछि मैले जानकी टोलमा एउटा सानो कोठा भाडामा लिएँ। कोठा सानो थियो, तर सपना ठूलो।

बाटुलीले मेरो कोठा मिलाइदिइन्। झ्याल कुनातिर राख्ने, टेबुल कहाँ राख्दा उज्यालो राम्रो पर्छ, किताबहरू कसरी सजाउँदा पढ्न सजिलो हुन्छ—सबै कुरा उनले ध्यान दिएर मिलाइन्। 'पढ्ने मान्छेको कोठा पनि पढ्नेजस्तै हुनुपर्छ,' उनी मुस्कुराउँदै भन्थिन्।

त्यो मुस्कानमा आदेश थिएन। प्रेरणा थियो। हामी दुवै व्यवस्थापन संकायमा भर्ना भयौँ। त्यसपछि कलेजमा हाम्रो भेट नियमित हुन थाल्यो। हाम्रो सम्बन्ध पहिलेजस्तो चञ्चल थिएन। अब हामीलाई समयको मूल्य थाहा भइसकेको थियो। कलेज सकिएपछि कहिले पुस्तकालय, कहिले मेरो कोठा, कहिले उनको घर—हाम्रो भेटको उद्देश्य एउटै हुन्थ्यो, पढ्नु।

सायद यही कारण हाम्रो प्रेमले कहिल्यै हाम्रो भविष्यसँग प्रतिस्पर्धा गरेन। उसले त भविष्यलाई नै साथ दियो। मोहन अंकल सरकारी सेवामा हुनुहुन्थ्यो। उहाँको अनुशासन, अध्ययनप्रतिको लगाव र जीवन हेर्ने दृष्टिकोणले मलाई गहिरो प्रभाव पार्थ्यो।

एक साँझ उहाँले हामी दुवैलाई बोलाएर भन्नुभयो, 'डिग्री त धेरैले लिन्छन्। तर जीवनमा फरक देखिनु छ भने लोकसेवा पास गर्न सक्नुपर्छ। देशलाई इमानदार कर्मचारीको खाँचो हुन्छ। तिमी दुई जना पनि लोकसेवा तयारी थालिहाल है।'

उहाँका ती शब्दहरू सामान्य सल्लाह थिएनन्। त्यो हाम्रो जीवनको नयाँ मोड थियो। अर्को दिन हामी बजार गयौँ। लोकसेवा आयोगका पुस्तकहरू किन्यौँ। बाटुलीले एउटा किताब हातमा लिँदै भनिन्, 'रवि, हामी दुवैले नाम निकाल्ने हो।'
मैले हाँस्दै भनेँ, 'पहिला तिमी निकाल्छ्यौ, म पछि।' उनले तुरुन्तै जवाफ दिइन्, 'होइन, हामी दुवै निकाल्छौँ।'

त्यो 'हामी' शब्दले मलाई सधैँ आश्वस्त बनाउँथ्यो। हामी अब केवल आफ्ना लागि पढिरहेका थिएनौँ। हामी साझा भविष्यका लागि पढिरहेका थियौँ।

बिहान कलेज। दिउँसो पुस्तकालय। साँझ लोकसेवाको तयारी। र राति फोनमा दिनभरका शंका–उपशंकाको छलफल।   यसरी, हाम्रो प्रेमको भाषा फेरिएको थियो।

अब पत्रहरू थिएनन्। अब प्रश्नपत्रहरू थिए। अब कविता कम थिए। सपनाका योजना बढी थिए। कहिलेकाहीँ म थाकेर किताब बन्द गर्थेँ। बाटुली फोनमा भन्थिन्, 'अलिकति मात्रै बाँकी छ। पढ, तिमी सक्छौ।'

उनको त्यो एउटा वाक्य मेरो थकानभन्दा शक्तिशाली हुन्थ्यो। म पनि उनी निराश भएकी बेला भन्थेँ,
'पहिलो हुन तिमीलाई बानी नै छ। यो परीक्षा पनि तिमीले जित्छ्यौ।"

हामी एकअर्कालाई प्रेमको भाषामा होइन, विश्वासको भाषामा बल दिइरहेका थियौँ। समयले हाम्रो मेहनतको मूल्य दियो। बिबिएस दोस्रो वर्षको परीक्षा दिएलगत्तै लोकसेवाको नतिजा आयो—बाटुली खरिदार पदमा नाम निकालेर सरकारी सेवामा चयन भइन्।

खबर सुन्नासाथ म साइकल कुदाएर बाटुलीको घरमा पुगेँ, सबैभन्दा पहिले मोहन अंकललाई हेरेँ। उहाँका आँखामा गर्व थियो। शोभा आन्टी खुसीले प्रफुल्ल हुनुहुन्थ्यो भने बज्यै भगवानलाई धन्यवाद दिइरहनु भएको थियो। विनोदको प्रसन्नताको सिमा नै थिएन भने बाटुलीका आँखामा खुसीको संसार छचल्किन्थ्यो। र मेरा आँखामा... अद्भुत सन्तोष।

उनको सफलता देखेर मलाई आफ्नै नाम निस्किएजस्तो लागेको थियो। ६ महिनापछि मेरो पालो आयो। मैले नायब सुब्बामा नाम निकालेँ। त्यो दिन बाटुली फोनमा केही क्षण केही बोलिनन्। पछि बिस्तारै भनिन्, 'देख्यौ? मैले भनेकी थिएँ नि... हामी दुवै नाम निकाल्छौँ भनेर।'

म मुस्कुराएँ। त्यतिबेला मैले एउटा कुरा बुझिसकेको थिएँ, हाम्रो प्रेमले हामीलाई एकअर्काको हात समात्न मात्र सिकाएको थिएन। उसले एकअर्काको सपना बोक्न पनि सिकाएको थियो। सायद यही कारण हाम्रो सम्बन्ध समयसँग झन् उज्यालो हुँदै गइरहेको थियो। हामी प्रेममा मात्र थिएनौँ। हामी एकअर्काको भविष्य निर्माण गरिरहेका थियौँ।

जब प्रेमले नाम पायो
सरकारी जागिरले हाम्रो ठेगाना फरक बनायो, तर हाम्रो दूरी होइन।

बाटुली जिल्ला प्रशासन कार्यालय बैतडीमा खरिदारका रूपमा कार्यरत भइन्। म जिल्ला विकास समिति बझाङमा लेखापाल नियुक्त भएँ। हामीबीच अब पहाडहरू थिए, नदीहरू थिए, घुम्तीयुक्त सडकहरू थिए। तर साँझ पर्दा ती सबै दूरी एउटा टेलिफोनको घण्टीले छोट्याइदिन्थ्यो।

दिनभर सरकारी फाइलसँग बित्थ्यो। साँझ भने मनका पानाहरू खुल्थे।

हामीले दिनभरका घटना सुनाउँथ्यौँ। कार्यालयका अनुभव साट्थ्यौँ। कहिले लोकसेवाको तयारीबारे छलफल हुन्थ्यो, कहिले भविष्यका योजनाहरू। उनी बैतडीबाट सख्खर र मह पठाउँथिन्। म बझाङबाट सेतीको ताजा माछा र साइपाल क्षेत्रमा फल्ने गेडागुडी पठाइदिन्थेँ। 

उनी हाँस्दै भन्थिन्, 'तिमीलाई कसरी थाहा मेरो मनपर्ने परिकार?' म जिस्किएर भन्थेँ, 'केही कुरा सोधेर होइन, सम्झेर थाहा हुन्छ।' हाम्रो प्रेम यस्तै स-साना सम्झनाहरूमा बाँचिरहेको थियो।

एक साँझ उनको फोन आयो। स्वरमा सामान्य दिनभन्दा फरक गम्भीरता थियो। 'रवि, बज्यै आज फेरि बिहेको कुरा गर्दै हुनुहुन्थ्यो।' मैले हल्का हाँस्दै भनेँ, 'त्यो त राम्रो कुरा हो। अब बिहे गर्ने उमेर पनि त भयो।' उनी केहीबेर मौन रहिन्। त्यो मौनता असामान्य थियो। अचानक उनले सोधिन्, 'यदि मैलै बज्यैलाई तिमीसँग बिहे गर्छु भन्दिए भने?'

म केही क्षण बोल्नै सकिनँ। यति वर्षदेखि मनमा लुकाएर राखेको एउटा सपना उनले यति सहज रूपमा उच्चारण गरिदिँदा मेरो ओठबाट शब्दहरू नै झर्न सकेनन्। फोनको अर्को छेउबाट उनले फेरि भनिन्, 'चुप लागेर बस्यौ त?' मैले गहिरो सास फेरेँ। 'म तयार छु, बाटुली। तर तिम्रो परिवार...?'

उनी हाँसिन्। त्यो हाँसोमा आत्मविश्वास थियो। 'तिमी र म तयार भए पुग्छ। मेरो घरलाई मनाउने जिम्मा मेरो। तिम्रो घरलाई मनाउने जिम्मा तिम्रो।'

म पनि हाँसेँ। 'मेरो घरमा त कसैले 'नाइँ' भन्दैन। बरु तिम्रो घरमा के हुन्छ भन्ने डर थियो।' त्यसपछि उनले एउटा रहस्य खोलिन्, जसले मलाई स्तब्ध बनायो। 'रवि, मेरो घरमा त तिम्रो कुरा धेरै वर्षदेखि हुन्छ।' 'के कुरा?' मैले उत्सुक भएर सोधेँ। उनले खित्का छोड्दै भनिन्, 'आमालाई हामी चिट्ठी लेख्थ्यौँ भन्ने थाहा थियो। बुवालाई पनि।' म छक्क परेँ।

त्यसपछि उनले एक-एक गर्दै ती घटनाहरू सम्झाइन्, जसको अर्थ मैले त्यतिबेला बुझेकै थिइनँ। किन मोहन अंकलले मलाई आफ्नै छोराजस्तो व्यवहार गर्नुभयो। किन उहाँले हामीलाई सँगै बसेर लोकसेवा पढ्न प्रेरित गर्नुभयो। किन मैले नायब सुब्बामा नाम निकाल्दा उहाँले टोलभरि लड्डु बाँड्नुभयो। उहाँहरूले हाम्रो सम्बन्धलाई हाम्रो स्वीकारोक्तिभन्दा धेरै पहिलेदेखि पढिसक्नुभएको रहेछ।

म केहीबेर मौन भएँ। मनमा एउटा अनौठो कृतज्ञता भरियो। त्यो प्रेम केवल हाम्रो थिएन। दुई परिवारले पनि त्यसलाई मौन रूपमा आशीर्वाद दिइरहेका रहेछन्।

केही दिनपछि मैले आफ्ना बुबाआमासँग कुरा गरेँ। घरमा कसैले विरोध गरेनन्। बरु आमाले मुस्कुराउँदै भन्नुभयो, 'हामीले त धेरै पहिलेदेखि अनुमान गरेका थियौँ।'

त्यसपछि दुवै परिवारबीच औपचारिक कुरा भयो।दसैँको शुभ साइतमा इन्गेजमेन्ट गर्ने र मंसिरमा विवाह गर्ने निर्णय भयो। दसैँ आयो। घरमा सामान्य तर आत्मीय वातावरणमा इन्गेजमेन्ट सम्पन्न भयो। न कुनै ठूलो तामझाम। न अनावश्यक प्रदर्शन।

केवल दुई परिवारका खुसी अनुहार, केही आत्मीय शुभेच्छा र हाम्रो मौन मुस्कान। इन्गेजमेन्टपछि  संसार नै बदलिएको जस्तो लाग्न थाल्यो। अब हामी भविष्यको कल्पना खुला रूपमा गर्न सक्थ्यौँ।

फोनमा रात अब छिट्टै सकिन्थेन। हामी घरको नक्सा बनाउँथ्यौँ। कतिवटा कोठा हुने? आँगनमा कुन रुख रोप्ने? कतिवटा सन्तान? छोरा भयो भने के नाम राख्ने? छोरी भए के नाम राख्ने? अधिकृत कहिले बन्ने? उपसचिवसम्म पुग्न कति वर्ष लाग्ला?

हामी सपनाहरूको एउटा घर बनाइरहेका थियौँ। त्यो घर इँटा र सिमेन्टले होइन, विश्वास, परिश्रम र प्रेमले बनेको थियो।

मंसिर आउन अब एक महिना मात्र बाँकी थियो। बिहेका लागि आवश्यक सामानको सूची तयार भयो। म आफ्नो घर फर्किएँ। बाटुली पनि किनमेलको तयारीमा जुटिन्। 

हामीलाई के थाहा—जीवनले पनि कतै आफ्नै एउटा सूची तयार गरिरहेको रहेछ। त्यस सूचीमा हाम्रो विवाह लेखिएको थिएन। केही यस्ता नियतिहरू लेखिएका रहेछन्, जसलाई पढ्ने साहस मानिससँग हुँदैन।
**
मंसिर आउन अब केही सातामात्र बाँकी थियो। घरमा विवाहको तयारी सुरु भइसकेको थियो।

मेरो घरमा आमाले बेहुलाका लुगा सिउन दिनुभएको थियो। बुबाले आफन्तको सूची बनाइरहनुभएको थियो। गाउँभरि कसैले भेट्दा एउटै प्रश्न सोध्थ्ये, 'रवि, अब त बेहुला हुने भइस्, है?'

म लजाउँदै मुस्कुराउँथेँ। उता महेन्द्रनगरमा बाटुली पनि विवाहको तयारीमा व्यस्त थिइन्। कहिले साडी किन्ने कुरा हुन्थ्यो, कहिले निम्तापत्रको। कहिले उनी फोनमा जिस्किएर भन्थिन्,

'तिमी त विवाहपछि पनि किताबमै हराउने हो कि?' म हाँस्दै भन्थेँ, 'तिमी नभए किताब पनि पढिँदैन।' हाम्रो कुराकानी अब वर्तमान भइसकेको थियो। हामी अब सपना देखिरहेका थिएनौँ। सपना बाँचिरहेका थियौँ।

एक साँझ उनले फोनमा भनिन्, 'रवि, एउटा कुरा भनूँ?' 
'भन न।'
'मलाई अहिले पनि कहिलेकाहीँ डर लाग्छ।'
'केको डर?'
'यति धेरै खुसी भएपछि भगवान्ले परीक्षा लिने हो कि जस्तो...'

मैले तुरुन्तै उनको कुरा काटेँ। 'अब कुनै परीक्षा बाँकी छैन, बाटुली। धेरै परीक्षा दिइसक्यौँ। अब त हाम्रो पालो खुसी हुने हो।' फोनको अर्को छेउबाट उनी हल्का हाँसिन्। 'तिमी पनि कति ढुक्क बोल्छौ!' त्यो हाम्रो अन्तिम लामो कुराकानी थियो।
...
केही दिनपछि उनी आफ्नी आमासँग विवाहका लागि आवश्यक सामान किन्न धनगढी निस्किएकी रहिछिन्। म त्यो दिन बझाङमै कार्यालयमा थिएँ। दिउँसो कार्यालयको फोन बज्यो। सहकर्मीको अनुहार अचानक गम्भीर भयो। उनले बिस्तारै मेरो काँधमा हात राखे।
'रवि...'
म अताल्लिएँ।
'के भयो?'
उनले केही क्षण बोल्न सकेनन्।
त्यसपछि यति मात्रै भने, 'बाटुली चढेको गाडी दुर्घटनामा परेछ।'

त्यसपछिको क्षण मेरो जीवनको सबैभन्दा लामो क्षण हो। मलाई के भयो, कसरी भयो, आजसम्म सम्झन सक्दिनँ। कसैले भन्यो, म त्यहीँ ढलेँ। कसैले भन्यो, मेरो मुटु एक्कासि च्यापियो। कसैले भन्यो, म होस गुमाएर रोइरहेको थिएँ। तर मलाई केही याद छैन।

जब आँखा खुले, म अस्पतालको शय्यामा थिएँ। वरिपरि सेता भित्ताहरू। नाकमा अक्सिजन। हातमा सलाइन। आँखा खोल्नेबित्तिकै मैले पहिलो प्रश्न सोधेँ, 'बाटुली... कहाँ छ?' आमाले मेरो निधार छोएर भन्नुभयो, 'उसलाई दिल्ली लगिएको छ। उपचार हुँदैछ। तिमी केही नसोच।'

म विश्वास गर्न चाहन्थेँ। किनभने विश्वास गर्नुबाहेक मसँग अर्को विकल्प थिएन। दिन बिते। रात बिते।औषधीहरूले शरीरलाई शिथिल बनायो। तर मन जागै थियो। म पटक-पप६क सोध्थेँ, 'बाटुलीलाई भेट्न कहिले जाने?'
सबैले एउटै उत्तर दिन्थे, 'तिमी निको भएपछि।'

त्यतिबेला मलाई थाहा थिएन, मेरो उपचार केवल शरीरको भइरहेको थिएन। मलाई एउटा यस्तो सत्यबाट जोगाइँदै थियो, जसले मेरो सम्पूर्ण जीवनलाई एकैचोटि उजाड बनाएको थियो।

अस्पतालको झ्यालबाहिर मंसिरको घाम उदाइरहेको थियो। सायद त्यही दिन कतै विवाहको मण्डप पनि सजिँदै थिए होलान्। कुनै घरमा शहनाइ बजिरहेको होला। 

तर हाम्रो मण्डप... भाग्यले सजिन नदिई आधामै भत्काइदिएको थियो। कहिलेकाहीँ जीवनले सबैभन्दा ठूलो क्रूरता त्यसबेला गर्छ, जब उसले मानिसलाई सबैभन्दा धेरै खुसी हुन दिएको हुन्छ। किनकि त्यसपछि आउने पीडाको गहिराइ मापन गर्ने कुनै उपकरण नै हुँदैन।
***
अस्पतालको शय्यामा बिताएका दिनहरूको कुनै स्पष्ट स्मृति मसँग छैन। डाक्टरहरूले पछि भने, मलाई आएको हृदयाघात केवल शारीरिक थिएन, त्यो असह्य मानसिक आघातको परिणाम थियो। औषधीको मात्रा जानाजानी बढाइएको थियो, ताकि म पूर्ण चेतनामा नआऊँ। परिवार डराएको थियो, यदि मैले एकैचोटि सबै सत्य थाहा पाएँ भने, सायद मेरो मुटुले अर्को चोट सहन सक्ने सामर्थ्य राख्थेन। 

मलाई बारम्बार एउटै कुरा भनिन्थ्यो, 'बाटुलीको दिल्लीमा उपचार भइरहेको छ।' म त्यसैलाई सत्य मानेर बाँचिरहेँ। हरेक बिहान उठ्दा पहिलो प्रश्न त्यही हुन्थ्यो। हरेक रात निदाउनुअघि अन्तिम सम्झना पनि त्यही हुन्थ्यो। 'उनी निको हुँदैछिन्।'

सायद आशा भनेको मानिसले आफैँलाई सुनाउने सबैभन्दा सुन्दर झूट हो। एक महिना पन्ध्र दिनपछि अस्पतालबाट डिस्चार्ज भएँ। शरीर बिस्तारै उठ्न थालेको थियो। तर मन अझै एउटा मात्रै यात्रामा निस्कन चाहन्थ्यो—बाटुलीलाई भेट्न।
घर पुगेको दोस्रो दिन मैले आमासँग भनेँ, 'अब महेन्द्रनगर जानुपर्छ।' आमाले मेरो अनुहार हेर्नुभयो। त्यो हेराइमा शब्दभन्दा धेरै पीडा थियो। उहाँ केही बोल्न सक्नुभएन।

त्यस साँझ बुबाले मेरो छेउमा बसेर धेरैबेर मौनता साध्नुभयो। मलाई त्यही मौनताले डराउन थाल्यो। अन्ततः उहाँले बिस्तारै भन्नुभयो, 'रवि... अब सत्य लुकाएर फाइदा छैन।'
मेरो मुटु फेरि अस्वाभाविक रूपमा धड्किन थाल्यो।
'के भयो?'
बुबाको स्वर काँपिरहेको थियो। 'बाटुली... दुर्घटनाकै दिन... हामीलाई छोडेर गएकी थिइन्।'

त्यसपछि संसार रोकियो। म रोएँ कि कराएँ, मलाई याद छैन। म भुइँमा ढलेँ कि कुर्सीमै बसिरहेँ, त्यो पनि सम्झना छैन। तर एउटा कुरा आज पनि स्पष्ट सम्झन्छु, त्यो क्षण मभित्र केही सधैँका लागि मरेको थियो। पछि  मात्रै थाहा पाएँ—दिल्लीको उपचारको कथा मलाई बचाइराख्न बनाइएको थियो।

मेरो शरीर बच्यो। तर मेरो भविष्य बचेन। मंसिरमा जन्ती जानुपर्ने म, श्राद्धको खबर सुनेर बाँचिरहेको रहेछु। जसका लागि संसार रचाउने सपना देखेको थिएँ, उनैका लागि सेतो कपडामा आँसु बगाउन पनि म उपस्थित हुन सकिनँ। त्यो पीडा शब्दले धान्न सक्दैन।

केही दिनपछि म महेन्द्रनगर गएँ। बाटुलीको घरको ढोकासम्म पुग्दा पाइला भारी भएका थिए। त्यो घर, जहाँ म कहिल्यै पाहुना जस्तो भएको थिइनँ, आज मलाई आफ्नै उपस्थितिसमेत अपरिचित लागिरहेको थियो। ढोका खोल्नेबित्तिकै शोभा आन्टी मलाई देखेर रुन थाल्नुभयो। म केही बोल्न सकिनँ।

मोहन अंकल निकै दुब्लाइसक्नुभएको उहाँ सेतो पहिरनमा हुनुहुन्थ्यो। विनोदको आँखामा उमेरभन्दा धेरै पीडा देखिन्थ्यो।
र...
बज्यै पनि  हुनुहुन्नथ्यो। बाटुली गएको एक महिनापछि उहाँले पनि संसार छोड्नुभएको रहेछ।

घरभरि बाटुली थिइन्। उनका किताबहरू। उनको हस्तलेखन। उनले रोजेको पर्दा। उनको चियाको कप। उनको हाँसो सम्झाउने तस्बिर। तर उनी स्वयं थिइनन्।

त्यो घरमा त्यो दिन सबै रोयौँ। कसैले कसैलाई सम्झाउन सकेन। किनकि हामी सबै एउटै मानिस गुमाएर बसेका थियौँ। साँझ पर्दै थियो। सबैले मलाई त्यहीँ बस्न आग्रह गर्नुभयो। तर मेरो मनलाई एउटा ठाउँले बोलाइरहेको थियो। म चुपचाप निस्किएँ। र सोझै कृष्ण मन्दिर पुगेँ।

त्यो मन्दिर, जहाँ वर्षौँअघि बाटुलीसँग पहिलोपटक भविष्यका कुरा गरेको सम्झना थियो। मन्दिरको प्राङ्गणमा त्यो रात म एक्लै थिएँ। आकाशभरि ताराहरू थिए। तर मेरो जीवनको सबैभन्दा उज्यालो तारा अस्ताइसकेको थियो।

रातभर निदाइनँ। कहिले भगवान्को मूर्तितिर हेरेँ। कहिले आकाशतिर। कहिले आफ्नै हाततिर। मनमा एउटा प्रश्न बारम्बार उठिरह्यो, 'यदि प्रेमको अन्त्य बिछोड नै हो भने, भगवान्ले भेट गराउनुको अर्थ के थियो?' उत्तर कतैबाट आएन।

तर विहान हुनै लाग्दा मनभित्र एउटा गहिरो शान्ति जन्मियो। मलाई लाग्यो—बाटुलीसँग मैले गरेको प्रेम विवाहमा पुगेर मात्र पूर्ण हुने प्रेम थिएन। त्यो त आत्मासँग जोडिएको सम्बन्ध थियो। म बिस्तारै उठेँ। कृष्णको मूर्तिअगाडि हात जोडेर एउटा मौन संकल्प गरेँ, 'यो मुटु एकपटक तिमीलाई सुम्पिएको थिए, बाटुली। अब यो जीवनभर कसैलाई सुम्पिने छैन। तिमी मेरो जीवनमा पत्नी भएर आउन सकिनौ, तर मेरो आत्मामा तिमी सदैव रहनेछौ। अर्को जन्म छ भने, अधुरा सपना त्यहीँ पूरा गरौँला।'

त्यो दिनदेखि मैले विवाह नगर्ने निर्णय गरेँ। त्यो कुनै क्रोधको निर्णय थिएन। यो कुनै आवेगको निर्णय थिएन। त्यो प्रेमप्रतिको निष्ठाको निर्णय थियो। मानिसहरूले त्यसलाई त्याग भने। कसैले पागलपन भने। कसैले भावुकता भने। तर मेरो लागि त्यो केवल एउटा वचन थियो— मृत्युले बाटुलीको शरीर लिएर गयो, तर मेरो प्रेमलाई छुन सकेन।
****
पचास वर्ष...
पात्रोका लागि यो केवल समय हो। तर प्रतीक्षा गर्नेका लागि यो एउटा युग हो।

आज मेरो कपाल हिउँजस्तै सेतो भएको छ। अनुहारका चाउरीहरूले समयको इतिहास लेखेका छन्। हिँड्दा लठ्ठीको सहारा चाहिन्छ। तर एउटा कुरा भने समयले बदल्न सकेन—मेरो स्मृति।

बाटुली आज पनि मसँगै छिन्। उनी बिहानको पहिलो किरणसँग आउँछिन्। साँझको पहिलो तारासँग मुस्कुराउँछिन्। कहिलेकाहीँ सल्लाको सुगन्धमा भेटिन्छिन्। कहिले सिमलको भुवाँमा भेटिन्छिन्। कहिले वर्षाको पहिलो थोपामा त कहिले कुनै सानी छात्राको निर्मल मुस्कानमा।

मलाई धेरैले सोधे, 'तपाईंलाई एक्लोपन लाग्दैन?' म मुस्कुराएर भन्छु, 'जुन मानिससँग सम्झनाको यस्तो विशाल संसार हुन्छ, ऊ कहिल्यै एक्लो हुँदैन।'

बाटुलीलाई मैले गुमाएपछि एउटा कुरा बुझेँ-प्रेमलाई जोगाउने सबैभन्दा सुन्दर उपाय आँसु होइन, अर्थपूर्ण कर्म रहेछ। त्यसैले मैले उनको नामलाई रुवाएर होइन, बचाएर राख्ने निर्णय गरेँ। उनकै सम्झनामा एउटा सानो शैक्षिक कोष स्थापना गरेर आर्थिक अभावका कारण पढ्न नसक्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति दिन थालेँ।

हरेक वर्ष कसै न कसैको हातमा किताब पुग्दा मलाई लाग्थ्यो—कुनै कुनामा बाटुली फेरि मुस्कुराइरहेकी छिन्। बिस्तारै त्यो सानो प्रयास ठूलो बन्दै गयो। वर्षौँको यात्रामा एक सय आठ जना विद्यार्थीले उच्च शिक्षा पूरा गरे।
कोही शिक्षक बने। कोही प्रशासक। कोही चिकित्सक। कोही अभियानकर्मी।

उनीहरू बेला–बेलामा मलाई भेट्न आउँछन्। 'हजुरले साथ नदिनुभएको भए हामी यहाँसम्म आइपुग्दैनथ्यौँ,' उनीहरू भन्छन्।

म भने मनमनै अर्को नामलाई धन्यवाद दिन्छु। उनी हुन् मेरी बाटुली। किनकि यो सबै उनको प्रेमले सम्भव बनाएको थियो।

एक दिन तीमध्ये एउटी छात्राले मलाई सोधिन्, 'हजुर, यो छात्रवृत्तिको नाम 'बाटुली' किन राख्नुभएको?'

मैले केही क्षण झ्यालबाहिर हेरेँ। हावाले सिमलको भुवा उडाएर ल्याइरहेको थियो। मैले बिस्तारै उत्तर दिएँ, 'किनकि मेरो जीवनमा एउटी यस्ती मानिस थिइन्, जसले मलाई पढ्न सिकाइन्, राम्रो मानिस बन्न सिकाइन्, अनि प्रेमको सबैभन्दा पवित्र अर्थ बुझाइन्।'

ती छात्राले फेरि सोधिन्, 'उहाँ अहिले कहाँ हुनुहुन्छ?' मैले आकाशतिर हेरेँ। हल्का मुस्कुराएँ। र भनेँ, 'जहाँ साँचो प्रेम कहिल्यै मर्दैन।'
****
आज फेरि म कृष्ण मन्दिरको त्यही प्राङ्गणमा उभिएको छु। यही ठाउँमा मैले पचास वर्षअघि एउटा मौन वचन दिएको थिएँ। आज त्यो वचन पूरा भएको छ। मैले कसैलाई धोका दिइनँ। मैले बाटुलीलाई पनि बिर्सिनँ। र जीवनलाई पनि घृणा गरिनँ। बरु प्रेमलाई सेवा बनाउने प्रयास गरेँ।

धेरैले सोच्छन्, मेरो जीवन अधुरो रह्यो। म भने त्यसो मान्दिनँ। अधुरो त हाम्रो विवाह रह्यो। प्रेम कहिल्यै अधुरो रहेन। किनकि प्रेमको पूर्णता सिन्दूरमा होइन, समर्पणमा हुन्छ। 

सात फेरा घुमेर मात्रै सम्बन्ध अमर हुँदैन। हामीले विवाह गर्न पाएनौँ। तर आज पनि मलाई लाग्छ, प्रेमको मापन विवाहले होइन, मनले गर्छ। बाटुली मेरो जीवनमा श्रीमती बन्न सकिनन्, तर उनी मेरो जीवनको अन्तिम प्रेम भने बनिरहिन्।

कहिलेकाहीँ एउटै वचनले पनि जन्मौँसम्म साथ दिन्छ। आज यदि भगवान्ले मलाई 'रवि, जीवनमा सबैभन्दा ठूलो उपलब्धि के रह्यो?' भनेर सोधे भने। म कुनै जागिरको नाम लिनेछैन। कुनै पदको पनि होइन। म केवल यति भन्नेछु, 'मलाई प्रेम गर्न आएकी एउटी बाटुली थिइन्। मैले उनलाई जीवनभर प्रेम गर्न पाएँ।'

सायद यही प्रेमको अन्तिम सत्य हो। प्रेम भनेको सँगै बाँच्नु मात्र होइन। प्रेम भनेको बिछोडपछि पनि एउटै मुटुमा प्रेमी/प्रेमिकालाई जीवनभर सम्मानपूर्वक जीवित राख्न सक्नु हो।

त्यसैले आज पनि कसैले मेरो जीवनको कथा सोध्यो भने म केवल यति भन्छु, 'मेरो जीवनमा एउटी बाटुली थिइन्। उनी धेरै वर्षअघि यो संसारबाट गइन्। तर आजसम्म मेरो संसारबाट कहिल्यै गएकी छैनन्।'
 अस्तु।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस