‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्चमा रिट
काठमाडौं– रसुवागढी बाढीपछि उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, सैनिक दर्जा र दज्र्यानी चिह्न प्रयोग गरेको भन्दै अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले रिट दायर गरेका हुन्।
रिटमा ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज गर्न तथा सैनिक शैलीको पोसाक, दर्जा र चिह्न प्रयोगमा रोक लगाउन माग गरिएको छ। साथै संस्थालाई त्यस्तो अनुमति दिने सरकारी निकायका निर्णयसमेत बदर गर्न माग गरिएको छ।
निवेदकहरूले गैरसरकारी संस्थाले ‘क्याडेट’, ‘ब्रिगेडियर’, ‘मार्सल’ र ‘चिफ मार्सल’जस्ता सैनिक पदनाम प्रयोग गर्नुका साथै नेपाली सेनासँग मिल्दोजुल्दो संरचना र पोसाक प्रयोग गर्दा सर्वसाधारणमा सुरक्षा निकायसँग सम्बन्धित रहेको भ्रम सिर्जना हुने दाबी गरेका छन्।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज कल्याण परिषद् र सम्बन्धित सरकारी निकायलाई विपक्षी बनाइएको छ। शुक्रबार दायर भएको रिटको पहिलो पेसी सोमबार तोकिएको छ।