भारतमा आएको बाढीका कारण त्रिनगर–गौरीफन्टा नाकाबाट हुने सवारी आवागमन बन्द
धनगढी: भारतको उत्तर प्रदेशमा आएको बाढीका कारण कैलालीको त्रिनगर–गौरीफन्टा नाकाबाट हुने आयात प्रभावित भएको छ । भारततर्फको सडक अवरुद्ध भएपछि तीन दिनदेखि मालवाहक सवारीसाधनको आवागमन रोकिएको हो ।
भारतको पलिया–गौरीफन्टा सडकअन्तर्गत वंशीनगर क्षेत्रमा बाढी पसेर सडकमा रहेको रपटा (फ्लटिङ) पुलका दुई ठाउँ भत्किएपछि भारतीय पक्षले आवागमन बन्द गरेको बताइएको छ । बाढीका कारण पलिया र दुधुवासम्म मोहना र सुहेली नदीको पानी पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नाकाबाट सवारी आवागमन रोकिँदा सुदूरपश्चिमका लागि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको त्रिनगर भन्सार कार्यालयले जनाएको छ । विशेषगरी पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास, खाद्यान्न, फलफूल तथा तरकारी र निर्माण सामग्रीको आयातमा असर परेको छ ।
आयात रोकिएपछि नाकामा मालवाहक सवारीसाधनको आवागमन समेत प्रभावित भएको छ । भारततर्फ सडक तथा पुलमा भएको क्षतिको मर्मत र बाढीको अवस्था सामान्य नभएसम्म नाका सञ्चालनमा कठिनाइ हुने देखिएको छ ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार भारतले तीन दिनदेखि आवागमन बन्द गरेको छ । नाकाबाट आवागमन कहिलेदेखि पुनः सञ्चालन हुन्छ भन्नेबारे अहिलेसम्म भारतीय पक्षबाट स्पष्ट जानकारी नआएको उनले बताए ।
त्रिनगर नाका सुदूरपश्चिममा पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत दैनिक उपभोग्य तथा औद्योगिक सामग्री भित्र्याउने प्रमुख नाका हो । लामो समय आवागमन बन्द रहेमा यसको प्रत्यक्ष असर बजारमा आपूर्ति र वस्तुको मूल्यमा समेत पर्न सक्ने देखिएको छ।