सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी संगीता धामी : समाजसँग पौठेजोरी खेल्दाखेल्दै कुस्तीमा च्याम्पियन

२०७६ मंसिर २३, १०:२०

संगीता धामी दक्षिण एशियाली खेलकुद (साग)मा नेपाललाई इतिहासमै पहिलोपटक कुस्तीमा स्वर्ण पदक दिलाएर अहिले चर्चामा छिन्। शनिवार ५५ किलो तौल समूहको खेलमा उनले बाङ्ग्लादेशलाई हराउँदै नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भएकी हुन्।

यो दक्षिण एशियाली स्तरका खेल प्रतियोगिताहरूमा कुस्तीतर्फ नेपालले पाएको हालसम्मकै पहिलो स्वर्ण पदक हो। देशलाई स्वर्ण पदक दिलाउन जसरी उनले खेल मैदानमा प्रतिष्पर्धीसँग संघर्ष गरिन् त्यसभन्दा धेरै त उनले आफ्नै समाजसँग पौठेजोरी खेल्नुपर्‍यो।

उनका अनुसार बावुले छाडेकी आमाको एक्लो बुताले परिवार पाल्नुपर्दा निकै कठिन थियो। तर पनि आफ्नी आमाले हार नमानेको उनी बताउँछिन्। त्यसैले गर्दा उनले स्वर्ण पदक जित्नेबित्तिकै भावुक हुँदै भनिन्, "मैले यो पदक मेरी आमाका लागि समर्पण गरेकी छु।"

"गुरुहरूले राम्रो प्रशिक्षण दिएका कारण मैले सफलता पाएकी हुँ। जसरी पनि स्वर्ण जित्छु भन्ने मनमा आँट थियो, त्यो पूरा भएको छ।"

दुई वर्षको मेहनत

धामीले दुई वर्ष अघिदेखि कुस्ती खेल्न सुरु गरेकी हुन्। उनका अनुसार सुरुमा उनले आफ्नै जिल्लामा राजेन्द्र चन्दसँग कुस्ती खेल्न सिकेकी थिइन्।सागको छनोट खेलमा बोलाइएपछि "आफ्नो आत्मबल बढेको" उनी बताउँछिन्।

सागको बन्द प्रशिक्षणका क्रममा भने उनले ब्रहमदेव यादवसहितका प्रशिक्षकसँग खेल सिकेकी थिइन्। "स्वर्ण जित्दा पाएको हौसलाले आगामी दिनमा अझ राम्रो गर्ने आत्मविश्वास बढेको छ," धामी भन्छिन्, "कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा मैले भाग लिएको यो नै पहिलो पटक हो, पहिलो पटकमै स्वर्ण जित्दा निकै खुसी लागेको छ।"

संगीतालाई समाजमा पुरुष पहलमानहरूले मात्र खेल्ने खेल भन्ने छाप बसेको कुस्तीमै भविष्य बनाउने रहर छ। तर सानैदेखि आर्थिक र पारिवारिक समस्याहरूसँग जुध्दै आएकी उनलाई खेल क्षेत्रमै भविष्य बन्ला कि नबल्ला भन्ने चिन्ता पनि छ। शिक्षाशास्त्र अन्तर्गत स्वास्थ्य विषय लिएर स्नातक गरिरहेकी उनी खेललाई निरन्तरता दिन नपाए भविष्यमा अध्ययन सकेर जागिर खाने बताउँछिन्।

आमाको भनाइ

पतिले साथ छाडे पनि छोरीलाई छोरासरह मानेर उनीहरूको भविष्यकै लागि संघर्ष गरिरहेकी संगीताकी आमालाई पनि छोरीको यो सफलताले भावुक र रोमाञ्चक बनाएको छ। कञ्चरपुरस्थित आफ्नै घरमा रहेकी धनादेवीले भनिन्, "आखिर छोरीले पनि छोराको भन्दा बढ्ता खुसी दिन सक्ने रहेछन्। अहिले संगीताले मलाई त्यस्तै खुसी दिएकी छ। छोरी मात्रै भए भनेर मलाई श्रीमान्‌ले छाडेर गए पनि अहिले ममा खुसीको सीमा छैन।"

छोरीको कीर्तिमानीपछि बावुबारे सार्वजनिक भएको टिप्पणीमाथि बावुका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। खेल सकिएपछि पनि जनकपुरमै रहेकी संगीतालाई आइतवार दिउँसो बीबीसी संवाददाताले भेट्दा उनलाई अन्तर्वार्ता दिन भ्याइनभ्याइ थियो।

संगीताले मोबाइलमा आफ्नोबारे आएका समाचारहरू स्क्रोल गर्दै बीबीसी संवाददातासँग भनिन्, "मलाई सानैदेखि सेना मन पर्छ त्यसैले अवसर पाए भने म सेनामा भर्न भएर देशको सेवा गर्न चाहन्छु। त्यहाँबाट खेल्न पनि पाइन्छ।"

सागमा पदक जित्ने हरेक खेलाडीका आ-आफ्नै कथाहरू छन्, कतिका संघर्षका त कतिका तीतामिठा अनुभवका।

तर अन्य धेरै खेलाडीहरू र संगीतामा के फरक छ भने धेरेले सफलताका लागि कि त बावु कि प्रशिक्षकलाई श्रेय दिएका छन्, संगीताले चाहिँ आमालाई श्रेय मात्र दिएकी छैनन्, आफ्नो पदक नै समर्पण गरेकी छिन्। त्यसको कारणबारे उनी भन्छिन्, "‍सानैदेखि हामीलाई आमाले धेरै दु:ख गरेर कुनै कुरामा कमी हुन नदिइकन शिक्षादिक्षा दिनुभयो त्यसैले म उहाँलाई र गुरुहरूलाई यो पदक समर्पण गर्न चाहन्छु।" बिबिसीबाट साभार

 

कमेन्ट लोड गर्नुस