सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झनामै रह्यो टिम अस्पताल (भिडियो सहित)

२०७६ कार्तिक ३०, ०३:३५ नवराज पनेरु

२०२२ सालको कुरा हो, डाक्टर सिमनकी छोरी डौउनलाई अझै सम्झना छ– ‘पहिलो पटक डडेल्धुरा पुग्दा न अहिले जस्तो बजार थियो न त गाउँ नै।’ उनका अनुसार डाक्टर सिमनले डडेल्धुराको पोखरा स्थित नदीको किनारमै एउटा कोठामा मेडिकल सञ्चालन गर्दै सोही बर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेका थिए। ‘एउटै कोठा थियो, सोही कोठामा बुवाले विरामीको जाँच गर्थे, सोही कोठामा उपचार हुन्थ्यो अनि सोही कोठामा शल्यक्रिया पनि हुन्थ्यो।’ डौउनले भनिन्। 

पछि मेडिकलमा विरामीको सङख्या पनि बढ्दै गयो र मेडिकलले पनि टिम अस्पतालको रुप लिन थाल्यो। एकै दिन ४ सय जना विरामीले सेवा लिएको सम्झना पनि डौउनसंग छ। सुदूरपश्चिम र मध्यपश्चिमबाट मात्र होईन सीमा क्षेत्रका भारतीय बजार र गाउँवाट पन विरामी टिम अस्पताल पुग्थे। डौउनकी आमा अर्थात डाक्टर सिमनकी श्रीमतीले शल्यक्रिया गर्दा विरामीलाई बेहोस पार्ने काम गर्थिन्। 

‘अहिले जस्तो न उपकरण थियो, न त पर्याप्त स्वास्थ्यकर्मी नै थिए,’ डौउनले दिनेश खवरसंग कुरा गर्दै भनिन्, ‘अधिकासं समय अस्पतालमा बुवा, आमा मात्रै हुन्थे पछि अन्य देशबाट पनि विशेषज्ञ डाक्टर आएपछि सेवा पनि प्रभावकारी हुँदै गयो।’ सो बेलामा टिम नेपाल मार्फत सञ्चालन हुँदै आएको अस्पताल पोखरा नजिकैको नदी किनारमै थियो। 

तत्कालिन टिम अस्पतालमा १९ बर्ष सम्म काम गरेका डडेल्धुरा दमडाका मेघराज भट्टका अनुसार जिल्ला सदरमुकाममा अस्पताल सञ्चालन भए सेवा प्रवाहमा थप सहजता हुने र स्वास्थ्य सेवामा सर्वसाधरणको पहुँच पनि बढ्दै जाने भन्दै अस्पताललाई सो क्षेत्रबाट सारिएको हो। ‘सो समयमा १० जना सम्म विदेशी विशेषज्ञ डाक्टर अस्पतालमा कार्यरत रहे। जापाना, अमेरीया, क्यानेडाबाट पनि डाक्टर आउथे,’ उनले भने, ‘जव अस्पताल बन्द भयो धेरै डाक्टर रुँदै आफ्नो घर फर्किएका थिए।’ 

उनका अनुसार नेपाल सरकारले विदेशी डाक्टरलाई भिषा निरन्तरता दिन आनाकानी गरेपछि उनीहरुले डडेल्धुरा छोडेका हुन्। टिम अस्पताल सञ्चालनको नाममा धर्म परिवर्तन गराउने खेल भईरहेको भन्दे तत्कालिन समयमा राजनीतिक दल मार्फत विरोध पनि भएको सम्झना भट्टलाई छ।

टिम नेपालले अस्पताल सञ्चालन गर्न छोडेपछि मानव विकास तथा सामुदायिक सेवाले पनि ५ बर्ष सम्म अस्पताल सञ्चालन गरेको थियो भने २०७० सालमा सोही अस्पताल र जिल्ला अस्पताललाई मिलाउँदै उपक्षेत्रीय अस्पताल घोषणा गरिएको हो। सोही समयदेखि डडेल्धुरामा स्वास्थ्य सेवा पाउन मुस्किल भएको तर्क धेरैको छ। 

५१ बर्ष अगाडी २०२५ सालमा लुतो लागेपछि पहिलो पटक टिम अस्पतालमा उपचारका लागि पुगेका बैतडीका कृष्णवहादुर ऐरले सोही अस्पताललाई सम्झिदै भने– ‘सो समयमा टिम अस्पतालले कैयौ बिरामीको निशुल्क उपचार गरेर ज्यान बचायो, डाक्टर सिमनले दिनुभएको सेवा जनताले कहिल्यै बिर्सिने छैनन्।’

डाक्टर सिमनलाई सरकारले भिषा दिन अटेरी गरेपछि डडेल्धुरा अस्पतालको दुरगती भएको बताउँदै उनले भने, ‘अमेरिका जस्तो देशबाट आएर नेपालको दुर्गम क्षेत्रमा अस्पताल खोलेर निशुल्क उपचार गराउनु चानचुने कुरा थिएन्।’ 
नागरिक समाज डडेल्धुराका संयोजक नरेश जोशीले पनि अहिले टिम अस्पतालको सम्झना मात्रै बाँकी रहेको सुनाए।

‘उपक्षेत्रीय अस्पताल घोषणा भएपछि स्वदेशी डाक्टरबाटै विशेषज्ञ सेवा पाउने आशा पलाएको थियो,’ जोशीले भने, ‘तर अहिले आएर नाममा मात्रै स्तरोन्नति हुने तर सेवा खस्किदै गएपछि टिम अस्पतालको आवश्यकता महसुस भएको छ।’

किन बन्द भयो टिम अस्पताल

टिम अस्पतालमा कार्यरत विदेशी डाक्टर र स्वास्थ्यकर्मीले तलव पनि पाउथेनन् भने उनीहरुले अस्पतालको आवासमा बस्दा र अस्पतालको गाडी प्रयोग गर्दा पनि भाडा तिर्नु पथ्र्यो। अस्पतालमा विरामीको उपचार बापत संकलन हुने रकम नेपाली कर्मचारीका लागि मात्रै थियो।

अस्पताल पोखराबाट डडेल्धुरा सदरमुकाम नजिक सरेपछि विस्तारै अस्पतालमा कार्यरत विदेशी डाक्टर र स्वास्थ्यकर्मीहरु धर्म परिवर्तनमा केन्द्रित भएको आरोप लाग्यो। सोही विषयलाई जिल्ला स्थीत राजनीतिक दललले मुद्धा बनाए। उनीहरुले टिम नेपालबाट सञ्चालित अस्पताल मानव विकास तथा सामुदायिक सेवालाई हस्तान्तरण गर्न लगाए।

अस्पतालमा १९ बर्ष काम गरेका भट्टका अनुसार सोही सस्थाले पछि उक्त अस्पताल सरकारलाई हस्तान्तरण गरेको थियो। ‘अस्पताल बन्द भएपनि विदेशी डाक्टर भने डडेल्धुरामै बस्न ईच्छुक थिए,’ उनले भने, ‘तर सरकारले भिषा दिनै आनाकानी गरेपछि उनीहरु स्वदेश फर्किएका हुन्।’

डडेल्धुरा सम्झिरहन्छन डाक्टर सिमन

डाक्टर सिमनकी छोरी डौउनलाई मंगलवार भेट्दा डाक्टर सिमनले एक दिन अगाडी मात्रै ९० औँ जन्ददिन मनाएका रहेछन्। जन्मदिनको दिन डडेल्धुरामा रहेकी छोरीलाई डाकटर सिमनले फोन गरेका थिए। ‘जन्मदिनको दिन बुवाले मलाई फोन गरे।

सबैलाई नमस्ते गरे र सम्झना छ भने,’ उनले भनिन्, ‘आमाको पनि स्वास्थ्य कमजोर भएको छ तर डडेल्धुराको सम्झना उहाँलाई पनि आईरहन्छ।’ डौउनले पनि डडेल्धुरालाई माईती घर सम्झिन्छिन र बेला–बेला आईरहिन्छन्। 

 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस