सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित सम्मान

। फोटो स्रोत ।
२०७६ असोज १२, ०६:०८ खबर संवाददाता

ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ। ट्राफिक प्रहरीले आइतबार काठमाण्डौको नयाँ बसपार्कबाट दशैँका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको हो। 

चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित सम्मान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुहरुको सुरक्षित यात्राका लागि चालकहरुलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दशैंको अवसर पारेर शुभकामनासहित चालक सम्मान कार्यक्रम गरिएको स्पष्ट पारे।

चालकहरुको लापर्वाहीका कारण सडक दुर्घटनामा परि धेरैको ज्यान जाने गरेको जनगुनासो बढिरहेका बेला ट्राफिक प्रहरीले चालकहरुलाई सम्मान गरेर सुरक्षित यात्राका लागि थप हौसला प्रदान गर्न कार्यक्रमको शुभारम्भ गरेको हो। 

त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालले यात्रुका लागि सधैँ भगवानको रुपमा रहेका चालकहरुले सुरक्षित ढंगले यात्रुहरुको यात्रा सफल बनाउने विश्वास व्यक्त गरे। उनले कुनै पनि यात्रुले आफ्नो ज्यान गुमाउन नपरोस् भनि शुभकामना पनि व्यक्त गरे। प्रहरी महानिरीक्षक खनालले चालक तथा सहचालकहरुले जिम्मेवारीपूर्वक सवारीसाधन चलाउन पनि सचेत गराए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले नागरिकहरुको सुरक्षित यात्राको सुनिश्चितताका लागि प्रहरी प्रधान कार्यालयको निर्देशनमा दशैँ लक्षित ‘सुरक्षित यात्राको शुभकामना कार्यक्रम’ देशभर सञ्चालन गरिएको बताउँदै यस कार्यक्रमले नागरिकको सुरक्षामा पनि महत्वपूर्ण सहयोग र्पुयाउने विश्वास व्यक्त गरे।

ट्राफिक प्रहरीले दशैंको पहिलो दिन आइतबारबाट सुरु गरेको यो अभियान देशभर तीन दिनसम्म सञ्चालन हुनेछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षित यात्राका लागि चालक तथा सहचालकहरुलाई तनावमा आउने खालको कुनै पनि गतिविधि नगर्न यात्रुहरुलाई पनि आग्रह गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस