सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–भारत सीमाबाट ५२५ प्याकेट सुर्ती बरामद, ६ महिला नियन्त्रणमा

२०८३ असार ३२, ०६:२६ खबर संवाददाता

धनगढी: नेपाल–भारत सीमाबाट प्रहरीले ५२५ प्याकेट ‘सुपर पावर’ ब्रान्डको सुर्ती बरामद गरेको छ। घटनामा संलग्न रहेको आशंकामा ६ महिलालाई नियन्त्रणमा लिइएको छ भने दुई महिला फरार भएका छन्।


गौरीफन्टा प्रहरीले दिएको जानकारीअनुसार बिहान करिब ११ बजे कजरीया मोहना नदी घाट जाने कच्ची सडकमा रहेको कवच आउटपोस्टबाट नियमित चेकजाँचका क्रममा महिलाहरूको समूह शंकास्पद अवस्थामा भेटिएको थियो।

चेकजाँचका क्रममा दुई महिलाले बोरा छाडेर भाग्न सफल भए भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका महिलाहरूमा कैलालीको धनगढी उपमहानगरपालिका–९ गौरीकटानकी धर्म विक (कल्पना), लक्ष्मी विष्ट (जमुना), मेनुका कुमारी सिंह र ईश्वरी ठकुल्ला (जयश्री), धनगढी–८ बंगरा कटानकी बसन्ती (जरना) तथा कञ्चनपुरकी विमला रहेका छन्।

नियन्त्रणमा लिइएका महिला र फरार भएका महिलाले बोकेको बोराबाट ‘सुपर पावर’ ब्रान्डका ५२५ प्याकेट सुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सुर्तीको भारतीय बजार मूल्य ४७ हजार २५० रुपैयाँ रहेको उल्लेख गरिएको छ।

सुर्ती ढुवानीका लागि आवश्यक कागजात माग गर्दा महिलाहरूले प्रस्तुत गर्न नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रियाका लागि गौरीफन्टा कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र फरार महिलाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस