सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग अस्पतालले ३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्‍यो

२०८३ असार ३२, ०४:५९ नारायण अवस्थी

धनगढी: धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले करिब दुई वर्षदेखि उपचाररत रहेकी बन्दना लिम्बुलाई स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि घर फर्काएको छ। अस्पतालले बिहीबार पत्रकार सम्मेलन गर्दै उपचार अवधिमा बाँकी रहेको ३१ लाख ७० हजार रुपैयाँ उपचार खर्च पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ।

अस्पतालका अनुसार २०८१ साल साउन ३१ गते डडेल्धुरास्थित घर नजिकै साइकल सिक्ने क्रममा लडेर बन्दना गम्भीर घाइते भएकी थिइन्। प्रारम्भिक उपचारपछि उनलाई थप विशेषज्ञ उपचारका लागि निसर्ग अस्पतालमा रिफर गरी भर्ना गरिएको थियो।

अस्पतालका न्युरो सर्जन विषेशज्ञ डाक्टर सन्देश दाहालका अनुसार अस्पताल भर्ना भएको भोलिपल्ट नै वन्दनाको पहिलो शल्यक्रिया गरिएको थियो। त्यसयता बिरामीको स्वास्थ्य अवस्थाअनुसार हालसम्म दुईवटा मेजर तथा सातवटा माइनर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको उनले बताए। उपचारका क्रममा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी, सघन नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनःस्थापना सेवा निरन्तर प्रदान गरिएको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए।

उनले १ वर्ष ११ महिना १ दिन अस्पतालमा उपचारपछि बन्दनाको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएकाले डिस्चार्ज गरिएको बताए। अस्पतालका अध्यक्ष पन्तले उपचारको निरन्तरता, प्रभावकारी चिकित्सकीय व्यवस्थापन र पुनःस्थापना सेवाका कारण यो सफलता हासिल भएको जानकारी दिए।

"लामो उपचारका कारण परिवारमाथि परेको आर्थिक भारलाई मध्यनजर गर्दै अस्पतालले बाँकी रहेको ३१ लाख ७० हजार रुपैयाँ उपचार शुल्क पूर्ण रूपमा मिनाहा गरेका छौँ। अस्पतालले यसलाई स्वास्थ्य सेवाप्रतिको मानवीय दायित्व, सामाजिक उत्तरदायित्व तथा सेवामूलक प्रतिबद्धताको रुपमा लिएको छ," अध्यक्ष पन्तले भने।

यस्तै, घर फर्किएपछि दैनिक जीवनयापन र आवतजावत सहज होस् भन्ने उद्देश्यले अस्पतालले बन्दनालाई एक थान आरामदायी ह्विलचेयरसमेत सहयोगस्वरूप हस्तान्तरण गरेको छ।
निसर्ग अस्पतालले उपचार प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगदाता, शुभेच्छुक, सञ्चारकर्मी तथा बिरामीका परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, विशेषज्ञ तथा मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

यस्तै, वन्दनाको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले साइकल यात्री भरतविक्रम शाहले सामाजिक सञ्जालबाट संकलन गरि वन्दनाको उपचारमा करिब ५ लाख रुपैयाँ सहयोग जुटाएको अस्पतालले जनाएको छ।
वन्दनाकी आमा र बुवाले अस्पतालले गरेको उपचार र सहयोगप्रति कृतज्ञता प्रकट गरेका छन्। उनीहरूले अस्पतालबाट उत्कृष्ट उपचार सेवा प्राप्त गरेको बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस