सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय शिक्षा नीति चाँडै पारित गरिने

२०७६ भदौ २०, ०२:१८ खबर संवाददाता

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा मन्त्रिपरिषद्ले चाँडै राष्ट्रिय शिक्षा नीति पारित गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त नीतिको मस्यौदामाथिको छलफल अन्तिम चरणमा पुगेकाले चाँडै पारित हुने जानकारी दिए। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज यहाँ आयोजना गरेको सार्वजनिक शिक्षाका लागि छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले नीति आएपछि संघीय शिक्षा ऐन निर्माणको प्रक्रियाले मूर्तरुप पाउने बताए।

आयोगले गत माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो। संविधानतः शिक्षाको नैसर्गिक अधिकार कार्यान्वयनका लागि सार्वजनिक शिक्षाको सवलीकरणलाई मुख्य प्राथमिकता दिएर सरकारले नीति र कार्यक्रम तर्जुमा गर्ने बताए।

सार्वजनिक शिक्षाको गुणस्तरका लागि सबैको पहल हुन आवश्यक रहेको बताउँदै उनले भने, भएको बजेटको सही सदुपयोग हुनुपर्छ। शिक्षकले बदलिँदो परिस्थितिमा आफूलाई ढाल्नुपर्छ।’ नेपाली कांग्रेसका नेता गगन थापाले सरकार र प्रमुख पार्टीका शीर्ष नेताले शिक्षालाई प्राथमिकता दिएर सार्वजनिक शिक्षालाई सवलीकरणमा लाग्नुको विकल्प नभएको बताए। उनले कमजोर सिकाइ उपलब्धि र बढ्दो कक्षा छाड्ने प्रवृत्ति चिन्ताजनक रहेको बताए।

शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षामा देखिएको ‘क्यान्सर’ रोगको उपचार गर्न ढिलो भइसकेको उल्लेख गरे। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले शिक्षामा दलीय राजनीति अन्त्य गरी गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने बताए।

मानवअधिकारकर्मी गौरी प्रधानले कक्षा छाड्ने प्रवृत्ति चिन्ताजनक भएकाले शिक्षामा कार्यरत नागरिक संस्थाले शैक्षिक रुपान्तरणका लागि सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिए। एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईका अनुसार सम्मेलनमा शिक्षामा सुशासन र लगानीका विषयमा विज्ञले प्रस्तुत गर्ने कार्यपत्रमा छलफल हुनेछ।

दुई दिनसम्म चल्ने सम्मेलनले सार्वजनिक शिक्षाको रुपान्तरणका लागि काठमाडौँ घोषणापत्र जारी गर्नाका साथै एनसिइ नेपालको नयाँ कार्यसमिति चयनसमेत गर्नेछ।
 

कमेन्ट लोड गर्नुस