सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यावसायिक भैँसीपालनबाट मनग्य आम्दानी

। फोटो स्रोत ।
२०७६ भदौ १०, ०४:३६ खबर संवाददाता

लमजुङको सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीका ध्रुवबहादुर केसीले २२ वर्ष ८ महिना सशस्त्र प्रहरी बलमा रहेर मातृभूमिको सेवामा खटिए। उनी सशस्त्र प्रहरीका पूर्व सइ हुन्। २०७४ सालमा सरकारी जागिरबाट अवकाश लिएपछि घर फसर्किएका उनले ‘श्रम पसिना देशकै माटोमा बगाउनुपर्छ, देशमै उद्यम गर्नुपर्छ’ भन्ने भावना लिएर  भैँसीपालन सुरु गरे। उनले २०७४ सालमै ‘केसी भैँसी फर्म’दर्ता गरी सुधारिएको भैँसी गोठ निर्माण गरेर सुरुमा ३ वटा दुहुना भैँसीबाट उनले भैँसीपालन व्यवसाय सुरु गरेको हो। 

‘३ वटा माउ भैँसीबाट भैँसीपालन सुरु गरेको हुँ,’ उनले भने, ‘भैँसी खरिद, सुधारिएको भैँसीगोठ निर्माण र ३ कोठे आवास निर्माणमा गरी १७ लाख खर्च भयो।’ १७ लाखको लगानीमा सुरु भएको भैँसीपालन व्यवसायमा अहिले उनले लगानी बढाएको छ। उनले खत्रीठाँटीमा सडक नजिकैको १२ रोपनी जग्गा वार्षिक ४० हजार रुपैयाँ भाडामा लिएका छन्। भैँसीपालनका लागि उनले २ रोपनी जग्गामा स्टाइलो, सिओफोर, नेपियर जातका घाँस रोपेका छन्। अहिले उनको फर्ममा४ वटा लैनु, २ वटा ब्याउने भैँसीका साथै २ वटा राँगाका साथै साना पाडापाडी पनि रहेका छन्।

उनले ‘मुर्राक्रस’ जातका भैँसी पालेका छन्। हाल फर्मबाट दैनिक १५ देखि ३० लिटरसम्म दूध बिक्री भइरहेको छ। फर्मबाट उत्पादित भैँसीको दूध खत्रीठाँटी, ठाँटीचौर, सुन्दरबजार लगायतका स्थानीय बजारमै राम्रो मूल्यमा बिक्री हुँदै आएको छ। उत्पादित दूध प्रतिमाना ६० रुपैयाँ र प्रतिलिटर १ सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ। भैँसीपालनमा सम्भावना देखेर नै जागिरबाट अवकाश लिएपछि गाउँमै यो व्यवसाय सञ्चालन गरेको उनी बताउँछन्।

‘दुःख छ। घामपानी भन्न पाइँदैन। ज्यादा मेहनत गर्नुपर्छ तर मेहनत गरेअनुसारको कमाइ पनि छ उनले भने।’  भैँसीपालन व्यवसायबाट मासिक झण्डै ८५ हजार रुपैयाँसम्म आम्दानी हुने बताए। उनले भने,  ‘मासिक खर्च भने २५ हजार रुपैयाँजति हुन्छ।’ 

उनले भैँसीको दूध, दही र घ्यूका साथै लैनो, बकेर्नो भैँसीको किनबेच पनि गर्दै आएका छन्। लैनो भैँसी ८० हजारदेखी १ लाखसम्ममा बिक्री हुने उनी बताउँछन्। उनको फर्ममा २ वटा राँगा छन्। तीमध्ये एउटा राँगो उनको फर्मलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङले पुरै अनुदानमा उपलब्ध गराएको हो। 

परेवाडाँडा, हाँडेटार, खहरे, किरिञ्चे, खत्रीठाँटी, सुन्दरबजार लगायतका ठाउँबाट भैँसीपालक किसानहरु भैँसी प्रजनन गराउन उहाँकै भैँसी फर्ममा आउँछन्। फर्मले भैँसी प्रजनन गराएको एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ।

उनका अनुसार गोठका साथै भैँसीको सरसफाइ तथा आहारामा ध्यान दिनसके भैँसीलाई रोग लाग्ने जोखिम कम हुन्छ।  भैँसीको दूधको माग र बजार भाउ निकै राम्रो रहेकाले भैँसीपालनलाई थप विस्तार गर्ने उनको लक्ष्य छ। फर्म विस्तार गरेर २० वटासम्म दुहुना भैँसी पाल्ने आफ्नो भावी योजना रहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस