हुनैनाथ देवता र औल्लेकीहरूकाे संक्षिप्त वंशावली
मान सिंह धामी, दार्चुलाः दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाअन्तर्गत वार्ड नम्बर -४ औल्लेक (औतालेक) गाउँकाे माथि सिरानमा हुनैनाथ मन्दिर रहेकाे छ । हुनैनाथ छिप्लकेदार (पिता) र भागाश्री (माता) का पुत्र तथा बैजनाथका भान्जा हुन । हुनैनाथलाई स्थानीय भाषामा विभिन्न ठाउँमा हुन्शिखर, हुष्कर आदि नामले पनि पुकारिन्छ । दार्चुलाकाे लेकम क्षेत्रमा न्यायका देवताका नामले पूजित हुनैनाथ मन्दिरलाई वरदानी ढाेका पनि भन्ने गरिन्छ । हुन्शिखरकाे जप ध्यान गर्नाले मनले चिताएकाे पुराहुने जनविश्वास रहिआएकाे छ ।
आराध्यदेव हुनैनाथ प्रतिकाे आस्था, विश्वास, महिमा, भराेसा आदिकाे बारेमा चर्चा गर्दा हुनैनाथकाे उत्पत्ति सम्बन्धमा पनि केही कुरा श्रुति, आख्यान र किंवदन्तीका आधारमा उलेख गर्नु बाञ्छनीय देखिन्छ । वेद, पुराण, उपनिषद, धर्मग्रन्थ, लाेकश्रूति, झाेडाे, फाग, भक्तिगाथामा वर्णित ईश्वरीय शक्तिबाट प्रकट भएका ब्रह्मा, विष्णु, शिव लगायतका सृष्टि कालमै अजन्मा, अविनाशी, अलाैकिक शक्तिपुञ्ज मध्येका श्रीकेदार, ध्वजकेदार, राैलकेदार, ग्वाल्लेककेदार र छिप्लकेदार गरी पाँच महादेवले केदारकाे दर्जा प्राप्त गरेकाे कुरा विभिन्न वेद, पुराण तथा अन्य धार्मिक ग्रन्थहरुबाट स्पष्ट हुन्छ । त्यसै गरी सृष्टि कालमै ईश्वरीय शक्तिबाट प्रकट भएका ५६ काेटी भगवती मध्येका हिम पुत्रीहरू भागाश्री, शाेभाश्री, शैल्यश्री, पूर्णाश्री र शुर्माश्रीलाई पञ्चश्री भगवतीकाे रुपमा वर्णन गरेकाे पाइन्छ ।
यिनै पञ्चकेदार मध्येका छिप्लकेदार (छिपलाे) र पञ्चश्री मध्येका जेष्ठ हिम पुत्री भागाश्रीकाे जेष्ठ सुपुत्र हुनैनाथ (हुष्कर, हुन्शिखर) बैजनाथका भान्जा हुन भनी हुनैनाथकाे भक्तिगाथामा समेत उल्लेख गरिएकाे छ।
इष्टदेव हुनैनाथकाे बारेमा लेख्दै गर्दा मैले सुनेकाे र तत् सम्बन्धी केही कुराहरु अध्ययन गरेकाे आधारमा आफ्नाे मनले कुनै पनि कुरा बढाई चढाई नगरिकन हुनैनाथकाे चमत्कारिक अवतार सन्दर्भलाई यस लेखमा समेट्ने प्रयास गरेकाे छु । आराध्यदेव हुनैनाथ स्वामीकाे हामी माथि सधैं कृपा बनी रहिरहाेस । जय हुनैनाथ ...
श्री हुाैनाथ छिप्लकेदार र भागाश्रीकाे काेखबाट अवतार भएकाे कुरा विभिन्न आख्यान, श्रुति, किंवदन्ती र भक्तिगाथा तथा झाेडाे, फाग, सगुन आदिबाट पुष्टि हुन्छ । दाेभाषे कुरा गर्दा पाठकहरुकाे मनमा खिन्नता प्रकट हुनु त स्वभाविकै हाे आफूलाई पाठककाे रुपमा हेर्दा । यस लेखमा हुनैनाथकाे उत्पत्ति सम्बन्धी केही राेचक प्रसङ्गहरु प्रस्तुत गर्ने प्रयास गरिएकाे छ ।
प्राचीन औल्लेक क्षेत्र भित्रका गाउँहरुमा विभिन्न जात जातिका मानिसहरुकाे बसाेबास थियाे । बिभिन्न जातका मानिसहरु बसाेबास गरेकाे कुरा अहिलेका गाउँहरुकाे नामबाट पनि पुष्टि हुन्छ । प्राचीन कालमा बाेहराहरुले बसाेबास गरेकाे क्षेत्रका ऐतिहासिक स्थानहरुमा बाेराइजर, बाेरेकाफल, बाेरामाणाैं, बाेरेपानी आदि स्थानहरु रहेका छन् ।
ओजीगाड, ओजीखेतमा ओझाकाे बस्ती रहेकाे र जाेशीगाउँमा जाेशीकाे बस्ती, मलबाबमा मल्ल जातका मानिसहरुकाे बसाेबास रहेकाे कुरा पुष्टि हुन्छ । प्राचीन कालमा गाईवस्तु चराउन वनमा ग्वाला जाने गर्दथे भन्ने कुरा त द्वापरयुगमा कृष्णले गाेकुल मथुरामा गाईहरु चराएकाे कुरा महाभारत ग्रन्थबाट पनि पुष्टि हुन्छ ।
औल्लेक गाउँका मानिसहरु पनि दिनहुँ जसाे वनमा गाई भैंसी चराउन जाने गरेकाे तथ्य यहाँकाे स्थानीय भाषामा गाईने भक्तिगाथा झाेडाेबाट पुष्टि हुन्छ । एउटा काली दुहुनाे गाई वनमा चर्न गएपछि सधैं घरमा रित्ताे थुन बनाएर जाने रहेछ र साँझ दूध दुहुँदा थुनबाट दूध नै नआउने रहेछ ।
महिनाैं दिनसम्म पनि यस्तै भएपछि एक दिन हंशराज भट्टका सल भट्टले उक्त काली गाईलाई आफ्नाे निगरानीमा राखेछ र एक दिन लुकेर हेर्दा एउटा शिलामा गाईकाे थुनबाट आफै दूध चुहिरहेकाे देखेछ ।
याे क्रम केही दिन सम्म चलि नै रह्याे । केही दिन पछि गाईकाे थुनबाट दूध चुहिरहेकाे अवस्थामा हंशराज भट्टका छाेरा सल भट्टले देखे पछि के रहेछ त भनी शिलापत्रमामा हँसियाले हान्दा उक्त शिलापत्रबाट रगतकाे धारा बगेछ र तत्कालै त्याे मानिससँगै रहेका बाेहरा थरका मानिसले आफ्नाे शरीरमा लगाएकाे बाेदलाे (बाेरा) ले छाेपेछन् ।
यसरी त्याे दिनदेखि शिलापत्र देवत्वमा परिणत भइ पूजन गर्न थालियाे र हुन्शिखर देवताकाे अवतार भएकाे कुरा हुन्शिखरकाे झाेडाे तथा भक्तिगाथाबाट पुष्टि हुन्छ । साेहि दिन देखि हंश राज भट्टमा हुन्शिखरकाे अवतार देखा परेकाेले उक्त शिलापत्र भित्रकाे लिङ्गकाे पूजन गर्न थालिएकाे कुरा हुन्शिखरकाे झाेडाे तथा भक्तिगाथामा उल्लेख गरिएकाे छ ।
हंश राज भट्ट भारद्वाज गाेत्रीय कत्यूर (भारत) बाट आएर औल्लेकमा बसेका हुन । कत्यूर कुमाऊँकाे बारेमा यस लेखमा उल्लेख गर्नु बाञछनिय देखिन्छ ।
कत्यूरी वंश :
कत्यूरी वंशकाे उत्पत्ति सम्बन्धमा फरक फरक मतहरू रहेका छन् । केहि इतिहासकारहरूका अनुसार कत्यूरी वंशलाई कुणिंद वंशसंग सम्बन्धित मान्दछन् । जसका अभिलेखहरू आसपासकाे क्षेत्रमा पाइएका छन् भनेर इतिहासकारहरूले दाबी गरेकाछन् । राहुल सांकृत्यायनका अनुसार कत्यूरी वंशलाई शक वंशसित सम्बन्धित गरेकाे पनि पाइन्छ ।
जुन ई. पू. पहिलाे शताब्दी भन्दा पहिले भारतमा बसाेबास गर्दथे । सांकृत्यायनले यिनका पुर्वजहरु खस वंशका थिए भनेर उल्लेख गरेकाे पाइन्छ । ई. टी. एटकिंसनले आफ्नाे पुस्तक "हिमालयन गजेटियर" मा कत्यूरी कुमाऊँका मूल बासिन्दा हुन् भनेर उलेख गरेकाे पाइन्छ ।
जसका भग्नावशेष र अभिलेखहरू गोमती नदीकाे किनारमा खण्डहर अवस्थामा नगर करवीरपुरमा रहेका छन् भनेर इतिहासकारहरूले उल्लेख गरेकाछन् । गाेमती नदीकाे बारेमा पनि पाठकहरूलाई जिज्ञासा हुन सक्छ । मेराे जानकारीकाे आधारमा गाेमती नदीकाे उदगम स्थल, बहाव र अन्त्य सम्बन्धी उल्लेख गर्नु सान्दर्भिक हुुन्छ ।
गोमती नदी भारतकाे उत्तराखण्ड राज्यकाे कुमाऊँ मण्डलकाे बागेश्वर ज़िल्ला भएर बग्ने एक नदी हाे । यसकाे उदगमस्थल बैजनाथ नगरकाे पश्चिम-उत्तरमा अवस्थित भटकोट (ठाउँ) हाे । याे नदी दक्षिणपूर्व दिशा भएर बागेश्वर धामकाे सरयू नदीमा मिसिन्छ । जुन नदी अगाडि बगेर बैतडी जिल्लाकाे पंचेश्वरमा महाकाली नदी (शारदा नदी) मा आएर विलिन हुन्छ ।
इतिहासकार बद्री दत्त पाण्डेय लगायतका विभिन्न इतिहासकारहरू भने माथि उल्लिखित भनाई प्रति असहमत देखिएकाछन् । पाण्डेयले "कुमाऊँ का इतिहास" नामक पुस्तकमा कत्यूरीहरू अयोध्याका शालिवाहन शासक घरानाका वंशज हुन भनेर उल्लेख गरेका छन् ।
उनले खस वंशलाई कत्यूरका मूल वासिन्दा हुन भनी उल्लेख गरेका छन् । यिनीहरू वेदकाे रचना हुनु पुर्व याे क्षेत्रमा आएर बसेका थिए । पछि कत्यूरीहरूले यिनलाई पराजित गरि आफ्नाे राज्य बिस्तार गरेका थिए ।
मैले इतिहास खाेतल्दै जाँदा अभय राज पाण्डे, भिमराज भट्ट, नीमनाथ योगी, सुरदास आउजी र धाराधिरा भारतकाे कत्यूरबाट तत्कालीन समयमा हिन्दु मुस्लिमकाे दङ्गा हुँदा भागेर नेपाल आई हालकाे लेकम थाउँपालिकाकाे जाइझुल रिठा भन्ने ठाउँमा बसाेबास गरेकाे भन्ने कुरा पाए । याे कुरा एकदम सत्य पनि हाे ।
तर तत्कालीन समयमा यसरी कत्यूरबाट एक्लै भागेर नेपाल आउन सम्भव थिएन । माथि उल्लेखित व्यक्तिहरूकाे जत्थासँगै हंश राज भट्ट पनि आएका र औल्लेक क्षेत्रमा गएर बसाेबास गरेकाे हुन सक्छ ।
मैले हुन्शिखर देवताकाे बारेमा उल्लेख गर्दैगर्दा औल्लेकमा बसाेबासगर्ने औल्लेकी धामीहरूकाे बाेमा छाेटाे चिनारी उल्लेख नगर्दा याे लेख नै अधुराे हुने सम्झेर थाेरै परिचय गराउने ध्येयका साथ किंवदन्ती, जनश्रुति तथा इतिहासका जानकारहरूकाे भनाईलाई आधार मानेर औल्लेकी धामीहरूकाे नालीवेली उल्लेख गर्ने प्रयास गरेकाे छु ।
औल्लेकी धामीहरूकाे पुर्खा कत्यूर (कुमाऊँ गडवाल) बाट यस औल्लेक क्षेत्रमा आएर बसाेबास गरेकाे कुरा इतिहासका जानकारहरू र गाउँका समाजसेवी, बृद्ध नागरिक, जनश्रुतिबाट हंश राज भट्ट औल्लेक (औतालेक) मा आएर बसाेबास गरेकाे भन्ने कुरा स्पष्ट हुन्छ । औल्लेकी धामीहरूकाे पुर्वज हंश राज भट्ट हुन ।
हंश राज भट्टकाे औल्लेकमा आगमन पश्चात् हालकाे मालिकार्जुन गाउँपालिका अन्तर्गत वार्ड नम्बर -६ उकु, सलेती र लेकम गाउँपालिकाकाे कुणी, गराडी, सर्माेली लगायतका क्षेत्रमा हिन्दु धर्मकाे संस्कार अनुसार वृत्ती (कर्मकाण्ड) गर्ने कार्यमा संलग्न थिए भनेर औल्लेकीहरूकाे वंशावलीसंग सराेकार राख्ने जानकारहरू र गाउँका बुढापाकाहरू बताउँछन् ।
तथापि हंशराज भट्ट उक्याल पालहरूकाे पुराेहित ब्राह्मण थिए भनेर समाजमा चर्चा परिचर्चा हुने गर्दछ । हुन्शिखर औल्लेकीहरूकाे इष्टकूल देवता भएकाेले रैथान (बसाेबास) औल्लेक र ओगाई खानु ( कर्म गरेर खाने) कुणी, गराडी भन्ने कुरा हुन्शिखरकाे भक्तिगाथा र जनश्रुतिबाट पनि हुन्शिखर देवताकाे हेरालाे (रेखदेख गर्ने) हंश राज भट्ट माथि उल्लिखित क्षेत्रहरूमा गई पूजापाठ तथा वृत्ति कर्म गर्ने गर्दथे भन्ने कुरा प्रष्ट हुन्छ ।
तथापि हंश राज भट्ट वेदका ज्ञाता भने थिएनन् भनेर गाउँका जानकारहरू बताउँछन । याे लेख पढ्ने पाठकहरूलाई हंश राज भट्ट कसरी भाट र त्यसपछि धामी भएछन् त भन्ने जिज्ञासामा एउटा राेचक प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।
औल्लेक गाउँ भटमासकाे लागि निकै उर्बर भूमि थियाे । अहिले पनि याे क्षेत्रमा विभिन्न प्रजातिका भटमास (कालाे, धाैलाे, करडाे रङ्ग) हरूकाे उत्पादन हुने गर्दछ । त्यति बेला स्थानीय भाषामा भटमासलाई भट्ट भन्ने गर्दथे । अहिले पनि भट्ट नै भन्ने गर्दछन् ।
हंश राज भट्टकाे औल्लेकमा आगमन पश्चात् त्यहाँ बसाेबास गर्ने अन्य जातिहरू मल्ल, जाेशी, बाेहरा आदि जातिका मान्छेहरुले कालाे, धाैलाे, करडे उपनाम लगाएर भट्ट सम्बाेधन गर्दा आफू अपहेलित भएकाे महसुस गरी हंश राज भट्टले म भट्ट हाेइन भाट हुँ भने पछि भट्ट थरकाे अपभ्रंश भएर हंश राज भाट भएकाे र दैवीय अवतार पश्चात् काम्ने मान्छेलाई धामी भन्ने हुँदा हंश धामी भएकाे हाे भनेर गाउँका बुढापाका जानकारहरू बताउँछन् ।
किंवदन्ती तथा जनश्रुति अनुसार हंश राज भ्ट्ट भाट (क्षेत्री) हुनुकाे अर्काे पनि राेचक प्रसङ्ग पनि रहेकाे छ । औल्लेक क्षेत्रमा विभिन्न प्रजातिका भट्ट (भटमास) उत्पादन हुने गरेकाे कुरा माथि उल्लेख गरिएकाे छ । हंश राज भट्ट सन्या (गायत्री मन्त्र) जप र बिहान पुजापाठ नगरिकनै भटमासकाे सातु (भट्ट भुटेर ओखलमा गुड, खुदाे मिसाएर कुटेकाे) कलेउ (नास्ता) खाएकाे हुनाले गाउँका भद्र भलादमीहरूले हंश राज भट्टलाई भाटकाे संज्ञा दिएकाे हुनाले हंश राज भाट भएकाे भन्ने अर्काे थरिकाे तर्क तथा बुझाई रहेकाे छ ।
अहिले पनि आधा दिनकाे हंश भाट, आधा दिनकाे हंश धामी भन्ने गर्दछन् । हंश राज भट्टका सन्तान औल्लेकीहरू भारद्वाज गाेत्री हुन । करीब १२ औं शताब्दीको मध्यतिर कत्यूर (कुमाऊँ गडवाल) मा हिन्दु मुश्लिमकाे लडाई पश्चात् धर्म संस्कृतिकाे बचाऊ गर्न र ज्यान जाेगाउन भागेर औल्लेकमा आएर बसाेबास गरि आफ्नाे वंश विस्तार गरेकाे कुरा इतिहासबाट पनि पुष्टि हुन्छ ।
हंश राज भट्टबाट भाट हुँदै दैवीय अवतार पश्चात् धामी औल्लेकीहरू हाल औल्लेक बाहेकका अन्यत्र क्षेत्र र ठाउँहरू (उकु सलेती, कञ्चनपुर, कैलाली, काठमाण्डाै आदि) मा समेत छरिएर रहेका छन् । औल्लेकी धामीहरू संस्कारी, पुर्खाहरूकाे बिंडाे, वचनलाई पालनगर्ने, धार्मिक अध्यात्मिक प्रवृत्ति र सरल स्वभावका छन् ।
आफू स्वयम् औल्लेकी भएकाेले औल्लेकीहरूकाे बखानगर्नु त मेराे मुर्खता नै हाे, किनकि नजाति छु नराम्राे छु कुन बन्छ र ? औल्लेकीहरूकाे विशेषता तथा राम्रा नराम्रा पक्षहरू केलाउने जिम्मा पाठकहरूलाई नै सुम्पन चाहन्छु ।
हुनैनाथ मन्दिर औल्लेक गाउँकाे सिरानमा एक सुन्दर रमणिय स्थानमा रहेकाे छ । मन्दिरकाे उत्तर पूर्वमा सल्ला, बाज, लालीगुराँश आदि वनस्पतिहरु, दक्षिणमा भिरालाे पातलाे जंगल र पश्चिममा रानीपातल रहेकाे छ । रानीपातलमा विभिन्न प्रजातिका बनस्पति विरुवाहरु (सल्लाे, लालीगुराँस, उतिस, काफल, बाज, सिर्पा, ऐंसेलु, किरमडा) आदिकाे घना जंगल रहेकाे छ ।
उक्त रानीपातल अझै संरक्षणकाे पर्खाईमा रहेकाे छ । मन्दिर परिसरकाे चारैतिर विभिन्न आकार प्रकारका घण्ट, त्रिशूल, मूर्तिहरुले सु-सज्जित रहेकाे छ । मन्दिरकाे दक्षिण-पश्मिमतिर केहि खुडकिलाहरु पारगरेर मन्दिर परिसरकै तल हिङलाे (पिङ) गाडिएकाे छ ।
मन्दिरकाे मुख्य आकर्षण रहेकाे हिङलाेकाे संरक्षण गरिनु जरुरी छ । मन्दिरकाे दक्षिण-पश्चिम केहि तल औल्लेक गाउँकाे माथि हंशराज भट्टकाे कुमाउँ कत्यूर आगमन स्थल पारसिला गाउँ रहेकाे छ । हंशराज भट्ट भारद्वाज ऋषिका सन्तान हुन् । कालान्तरमा भट्ट थर अपभ्रंश भएर भाट र हुनशिकरकाे दैवीय अवतार पश्चात् धामी भनिने गरेकाे गाउँका बुढापाका तथा इतिहासका जानकारहरू बताउछन् ।औल्लेकी धामीहरु भारद्वाज गाेत्रका हुन । पारसिलामा भणारी घर (हुनैनाथ देवताकाे सरसामान राख्ने भण्डार घर) रहेकाे छ ।
विभिन्न धार्मिक चाडपर्वहरुमा पारसिलाबाट नै दमाहा, झ्याली, मिजरा, वेकुल (विगुल) भाेकरकाे बाजागाजा सहित भणारी घरकाे परिक्रमा गरि आवश्यक सामग्री लगेर हुनैनाथ मन्दिरमा जाने गरिन्छ । यस लेखमा भण्डार घरलाई भणारी घर र भण्डार गर्ने जिम्मेवारी पाएकाे व्यक्तिलाई भणरे पदले सम्बाेधन गरिएकाे छ ।
विभिन्न चाडपर्वहरुमा मन्दिरकाे मूल पुजारी (पाण्डा), भणरे, पतरे, भाेकरिया (भाेकर बजाउने) हरु मुख्य कारिन्दा (देवताकाे कामगर्ने) हुन्छन् । विभिन्न ठाउँहरुबाट पाेखल (चामल, घिउ, बत्ती, धूप, फूल, भेटी) ल्याएर श्रद्धालु भक्तजनहरु मन्दिरमा गाेंरा, खेडी, जात हेर्न र पूजापाठ गर्न आउने गर्दछन् ।
टाढा टाढाबाट आएका भक्तजनहरुकाे लागि नि:शुल्क भाेजनकाे व्यवस्था पनि गरिएकाे हुन्छ । चाडपर्वकाे बेलामा मन्दिर परिसरमा मेला लाग्ने गर्दछ । हुनैनाथकाे जप ध्यान गरी दर्शन गर्नाले सत्रु क्षय हुने, निराेगी हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने, मनाेकाँक्षा पूरा हुने जनविश्वास रहेकाे छ । स-भक्तिभाव दर्शन तथा पूजापाठ गरेमा मनाेकाँक्षा पूरा हुने कुरामा म पनि विश्वस्त छु । जय हुनैनाथ स्वामी ! हुनैनाथ स्वामीले हामी सबैकाे कल्याण गरून् ।
समलघाँट प्रसङ्ग :
यस लेखमा आराध्यदेव श्री हुनैनाथ स्वामीबाट भए गरेका केही चमत्कारीक महिमाहरू पनि उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । हुन्शिखरकाे चमत्कारीक महिमाहरू मध्ये याे लेखमा समलघाँट प्रसङ्गलाई जाेड्न गइरहेकाे छु ।
प्राचीन कालमा औल्लेकमा हुन्शिखरकाे अवतार भई मूल मन्दिर समेत निर्माण भै यहाँका जनमानसमा हुन्शिखर प्रतिकाे श्रद्धा, भक्ति र विश्वासले गर्दा भक्तजनबाट देव पुजन गर्ने र मनाेवाञ्छित फल प्राप्तहुने जनविश्वास रहेकाे थियाे र अहिले पनि साे विश्वास कायमै रहेकाे छ ।
प्राचीन कालमा औल्लेकी धामीहरू र अन्य छिमेकीहरू हाम्राे मित्र राष्ट्र भारतकाे अल्माेडा बजार गई घरकाे लागि चाहिने अत्यावश्यकीय सरसामानहरू (लत्ता कपडा, नुन, भाँडाकुँडा आदि) ल्याउने गर्दथे र आफूसँग भएकाे भटमास, घिउ, गुड लगायतका सामानहरूकाे बिक्री पनि गर्दथे । त्यस बेला अल्माेडालाई समल देश पनि भनिन्थ्याे ।
औल्लेकीहरूले आवश्यकीय सामनहरूकाे किनवेच गरेर घर फर्कने बेलामा आफ्नाे इष्टदेव हुन्शिखर देवतालाई उपहार स्वरुप घण्ट चढाउने भक्तिभाव जागेछ । घण्ट खरिद गर्न विभिन्न पसलहरू चहारेर बल्लतल्ल एउटा पसलमा हुन्शिखर देवतालाई चढाउन सुहाउनेखालकाे एउटा घण्ट फेला पारेछन् । पसलेसँग घण्टकाे माेलमाेलाई भएपछि उक्त घण्टकाे लागि आवश्यक रकम नपुग भएछ ।
औल्लेकीहरूले याे घण्ट हाम्राे देवतालाई सुहाउने खालकाे छ, सकिन्छ भने नपुग रकम हामी दाेस्राे पटक आउँदा चुक्ता गराैंला, घण्ट दिनुहाेस । सकिदैन भने अर्काे पटक आउँदा लगाैंला यसलाई अरुलाई नबेच्नु हाेला भनेर पसलेलाई अनुराेध गर्दा पसलेले रिसाएर देवताकाे धाक फुर्ति किन लगाउनु हुन्छ ? तपाईकाे देवताकाे लागि सुहाउने घण्ट हाे भने या त घण्टकाे पुरै पैंसा चुक्ता गर ।
हैन भने तपाईकाे देवतालाई साँच्चिकै सुहाउने र तपाईकाे देवता साँच्चिकै शक्तिशाली छ भने देव शक्तिले आफै लगाेस । अन्यथा कुनै उपाय छैन, उधाराे दिन सकिँदैन भनेछन् । पसलेले यति कुरा भन्दै गर्दा साँच्चिकै उक्त घण्ट जमिनबाट उठेर घन्घनी बज्दै आकास मार्ग हुँदै उडेर पूव दिशातिर लागेछ । यस्ताे अचम्मित चामत्कारिक दृश्य देखेर सबै जना छक्क परेछन् । सबैले हुनैनाथकाे स्तुति वन्दना गरेछन् ।
हुनैनाथकाे स्तुति !!!
पवित्र नाथ । प्रभु हुनैनाथ ।।
रानीवन छ मुन्तिर माथि मन्दिर ।।
काखमा छन् नरनारी हरे, मन्दिर छ टाकुरीमा ।
पथमा लाउँछाै भक्तलाई, समाई पाखुरीमा ।।
फुट्लिङ्ग हुन थापना हाेइन, मन्दिर हुनैनाथमा ।
पूर्णिमाकाे जून जस्तै मुकुट छ माथमा ।।
महिमा तिम्राे अपरम्पार, काेटी काेटी नमस्कार ।
हाम्राे इज्जत राखीदियाै, शक्ति भाे साकार ।।
तत्पश्चात उक्त घण्ट आकास मार्ग हुँदै बज्दै केही समय पछि औल्लेक गाउँकाे पारसिलामा अवतरण भएछ । उक्त चमत्कारी घाँट औल्लेकीहरूले देखेपछि सबै जना भेलाभइ उक्त घाँटकाे दर्शन गरि विभिन्न शंका उपशंका अडकलबाजी गर्न थालेछन् ।
केही दिन पछि समल देशबाट सामान किनेर औल्लेकी घर फर्केर सबै बृत्तान्त बताए पछि सबै नरनारीहरू नतमस्तक भइ आराध्यदेव हुनैनाथकाे जय जय कारगर्दै उनकाे महिमाकाे प्रशंसा गर्न थाले । समलदेशबाट उडेर बज्दै आएकाे उक्त घाँटलाई हाल सम्म पनि समलघाँट भनेर पुकारिन्छ ।
याे चमत्कारी अद्भूत शक्ति भएकाे घाँट (घण्ट) मन्दिरकाे गव्यूरभित्र सुरक्षित रहेकाे छ । चमत्कारी शक्ति भएकै कारण सबैकाे लागि दर्शन गर्न खुला नराखिए पनि चाेखाे भाेकाे भइ उपवास बसेर शुद्ध तनमनले भेटी चढाएर दर्शन गर्न सकिने प्रचलन रहि आएकाे छ ।
याे लेख तयार पार्ने क्रममा मैले धेरै खाेज अनुसन्धान र अध्ययन गरे भन्दा त पाठकलाई बढप्पन गरेकाे अनुभूति हुन सक्छ । तर सकेसम्म विभिन्न पुस्तकहरू, गुगल, यु ट्युव, इतिहासका जानकारहरू आदिसँग सम्पर्क गरेर याे लेख तयार गरेकाे व्यहाेरा अनुराेध गर्न चान्छु । पाठकज्यूहरूलाई थप जनाकारी भएमा उपलब्ध गराई सहयाेग गरीदिन हुन विनम्र अनुराेध गर्न चाहन्छु ।
स्राेत : धामी, राजेन्द्र र दामाेदर (२०७८), आराध्यदेव हुनैनाथकाे महिमा तथा औल्लेकी धामीहरुकाे वंशावली । गाेकुलेश्वर दार्चुला ।
पाण्डेय, बद्रीदत्त (२०१९), कुमाऊँ का इतिहास । भारत
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे ईतिहास । महेन्द्रनगर ।
लेखक धामी, कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।