सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि सहकारी संस्थाद्धारा व्यवसायिक तरकारी खेती सुरु

। फोटो स्रोत ।
२०७६ भदौ २, ०१:४५ खबर संवाददाता

लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ६ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले व्यवसायिक तरकारी खेती सुरु गरेको छ। सहकारीले सुन्दरबजार नगरपालिका–६ को ठाँटीचौर खदापानीमा झण्डै १७ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु गरेको हो।

सहकारीका प्रबन्धक दिनेशबाबु कोइरालाका अनुसार सहकारीले विसं २०७५ साल चैतबाट तरकारी खेती सुरु गरेको हो। ‘वार्षिक ४० हजार रुपैयाँ भाडा तिर्ने गरी स्थानीय चार जनाको जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरिएको हो,’ प्रबन्धक कोइरालाले भने।

हाल चार ओटा प्लास्टिक टनेलमा गोलभेँडा उत्पादन भैरहेको छ। एउटा प्लास्टिक टनेलमा काँक्रो र अर्को टनेलमा ‘क्याप्सिकम’ उत्पादन भैरहेको छ। खुर्सानी खेती पनि गरिएको छ। २० मिटर लम्बाइ र ६ मिटर चौडाइको २ ओटा ‘ग्रीन हाउस’ पनि बनाइएको छ। ‘ग्रीन हाउस’ मा गोलभेँडा लगाउने तयारी भैरहेको सहकारीले जनाएको छ।

यस वर्ष्विर्षभित्रमा २० ओटा टनेल बनाइ तरकारी खेती विस्तार गर्ने सहकारीको लक्ष्य छ। अर्गानिक तरकारी उत्पानमा जोड दिँदै बाहिरबाट आउने तरकारी रोक्नका लागि तरकारी खेती सुरु गरिएको प्रबन्धक कोइरालाले बताए।
उनले भने, ‘हामीले सुरु गर्दै गरेको कृषि फार्मले अन्य किसानलाई कृषिमा लाग्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएका छौँ’, ‘यसले बाहिरबाट आउने तरकारीलाई केही मात्रामा भए पनि रोक्छ। स्थानीय उत्पादनले बजार पाउँछ र रोजगारीको समेत सिर्जना गर्न सक्छ।’

संरचना निर्माणसहित गरेर कृषि फर्ममा झण्डै १६ लाख रुपैयाँ लगानी भैसकेको उनले बताए। तरकारी खेती गर्न कृषि ज्ञान केन्द्र लमजुङले सिँचाइका लागि ३ लाख रुपैयाँ सहयोग गरेको थियो। विशेषगरी सुरुवातको चरणमा सहकारीले गोलभेँडा उत्पानलाई जोड दिएको छ। बजारमा गोलभेँडाको माग र मूल्य राम्रो भएका कारण गोलभेँडा खेतीलाई उच्च प्राथमिकतामा राखिएको समेत उनले बताए।

सहकारीले गोलभेँडाको बिरुवा तयार गरी बिक्री समेत गरेको छ। कृषि फार्मबाट पहिलो उत्पादन लिने बेला भएको छ। फार्मबाट उत्पादित कृषि उपज स्थानीय सुन्दरबजार, खत्रीठाँटी, सिउँडीबार लगायतका ठाउँमा नै खपत हुनेमा सहकारी ढुक्क छ। 

उत्पादनलाई साना किसान कृषि सहकारी संस्थाको केन्द्रीय संघ काठमाण्डौ र इलाका संघ पोखराले पनि बजारीकरणमा सघाउने उनले बताए। बिस्तारै फार्म विस्तार गरिने र त्यसपछि सबै किसिमका तरकारी उत्पादन गरिने प्रबन्धक कोइरालाले जानकारी दिए। सहकारीले नै कृषि कर्म सुरु गरेमा त्यसको सिको गर्दै सहकारीमा आबद्ध किसानले पनि कृषि कर्ममा पाइला चाल्ने सहकारीले विश्वास लिएको सहकारिकी अध्यक्ष सुकमाया गुरुङले बताए।

कृषि कर्मलाई चुस्त दुरुस्त रुपमा अघि बढाउनका लागि वीरबहादुर थापाको संयोजकत्वमा कृषि फार्म सञ्चालन उपसमिति समेत गठन गरिएको छ। सहकारी सञ्चालक समितिका साथै कृषि फर्म सञ्चालन उप–समितिले फर्मको रेखदेखका साथै गोडमेल लगायतका कार्यमा सघाउँदै आएको छ। 

फार्मबाट तीन जनाले पूर्ण रोजगारी पाएका छन्। कृषि फर्मबाट आंशिकरुपमा केही स्थानीयले समेत रोजगारी पाएका छन्। १५ सय जना साना किसान कृषि सहकारीमा सदस्य छन्। सहकारीले सुन्दरबजार नगरपालिकालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस