सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीको उम्मेदवारी खारेज, यी हुन् ३ आधार

२०८२ माघ ८, ०६:१२ जयन्त सिंह भाट

धनगढीः आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरिएको छ।

कैलाली–१ का निर्वाचन अधिकृत देवराज भारतीले दिनेश खबरलाई जानकारी दिएअनुसार प्रचलित निर्वाचन कानुन र निर्देशिकाअनुसार अयोग्य ठहर भएपछि चौधरीको उम्मेदवारी खारेज गरिएको हो।

रेशम चौधरी २०७२ सालको टिकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका व्यक्ति हुन्। यद्यपि उनले आम माफी पाए पनि अदालतको फैसला बदर नभएको अवस्थामा रहेकाले उम्मेदवारी कायम गर्न नसकिएको निर्वाचन अधिकृत भारतीले बताए।

उनका अनुसार मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) बमोजिम गम्भीर फौजदारी कसुरमा दोषी ठहर भई सजाय पाएको व्यक्ति प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन अयोग्य हुने कानुनी व्यवस्था छ।

यसका साथै २०८० साल फागुन २४ गते निर्वाचन आयोगले चौधरीलाई राजनीतिक दलको सदस्यसमेत हुन अयोग्य ठहर गरेको निर्णयलाई समेत आधार मानी उनको उम्मेदवारी खारेज गरिएको भारतीले बताए। उम्मेदवारी खारेज भएसँगै कैलाली–१ मा राजनीतिक चासो बढेको छ।

उम्मेदवारी खारेजका ३ आधार

१. गम्भीर फौजदारी कसुरमा दोषी ठहर
टिकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएको अदालतको फैसला बदर नभएकाले प्रचलित कानुनअनुसार उम्मेदवार बन्न अयोग्य।

२. मुलुकी फौजदारी अपराध संहिता, २०७४ (दफा १५९(१०))
गम्भीर फौजदारी कसुरमा दोषी ठहर भई सजाय पाएको व्यक्ति प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन नपाउने स्पष्ट कानुनी व्यवस्था।

३. निर्वाचन आयोगको निर्णय (२०८० फागुन २४)
निर्वाचन आयोगले राजनीतिक दलको सदस्यसमेत हुन अयोग्य ठहर गरेको पूर्वनिर्णय कायम रहेकाले उम्मेदवारी मान्य नहुने आधार।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस