सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलाको आर्थिक सहभागिता बिना समृद्धि असम्भव: मनसुरी

२०८२ पुष १६, १२:५१ खबर संवाददाता

धनगढी: महिलालाई आर्थिक गतिविधिमा सहभागी नगराएसम्म देशको आर्थिक सशक्तीकरण सम्भव नहुने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मनसुरीले बताएका छन्। नेपालगञ्जमा सुरु भएको २.५ दिने “व्यवसायको औपचारिकीकरण गर्नुहोस्” पुनर्ताजगी तालिमको उद्घाटन सत्रमा बोल्दै उनले आमा, दिदी–बहिनीको आर्थिक सवलिकरणले मात्रै समाज र देशको समग्र उन्नति सम्भव हुने उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य महासंघको सशक्त महिला समृद्ध नेपाल कार्यक्रमअन्तर्गत आयोजित तालिमको उद्देश्यबारे जानकारी दिँदै महासंघका सहायक निर्देशक तथा केन्द्रीय कार्यक्रम संयोजक हरि पौडेलले महिलालाई व्यवसाय तथा तलबसहितको रोजगारीमा आबद्ध गराउने र व्यवसाय औपचारिकीकरणमा सहयोग गर्ने लक्ष्य रहेको बताए। कार्यक्रम संयुक्त राष्ट्रसंघका आइएलओ, युनिसेफ, युएनएफपिए र युएन वीमेनको सहकार्यमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालन भइरहेको उनले जानकारी दिए।

तालिममा व्यवसाय दर्ता प्रक्रिया, प्यान÷भ्याट आवद्धता, औपचारिकीकरणको महत्व, चुनौती र अवसर, तथा औपचारिक भएपछि पालना गर्नुपर्ने व्यवसायिक दायित्वबारे जानकारी प्रदान गरिनेछ। जनकपुर, वीरगञ्ज, सुर्खेत, दैलेख, डोटी र कैलालीका उद्योग वाणिज्य संघबाट सहजकर्ता तथा प्रदेश संयोजकहरूको सहभागिता रहेको छ।

उद्घाटन सत्र नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले महिलाको नाममा कम व्यवसाय दर्ता हुनुको मुख्य कारण जानकारीको अभाव रहेको उल्लेख गर्दै यस्ता तालिमबाट महिलाले ठूलो फाइदा लिन सक्ने विश्वास व्यक्त गरे।

तालिम प्रशिक्षक अर्जुन भट्टराई र रचना पण्डितले सहजीकरण गरिरहेका छन् भने कार्यक्रमको सञ्चालन मधेश प्रदेशका कार्यक्रम संयोजक डा. वासुदेव कर्णले गरेका थिए।

कमेन्ट लोड गर्नुस